नेभिगेशन

श्रमिकको स्वास्थ्य परीक्षण गर्ने संस्थालाई पारदर्शी र व्यवस्थित बनाइने

जनस्वास्थ्य सरोकार, काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारमा जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्था पारदर्शी र व्यवस्थित गर्ने उद्घोष गर्नुभएको छ ।

स्वास्थ्य परीक्षण गर्ने संस्थाहरूसँग मन्त्रालयले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा मन्त्री श्रेष्ठले स्वास्थ्य संस्थाको सूचीकरण, नवीकरण, र अनुगमन तथा निरीक्षण सम्बन्धी कार्यलाई प्रभावकारी, पारदर्शी, नियमित र व्यवस्थित गरिने बताउनुभयो ।

विदेशमा रहेका नेपाली श्रमिकको स्वास्थ्य र सुरक्षाप्रति सरकार गम्भीर रहेको भन्दै मन्त्री श्रेष्ठले नक्कली स्वास्थ्य परीक्षण रिपोर्ट बनाउनेदेखि सरकारले तोकेको मापदण्ड नपुगेका स्वास्थ्य संस्था मार्फत रिपोर्ट बनाउने प्रवृत्ति अन्त्य गरिने बताउनुभयो ।

उहाँले वैदेशिक रोजगारका समग्र चरण तथा प्रक्रियाहरूलाई पारदर्शी, व्यवस्थित र सुरक्षित बनाउने ध्येयका साथ आफ्नो नेतृत्वमा मन्त्रालयले काम गरिरहेको बताउनुभयो ।

वैदेशिक रोजगारीको लागि जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्न निर्धारण गरिएको मूल्य समयानुकूल समायोजनका लागि मन्त्रालय तयार रहेको बताउनुभयो ।

मन्त्रालयका सचिव एकनारायण अर्यालले गन्तव्य मुलुकमा गइसकेपछि श्रमिकलाई निम्तन सक्ने स्वास्थ्य समस्याबाट बच्न नयाँ मापदण्ड बनाएर कडाइका साथ अनुगमन गर्ने मन्त्रालयको योजना रहेको बताउनुभयो ।

उहाँले स्वदेशका अस्पताल तथा स्वास्थ्य संस्था मार्फत बनाइएको स्वास्थ्य परीक्षण रिपोर्ट गलत भएका कारण श्रमिक विदेश पुगेर पुनः स्वास्थ्य परीक्षण गर्दा ‘अयोग्य’ भएर फर्किनुपरे सम्बन्धित संस्थालाई कारबाही गरिने बताउनुभयो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट