
जनस्वास्थ्य सरोकार, काठमाडौँ । दाङ मध्यपश्चिम क्षेत्रमा पर्ने भएकाले यहाँ काठमाडौंको जस्तो हाइफाई प्रविधि ल्याउन निकै मुस्किल छ । प्रायः सबै चिकित्सकहरु केन्दीकृत हुन खोज्छन् । काठमाडौंमा बसेर काम गर्नु र यहाँ काम गर्नुमा निकै अन्तर छ । यहाँ काम गर्दाको चुनौती भनेको दक्ष जनशक्तिको अभाव नै हो । सरकारले चिकित्सलाई आकर्षक सेवा सुविधा दिएर ग्रामीण भेगमा पठाउनुपर्छ । किनभने अस्पतालमा दक्ष जनशक्तिको अभाव हुँदा बिरामीहरु आखिरमा रिफर गर्नुपर्ने काठमाडौ नै हो । हामी यति टाढा काम गर्न आँउदा घरपरिवार छोडेर बाल–बच्चासँगै लिएर आउनुपर्छ । यहाँ बाल–बच्चा पढाउन राम्रो शैक्षिक संस्थाको पनि अभाव छ । हवाइ सेवा पनि उपलब्ध नभएकाले गर्दा यात्रा गर्न कठिन पर्छ । राज्यले राम्रो सेवा सुविधा दिएर चिकित्सकलाई जुनसुकै ग्रामीण क्षेत्रमा पनि बसेर काम गर्छु भन्ने विश्वास दिलाउन सक्नुपर्ने बताउनुहुन्छ राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ती अस्पताल घोराही दाङकी डाइरेक्टर प्रज्ञा वस्नेत । डा. प्रज्ञासँग जनस्वास्थ्य सरोकारले लिएको अन्तर्वार्ता ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले कस्तो सेवा दिइरहेको छ ? बिरामीको चाप कतिको छ ?
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दक्ष जनशक्तिको अभाव थियो । तर हाल हामीसँग जनशक्ति पनि राम्रै छ । यसअघि अस्पतालमा छाला रोग विशेषज्ञको पनि अभाव थियो । तर अहिले हामीले छाला रोग विशेषज्ञ पनि थपेका छौ । सबै विभागमा दक्ष जनशक्ति पर्याप्त भएकाले अस्पतालले राम्रो सेवा दिइरहेको छ ।
दक्ष जनशक्ति वृद्धिसँगै बिरामीलाई राम्रो सेवा दिएको हुनाले हाल राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिरामीको चाप बढेको छ । दिनमा साढे ४ सयदेखि ५ सयको हाराहारीमा बिरामीहरु उपचारको लागि अस्पताल आउने गरेका छन् ।
विगतको तुुलनामा कोभिड संक्रमण कम भएपछि अस्पतालमा बिरामीको संख्या कस्तो छ ?
कोभिड संक्रमणको जोखिम कम भएसँगै अस्पतालमा बिरामीको संख्या एकदमै बढेको छ । कोभिडका कारण अस्पताल भर्ना हुने बिरामीको संख्या भने घटेको छ । हाल अस्पतालमा कोभिडको बिरामीको भर्ना पनि खासै छ्रैन् । एक–दुई जना मात्र कोभिड आइसियुमा भर्ना हुनुहुन्छ । कोभिड एकदमै घटेका कारण अन्य रोगका बिरामीको संख्या बढेको हो ।
के कस्ता चुनौतीहरु छन् ?
