नेभिगेशन

आजदेखि नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा पुनःस्वास्थ्यबीमा सेवा सुरु

जनस्वास्थ्य सरोकार, भक्तपुर । मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा आजबाट पुनः स्वास्थ्यबीमा सेवा सुरु भएको छ। सरकारले स्वास्थ्यबीमा वापतको रु ९करोडको भुक्तानी गर्न ढिलाइ गरेपछि गत असोज १ गतेबाट बन्द भएको स्वास्थ्यबीमा सेवा ६ महिनापछि आजबाट पुनः सुचारु भएको हो।

आज अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले स्वास्थ्यबीमा सेवा शुभारम्भ गर्दै अब यस अस्पतालमा सेवा लिँदै आएका बिरामीले उपचार र बीमाको सेवा प्राप्तिका लागि अन्त भौतारिनु नपर्ने बताए। अस्पतालले ६ महिना अगाडि बिरामीलाई दिँदै आएको सम्पूर्ण सेवा र सुविधा आजदेखि पुनः सुचारु गरिएको बताए।

उनले स्वास्थ्य बीमा कार्यक्रम सरकारको एकदमै राम्रो र प्रभावकारी कार्यक्रम भए पनि रकम भुक्तानीमा हुने ढिलाइले समस्या आएको भन्दै अस्पताललाई बीमा बोर्डले तिर्नुपर्ने रु नौ करोड बाँकी भए पनि बाध्य भएर सेवा बन्द गर्नुपरेको बताए। यहीँ चैत ११ गते स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा र राज्यमन्त्री भवानीप्रसाद खापुङले नेपाल कोरिया मैत्रीनगरपालिका अस्पतालको अनुगमन गरी बीमावापतको बाँकी रकम भुक्तानी गर्ने तथा बीमा सेवा छिटो सुरु गराउने बताएका थिए।

नगर प्रमुख श्रेष्ठले स्वास्थ्यमन्त्रीले अनुगमन गरेपछि बाँकी रकम आएको र बीमा बोर्डले अब एकतर्फी रुपमा सेवा बन्द नगर्ने सहमति बनेपछि आजबाट सेवा सुरु गरेके बताए। रासस

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट