
जनस्वास्थ्य सरोकार, सुर्खेत । सुर्खेतका नौ स्थानीय तहका १५ महिनादेखि १५ वर्षमुनिका ९६ हजार बालबालिकालाई टाइफाइड खोप लगाइने भएको छ।
जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतद्वारा शनिबार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा यहाँका ९६ हजार ४६७ बालबालिकालाई टाइफाइड रोगविरुद्धको खोप लगाइने जानकारी दिइयो। कार्यालयका निमित्त प्रमुख गणेशभक्त गौतमका अनुसार देशैभरि एक चरणमा यही चैत २५ गतेदेखि आगामी वैशाख १८ गतेभित्र सम्पन्न गर्ने गरी तय भएको मितिअनुसार खोप लगाइनेछ।
उनले सुर्खेतका सिम्ता गाउँपालिकाका सात हजार ८४१, चिडगाड गाउँपालिकाका पाँच हजार ९१५, लेकबेँसी नगरपालिकामा आठ हजार ३९७, गुर्भाकोट गाउँपालिकामा १२ हजार ९९७, भेरीगङ्गा नगरपालिकामा ११ हजार ८१९, वीरेन्द्रनगर नगरपालिकामा २२ हजार २३९, बराहताल गाउँपालिकामा सात हजार ८३५, पञ्चपुरी नगरपालिकामा १० हजार ६२६ र चौकुने गाउँपालिकामा आठ हजार ७९८ बालबालिकालाई खोप लगाइने जानकारी दिए।
कार्यालय प्रमुख गौतमका अनुसार सुर्खेतमा एक लाख ३५ हजार बालबालिकालाई टाइफाइड रोगविरुद्धको खोप लगाउने अनुमान गरिएको छ। “खोप अभियानमा लक्षित समूह मुख्यरूपमा ८० प्रतिशत विद्यालय नै रहनेछ”, उनले भने, “हामी सुर्खेतमा पहिलो, दोस्रो र तेस्रो चरण गरेर बालबालिकालाई खोप लगाउने छौँ।”
नेपालमा १५ वर्षमुनिका बालबालिकामा सङ्क्रमण दर ११ गुणा बढी रहेको जनस्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी अमर राना मगरले बताए। बालबालिकामा सरसफाइ र स्वच्छताको कमी हुने भएकाले टाइफाइड रोगबाट बालबालिकामा सङ्क्रमण दर बढी भेटिने गरेको उनको भनाइ थियो। रासस
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