केही सयम अघिसम्म राप्ती स्वास्थ्य प्रतिष्ठानमा डाक्टर, फिजिसियन, सर्जन, छाला रोग विशेषज्ञ लगायतका दक्ष जनशक्तिको अभाव थियो । तर विगतका दुई–तीन महिनामा हामीले सबै विभागमा एक–दुई जना चिकित्सकहरु थप गरेर बिरामीलाई पहिलाको भन्दा राम्रो सेवा दिइरहेका छौँ । तर हामीलाई भवनको अभाव भएकाले काम गर्न निकै कठिन छ । हामी अहिले पनि पुरानै भवनमा काम गरिरहेका छौ । अर्को नयाँ भवन बन्दै छ । तर हामीलाई हस्तान्तरण गरिसकेको छैन । त्यसैले पुरानै भवनमा काम गर्न गाह्रो छ ।
बजेट अभावका कारण अस्पतालमा प्रयोग हुने अन्य थुप्रै उपकरणहरु खरिद गरेर प्रयोगमा ल्याउन पनि सकेका छैनौं । एकदुई महिनामा एमआरआई सेवा दिने तयारी पनि गरिरहेका छौँ । यस्ता चुनौतीका बाबजुद पनि हामीले अस्पतालमा उपलब्ध सेवामा केही कमी कमजोरी नगरी निरन्तर सेवा दिइरहेका छौं ।
अस्पतालको आम्दानीबाट उपकरण खरिद गर्ने अवस्था छ कि छैन ?
अस्पतालको मात्रै आम्दानीले उपकरणहरु खरिद गर्न अलि गाह्रो नै हुन्छ । कर्मचारीहरुलाई तलब पनि त दिनुपर्यो, त्यसैले यस्तोे अवस्थामा अस्पतालको आम्दानीले मात्रै उपकरण खरिद गर्न मुस्किल नै देखिन्छ । यसरी नै अस्पतालले भविष्यमा अझै राम्रो सेवा प्रदान गर्दै गयो भने राम्रो आम्दानी भएको अवस्थामा खरिद गर्न पनि सकिएला । अहिले सुरुवाती चरणमा अस्पतालले नै सबै उपकरण खरिद गर्न नसक्ने भएकाले अहिलेको लागि अनुदान वा बजेटमै निर्भर गर्नुपर्ने हुन्छ ।

बिरामीले के–कस्ता सुविधा पाइरहेका छन् ? कस्ता बिरामीलाई रिफर गरिएको छ ?
अहिले अस्पतालमा प्राइभेट वार्ड पनि निर्माण भएको छ । प्राइभेट वार्डमा बिरामीहरुले काठमाडौको जस्तै सेवा सुविधायुक्त क्याबिनहरुको सेवा पाइरहेका छन् । तिर्न गर्नसक्ने बिरामीले प्राइभेट वार्डको सुविधा लिनसक्छन् । यसबाहेक हाड–जोर्नीेदेखि शल्यक्रिया, बच्चाको आइसियू, एनआइसियु लगायतका सबै सुविधा यहि अस्पतालले दिइरहेको छ । खासै पहिलाको जस्तो रिफर गर्नुपर्ने अवस्था छैन् । तर दिमागको समस्या भएर आएकालाई न्युरो सेन्टरमा अथवा मुटु क्यान्सर लगायतको जटिल रोग लागेका बिरामीको केशमा भने यहि सम्बन्धि उपचार हुने अस्पतालमा रिफर गर्न निकै आवश्यक छ । यस्ता निकै जटिल रोगहरु लागेका बिरामीहरुलाई मात्रै रिफर गरिदै आएको छ । नत्र सकेसम्म यहि अस्पतालमा हामी आफैले उपचार गरिरहेका छौं ।
काठमाडौंको तुलनामा ग्रामीण क्षेत्रको अस्पतालमा काम गर्दा कस्तो अन्तर पाउनुभयो ?
