नेभिगेशन

बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानले सञ्चालनमा ल्यायो २० शैय्याको नयाँ डायलाइसिस कक्ष

जनस्वास्थ्य सरोकार, धरान । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले नयाँ डायलाइसिस कक्ष सञ्चालनमा ल्याएको छ ।

प्रतिष्ठानले यसअघि रहेका आठ शैय्याको कक्षलाई विस्तार गरी बिहीबारदेखि २० शय्याको डायलाइसिस कक्ष सञ्चालनमा ल्याएको हो ।

अस्पतालमा बिहीबार आयोजित कार्यक्रममा प्रतिष्ठानका उपकुलपति डा ज्ञानेन्द्र गिरीले उक्त नयाँ डायलाइसिस कक्षको उद्घाटन गर्नुभयो । २० शय्यासहितको डायलाइसिस युनिट सञ्चालनमा आएपश्चात् पूर्वी भेगका मिर्गौलाका बिरामीको उपचारमा सहयोग पुग्ने उपकुलपति गिरीले विश्वास व्यक्त गर्नुभयो ।

पूर्वी नेपालको सबैभन्दा ठूलो र उत्कृष्ट अस्पतालका रुपमा रहेको प्रतिष्ठानमा यसअघि डायलाइसिस गर्ने मेसिनको कमी हुँदा बिरामीले सास्ती बेहोर्दै आएका थिए । बीस शय्यामा उपचार कक्ष सञ्चालनमा आएपछि बिरामीले सहजरुपमा सेवा पाउने अवस्था बनेको प्रतिष्ठानका प्रवक्ता चुरामणि पोखरेलको भनाइ छ ।

अहिले प्रतिष्ठानमा दैनिक करिब १२० बिरामीले नियमित डायलाइसिस गर्दै आएका छन् । यसअघि रहेका आठ मेसिनले प्रतिष्ठानमा आएका बिरामीलाई सेवा दिन नसक्दा करिब ५० जनाले डायलाइसिस सेवा लिन सकेका थिएनन् ।

सन् १९९९ मा तत्कालीन उपकुलपति डा शेखर कोइरालाको कार्यकालमा प्रतिष्ठानमा डायलाइसिस सेवा सुरु भएको थियो । दुई शय्याबाट सुरु गरिएको उक्त सेवा अपुग भएपछि त्यसबेला मेडिसिन विभागका डा सञ्जीवकुमार शर्माले सोही अस्पातलबाट आफैँले घर बसेर गर्ने सिएपिडी प्रविधिको डायलाइसिस सेवाको सुरुवात गरेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट