
जनस्वास्थ्य सरोकार,काठमाडौं । सरकारले पहिलो पटक बालबालिकालाई टाइफाइड बिरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ । मंगलबार पत्रकार सम्मेलन गरी आगामी चैत्र २५ गतेदेखि बैशाख १८ गतेसम्म देशभर टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन गर्ने जानकारी दिएको हो ।
२४ दिने राष्ट्रव्यापी टाइफाइडविरुद्धको खोप अभियान कार्यक्रममा १५ महिनादेखि १५ वर्ष मुनिका झण्डै ७५ लाख बालबालिकालाई खोप लगाउने लक्ष्य राखेको स्वास्थ सेवा विभाग, परिवार कल्याण महाशाखाले जानकारी दिएको छ ।
टाइफाइड खोप अभियान स्थानिय तहको प्रत्येक वडाको तोकिएको विद्यालयहरुको खोप केन्द्रमा उपलब्ध हुनेछ । विद्यालय नभएका वा कम भएका वडाहरुमा आवश्कता अनुसार बाह्य खोप केन्द्र संचालन गरिने छ । महाशाखाका अनुसार खोप अभियानका लागि करिब १० हजार स्वास्थ्यकर्मीहरु परिचान गरिने छ । अभियानको अन्तिम दिन स्वास्थ्य संस्थामा खोप सेवा संचालन गरिने छ ।
बाल मृत्युदर घटाउन टाइफाइडविरुद्धको खोप अभियानको प्रमुख भूमिका रहेको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख सागर दाहालले बताउनुभयो । उहाँले लकडाउनको समयमा नियमित खोप लगाउन छुटेकाहरुलाई पनि खोप दिने र खोपसँगै सरसफाईलाई पनि अघि बढाउने बताउनुभयो ।
त्यस्तै स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.दिपेन्द्र रमण सिंहले ९५ प्रतिशतलाई टाइफाइडविरुद्धको खोप लगाउन सके टाइफाइड रोग निवारण गर्न सकिने बताउनुभयो । उहाँले टाइफाइड रोगबाट बच्न सरसफाइमा विशेष ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो ।
महाशाखाका अनुसार विगत ५ वर्षको तथ्यांक अनुसार नेपालमा वर्षेनी ४ लाख ५० हजार भन्दा बढीमा टाइफाइड रोग संक्रमण देखिएको छ । विगत ३ वर्षको तथ्यांक हेर्दा पानी तथा खाना जन्य संक्रामक रोग मध्ये तेस्रो र अस्पताल भर्ना हुने कारण मध्ये टाइफाइड चौथो कारण रहेको देखिएको छ । टाइफाइड संक्रमण सबै उमेर समूहका मानिसलाई हुने गर्छ । तर,१५ वर्ष मुनिका बालबालिकालाई जोखिम बढी हुने महाशाखाले जनाएको छ ।
खोप प्रभावकारिताको अध्यनले टाइफाइड खोपबाट यो रोगको संक्रमणमा उल्लेखनीय रुपमा कमी ल्याउन सकिने पुष्टि गरेकोले राष्ट्रिय खोप सल्लाहकार समितिबाट १४ अगष्ट, २०२०मा टाइफाइड खोपलाई राष्ट्रिय खोप कार्यक्रममा समावेश गर्न सिफारिस गरिएको थियो । यस खोप अभियानसँगै टाइफाइड खोपको सुरुवात गर्ने नेपाल दक्षिण एसियामै पहिलो राष्ट्र हुनेछ ।
के हो टाइफाइड ?
टाइफाइड साल्मोनेला टाइफीबाट हुने गम्भीर रोग हो । जुन ढल वा संक्रमित व्यक्तिको दिसामा पाइने टाइफाइड रोगको जीवाणु स्वस्थ व्यक्तिमा दूषित खाना वा पानीको माध्यमबाट सर्दछ । यो रोग लागेमा उच्च ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने, पसिना आउने, पखाला लाग्ने र बान्ता हुनुका साथै ज्यानै पनि जान सक्छ ।
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