दाङ मध्यपश्चिम क्षेत्रमा पर्ने भएकाले यहाँ काठमाडौंको जस्तो हाइफाई प्रविधि ल्याउन निकै मुस्किल छ । प्रायः सबै चिकित्सकहरु केन्दीकृत हुन खोज्छन् । काठमाडौंमा बसेर काम गर्नु र यहाँ काम गर्नुमा निकै अन्तर छ । यहाँ काम गर्दाको चुनौती भनेको दक्ष जनशक्तिको अभाव नै हो ।
सरकारले चिकित्सलाई आकर्षक सेवा सुविधा दिएर ग्रामीण भेगमा पठाउनुपर्छ । किनभने अस्पतालमा दक्ष जनशक्तिको अभाव हुँदा बिरामीहरु आखिरमा रिफर गर्नुपर्ने काठमाडौ नै हो । हामी यति टाढा काम गर्न आँउदा घरपरिवार छोडेर बाल–बच्चासँगै लिएर आउनुपर्छ । यहाँ बाल–बच्चा पढाउन राम्रो शैक्षिक संस्थाको पनि अभाव छ ।
हवाइ सेवा पनि उपलब्ध नभएकाले गर्दा यात्रा गर्न कठिन पर्छ । राज्यले राम्रो सेवा सुविधा दिएर चिकित्सकलाई जुनसुकै ग्रामीण क्षेत्रमा पनि बसेर काम गर्छु भन्ने विश्वास दिलाउन सक्नुपर्छ ।
ग्रामीण ठाँउमा काम गर्दा त्यही अनुसारको सेवा सुविधा पाउनुभएको छ त ?
चिकित्सकले काम मात्रै गर्ने होइन उहाँहरु पनि सबै सेवा सुविधा चाहिन्छ । पहिलो कुरा त दाङमा यात्रा गर्नै समस्या छ । हवाई सेवा पनि छ्रैन् । त्यसबाहेक बालबच्चा पढाउने राम्रो शैक्षिक संस्था भएको भए लामो समय यही बस्ने बारे पनि सोच्थें होला । जस्तै धरानको जस्तो वातावरण भएमा जो पनि बस्न तयार हुन्छ । धरानमा पहिला केही थिएन पछि यस्तो वातावरण बन्यो कि चिकित्सकहरुलाई त्यहि काम गर्ने लालच हुन थाल्यो । ग्रामीण क्षेत्रको समस्यालाई ध्यानमा राखेर राज्यले सहज तरिकाले काम गर्ने वातावरण बनाइदिनुपर्छ ।
त्यहाँ कार्यरत चिकित्सहरुले सरकारी अस्पतालको जस्तै सुविधा पाउनुहुन्छ ?
यो अटोनोमस संस्था हो । यस संस्थामा काम गरेपछि बाहिर अन्य संस्थामा काम गर्न पाइँदैन । असिस्टेन्ट प्रोफेसरको लेभलबाट भत्ताको व्यवस्था छ । तोकिएको तलबमा अर्को सय प्रतिशत अलाउन्स जोडेर दिइन्छ ।
राप्ती स्वास्थ्य प्रतिष्ठानमा कार्यरत चिकित्सकहरु हालको पारिश्रामिकले सन्तुष्ट हुनुहुन्छ ?
करिब ६ महिनादेखि हाम्रो पारिश्रमिकको स्केल अलिकति बढेको छ । त्यसैले अहिले यहाँ कार्यरत चिकित्सकहरु आफ्नो पारिश्रमिकदेखि सन्तष्ट नै हुनुहुन्छ ।
कस्ता बिरामीलाई सेन्ट्रलमा रिफर गर्ने र कस्तालाई त्यही उपचार गर्ने किसिमको संरचना विकास गर्नसक्ने केही भिजन बनाउनुभएको छ ?
विशेषगरि अस्पतालमा न्युरो तथा मुटुको उपचार गर्ने उपकरणको अभावले त्यससँग सम्बन्धि बिरामी रिफर गर्नैपर्ने अवस्था छ । सरकारले न्युरो तथा कार्डियो सेन्टरहरु निर्माण गरिदिएमा सकेसम्म ति बिरामी अन्य अस्पतालमा रिफर गर्नुपर्ने थिएन ।
(डा.प्रज्ञा आँखा रोग विशेषज्ञ हुनुहुन्छ । उहाँ करिब डेढ वर्षदेखि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डाइरेक्टर हुनुहुन्छ । यसअघि उहाँले करिब ९ वर्षसम्म किस्ट मेडिकल कलेजमा सेवा गर्नुभएको थियो ।)
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
