
जनस्वास्थ्य सरोकार,सोलुखुम्बु । सगरमाथाको शिखरमा जाने बाटो निर्माणका लागि आठ जना आइसफल चिकित्सक टोली आधार शिविर पुगेको छ । लामो समयदेखि बाटो निर्माणमा सक्रिय आइसफल चिकित्सक आङसर्की शेर्पाको नेतृत्वमा गएको टोली आधार शिविर पुगेको हो ।
गत फागुन २८ गते उक्त टोली नाम्चेबाट आधार शिविरतर्फ लागेको सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी)का उपाध्यक्ष लामाकाजी शेर्पाले जानकारी दिनुभयो । टोलीले पाङबोचे गुम्बामा पूजा गरेर लामालाई साइत हेराएपछि काम सुरु गर्ने छ । “अहिले टोली आधार शिविरमा बसेको छ”, उहाँले भन्नुभयो, “विगतझैँ यस वर्ष पनि साइतअनुसार काम सुरु हुन्छ ।”
आइसफल चिकित्सकले सगरमाथाको आधार शिविरदेखि दोस्रो शिविरसम्मको बाटो बनाउने काम गर्छन् । भर्याङ राख्नेदेखि डोरी टाँग्नेलगायत काम उनीहरूले गर्नेछन् । आधार शिविरबाट विश्वको सर्वोच्च शिखर सगरमाथा, ल्होत्से र नुप्त्से हिमाल आरोहण गरिन्छ ।
पर्यटक आउने क्रम सुरु
पर्यटकीय याम सुरु भएसँगै सगरमाथा क्षेत्र खुम्बुमा बाह्य पर्यटक आउने क्रम सुरु भएको छ । वसन्त ऋतु सुरु हुन लागेसँगै खुम्बु क्षेत्र भित्रिने बाह्य पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । खुम्बु क्षेत्रमा केही दिनयता दैनिक १०० भन्दा बढी आन्तरिक तथा बाह्य पर्यटकको आवागमन हुने गरेको खुम्बु पासाङल्हामु गाउँपालिकाले जनाएको छ ।
कोरोना महामारीका कारण लामो समय खुम्बु क्षेत्रमा पर्यटकको आगमन हुन सकेको थिएन । अहिले धमाधम पर्यटक आउन थालेको खुम्बु पासाङल्हामु गाउँपालिका–४ छुकुमका पर्यटन व्यवसायी तेन्जिङ जाङ्बु शेर्पाले बताउनुभयो । अहिले लुक्लास्थित लतेन्जिङ हिलारी विमानस्थलमा समेत चहलपहल बढेको नागरिक उड्डयन प्राधिकरण लुक्लाका प्रमुख द्वारीका अछामीले बताउनुभयो । लुक्लामा दैनिक २० वटासम्म हेलिकप्टर र ३५ वटासम्म जहाजले उडान भर्ने गरेका छन् ।
हिउँदमा काठमाडौंबाट लुक्ला खाली आउने र लुक्लाबाट उल्लेख्य सङ्ख्यामा यात्रु लिएर फर्कने जहाज अहिले बिना यात्रु फर्कने गरेका छन् । चिसो मौसममा खुम्बु छाड्ने यात्रुको सङ्ख्या अत्यधिक हुने भए पनि पर्यटक आगमनको याम सुरु भएसँगै भित्रिने यात्रुको चाप बढी र फर्कने यात्रु शून्यजस्तै हुने गरेको विमानस्थल कार्यालयले जनाएको छ । असोजदेखि मङ्सिरसम्म र फागुनदेखि जेठसम्म खुम्बु क्षेत्रमा पर्यटक आउजाउ बढ्छ । रासस
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
