
जनस्वास्थ्य सरोकार, काठमाडौं । कान्ति बाल अस्पतालमा उपचार गराइरहेका क्यान्सर पीडित बालबालिकाका अभिभावकहरुलाई संक्रमणसम्बन्धि अभिभावक तथा स्याहारकर्ताहरुलाई एक दिने सचेतना कार्यक्रमको आयोजना गरिएको छ । अभिभावक तथा स्याहारकर्ताहरुले अस्पतालमा उपचाररत बालबालिकाहरुलाई संक्रमणबाट जोगाउन सरसफाइ, आहार र पोषणमा विशेष ध्यान राख्न आग्रह गरियो ।
क्यान्सर पीडित बालबालिकाहरुलाई सहयोग र क्यान्सरसम्बन्धि जनचेतना अभिवृद्धिमा सक्रिय हुँदै आएको वीस नेपाल फाउन्डेसन र सामाजिक उत्तरदायित्व अन्तर्गत सनराइज बैंकको सहयोगमा सो कार्यक्रम आयोजना गरिएको हो ।

किमोथेरापी गर्दा र किमोथेरापी गरिसकेका बालबालिकाहरुको आहार, पोषण र सरसफाइमा अभिभावकहरुले विशेष ध्यान राख्न विशेषज्ञहरुले आग्रह गर्नुभएको छ ।
कार्यक्रमको टेक्निकल सत्रमा अस्पतालकी बाल क्यान्सर विशेषज्ञ डा. इच्छा ढकालले किमोथेरापी दिएका बालबालिकाहरुलाई ज्वरो, बान्ता, पखाला लाग्न सक्ने भएकाले आहार र पोषणमा ख्याल गर्नुपर्ने बताउनुभयो ।

अस्पतालकी डायटिसियन जुना ढुंगाना र नर्स पूजा ढकालले संक्रमण रोक्न हात धुने तरिका, बिरामी कुरुवाले अपनाउनुपर्ने सावधानी, क्यानुला लगाएपछि ध्यान दिनुपर्ने कुरा र व्यक्तिगत सरसफाइबारे जानकारी गराउनुभयो ।

कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै कान्ति बाल अस्पतालका कार्यकारी निर्देशक डा. युवानिधि वसौलाले मुलुकमा बालबालिकाहरुमा हुने क्यान्सर पहिचान बृद्धि भइरहेकाले वीस नेपाल फाउन्डेसनले गरेको संक्रमण रोकथाम, आहार र पोषण एवं सरसफाइसम्बन्धि सचेतना कार्यक्रम निकै महत्वपूर्ण भएको उल्लेख गर्नुभयो ।
उहाँले यस प्रकारको कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।

अस्पतालकी नर्सिङ प्रमुख रोशनी तुईतुईले क्यान्सर जित्न आत्मविश्वास जगाउनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
अस्पतालका बाल क्यान्सर विशेषज्ञ डा. विष्णुरथ गिरी, डा. सनी सिपालीले उपचारलाई फलदायी बनाउन सम्भावित संक्रमण रोक्ने, खानपान र मनोवल उच्च राख्नुपर्ने उल्लेख गर्नुभयो ।

वीस नेपाल फाउन्डेसनकी अध्यक्ष केशाङ डिकी लामा र प्रबन्ध निर्देशक स्मृति पोख्रेलले यस प्रकारको कार्यक्रमहरुलाई निरन्तरता दिइरहने आश्वासन दिनुभयो ।
सनराइज बैंकका सिएआर प्रमुख सुमन थापाले आफूले सोचेभन्दा बढी उत्कृष्ठ कार्यक्रम भएको भन्दै संस्थाप्रति आभार व्यक्त गर्नुभयो । सो अवसरमा डा. सुधा बस्नेत, डा. कैलाश प्रसाद शाहले वीस नेपाल फाउन्डेसनको अभियानमा हातेमालो गर्ने इच्छा व्यक्त गर्नुभयो ।


कान्ति बाल अस्पतालमा हरेक वर्ष १ सय ७५ देखि २०० को हाराहारीमा नयाँ क्यान्सरका बालबालिकाहरु थपिने गरेका छन् ।
गत वर्ष मात्र क्यान्सर भ एर १८७ जना बालबालिका आएको अस्पतालले जनाएको छ ।

हाल अस्पतालमा नयाँ र पुराना गरी ५ सय बालबालिकाहरुले उपचार गराइरहेका छन् । त्यसमा ब्लड क्यान्सर भएका बालिकाहरुको संख्या ६० देखि ६५ प्रतिशत रहेको छ । साथै आँखाको क्यान्सर, मिर्गौला, बोन क्यान्सर, लिभरलगायतका समस्या लिएर बालबालिकाहरु क्यान्सर उपचारका लागि कान्ति बाल अस्पताल पुग्ने गरेका छन् ।
चाँडै पहिचान गरी उपचारलाई निरन्तरता दिएमा ब्लड क्यान्सर ७० देखि ७५ प्रतिशतसम्म पूर्ण रुपमा निको भएर सामान्य जीवन बिताउन सक्ने चिकित्सकहरुले बताएका छन् ।
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३

