
पेशाले म न्युरो सर्जन हो । तर मेरो पनि ढाड सड्किने समस्या थियो । जीवनशैली परिवर्तन गरेँ । नियमित साँझ र र बिहान २० मिनेट हिँड्छु । समस्या धेरै कम भयो । म आफू बस्ने पोजिसनप्रति सचेत छु । सधैँ सिधा बस्छु । निहुरिएर धेरै काम गर्दिनँ र एउटै पोस्चरमा लामो समय पनि बस्दिनँ । म जस्ता धेरै व्यक्तिहरु यस प्रकारको समस्याबाट पीडित छन् । अधिकांश व्यक्ति शारीरिक अभ्यास र हिँडडूल नगर्दा, सोफामा बसेर टिभी हेर्दा वा घण्टौँ मोबाइल खेलाउँदा सानै उमेरमा तल्लो ढाड र गर्दन दुख्ने समस्याबाट पीडित छन् ।
ढाड किन दुख्छ ?
ढाडको नसा च्यापिएर र मेरुदण्डको मांशपेशी कमजोर भएर ढाड दुख्ने समस्या हुने गर्छ । मेरुदण्डको हड्डी भटेब्राले डिस्क (कुरकुरे हड्डी) लाई थिचेर कुरकुरे हड्डी बाहिर निस्किएर मेरुदण्ड हुँदै जाने नशालाई च्यापेपछि दुखाइ शुरु हुन्छ । नशा च्यापिने समस्या थोरै व्यक्तिलाई मात्र हुन्छ ।
करिब ६० देखि ७० प्रतिशतलाई मेरुदण्ड वरिपरिको मांशपेसी कमजोर भएर ढाड दुख्ने समस्या हुने गरेको पाइन्छ । मेडिकल भाषामा यसलाई मेकानिकल व्याकेक भनिन्छ ।
यस प्रकारको दुखाई कार्यालयमा दिनभर बसेर काम गर्दा ढाडको पोस्चर नमिलेर हुनेगर्छ । लामो समय निहुरिएर ल्यापटप र मोबाइल चलाउनेहरुमा गर्दनको दुखाइ हुने गर्छ ।
खतराको संकेत
यदि गर्दन र ढाडको दुखाइ खुट्टा वा हातका औँलातिर सरेमा, हातले सामान समात्न नसकेमा र नसाको चेतनास्तर कम भई दिसा पिसाब गरेको थाहा नपाउने अवस्था नसा च्यापिएर हुने समस्या हो । यो अलि जटिल किसिमको हुन्छ ।
राति सुतेको बेला ढाड दुखेर निन्द्रा खुल्ने, ढाडमा छुँदा अत्यधिक दुखाइ महसुस हुने समस्या पनि खतराको संकेत हो । यस्तो समस्यामा शल्यक्रिया आवश्यक पर्नसक्छ ।
मांशपेशी कमजोर किन हुन्छ ?
बसाइको पोस्चर नमिलेपछि मेरुदण्ड वरीपरिका मांशपेसी कमजोर हुन थाल्छन् । एउटै पोस्चरमा घण्टौँ बस्नेहरुमा मांसपेशी कमजोर हुँदैजान्छ । गर्दन पछाडिको मांशपेशीले तौललाई थेग्ने भएकाले टाउको निहुराएर लामो समय बस्दा गर्दन दुख्ने गर्छ । त्यसैले ४५ मिनेटभन्दा बढी एउटै पोजिसनमा बस्नुहुँदैन ।
पोस्चर कसरी मिलाउने ?
ढाडको दुखाईमा तपाइको बस्ने पोस्चरको शैलीमा निर्भर हुन्छ । ढाडले कुर्सीको पछाडिको भाग छोएको हुनुपर्छ । सिधा भएर बस्नुपर्छ । खुट्टा र ढाड बीचको कोण ९० देखि ११० डिग्री हुनुपर्छ । लामो समयसम्म निहुरिएर बस्नुहुँदैन । एउटा पोस्चर ४५ मिनेट भन्दा बढी हुन हुँदैन । केहि समय ब्रेक लिनुपर्छ । कुर्सीबाट उठेर शरीर तन्काउनुपर्छ । मोबाइल चलाउदा गर्दन र कान एउटै स्तरमा हुनुपर्छ । घोप्टो परेर गह्रोगो सामान उचाल्न हुँदैन ।
मांशपेसी कसरी बलियो बनाउने ?
मेरुदण्डका लागि हिँडाइ र पौडी सबैभन्दा राम्रो एक्सरसाइज मानिन्छ । हरेक दिन कम्तिमा ४ किलोमिटर वा ४० मिनेट हिड्नुपर्छ । हप्ताको पाँच दिन हिँडेपनि ढाडलाई फाइदा गर्छ ।
विभिन्न योगा र शारीरिक एक्सरसाइजले पनि मांशपेशी बलियो बनाउन सकिन्छ । यसबाट ७० प्रतिशत ढाड दुख्ने समस्या ठीक पार्न सकिन्छ ।

कस्तो उपचार आवश्यक पर्छ ?
करिब ७० प्रतिशत व्यक्ति पोस्चर नमिलेर ढाडको दुखाइको समस्या लिएर ओपिडीमा आउने गरेका छन् । यदि खतराको संकेत नभएका व्यक्तिहरुलाई पोस्चर मिलाउन, ढाड र गर्दनको स्पेसिफिक एक्सरसाइज गराउनुपर्छ ।
खुट्टा झमझमाउने, लुलो हुने, दुख्ने, हिँड्न गाह्रो हुने र दिसापिसाव भएको थाहा नहुने जस्ता जटिल लक्षण देखिएमा शल्यक्रिया गर्नुपर्ने हुनसक्छ । यसका लागि एक्सरे, एमआरआई लगायतका प्रविधिबाट समस्या पहिचान गर्नुपर्छ ।
कुरकुरे हड्डीले हातमा गएका नशा च्यापेको अवस्थामा हात झमझमाउने, करेन्ट लागेजस्तो हुने, सामान समात्न नसक्ने, हातखुट्टा लुलो हुने जस्ता लक्षण देखिन्छन् । कतिपय अवस्थामा कसरत गरेर पनि दुखाइ ठिक भएर जान्छ । कहिलेकाहीँ करेन्ट लगाएर उपचार गरिन्छ । यदि फिजियोथेरापी गरेको तीन हप्तासम्म पनि समस्या कम नभएमा आवश्यकताका आधारमा शल्यक्रिया पनि गर्नुपर्ने हुनसक्छ ।
ढाड किन सड्किन्छ ?
मेरुदण्ड वरिपरीको मांशपेसी कमजोर भएको बेलामा ढाड सड्किन सक्छ । यदिकुनै असहज पोस्चरमा बसेको बेलामा मांसपेशीले मेरुदण्ड भाँचिन लागेको महसुस गरेर आफै कक्रक्क भइदिन्छ । यसलाई मेडिकल भाषामा स्पाजम भनिन्छ ।
यदि पटक पटक ढाड सड्किने समस्या भइरहेको अवस्थामा मेरुदण्डको मांशपेसी कमजोर भएको वा कुरकुरे हड्डीले ठाउँ छोडेको अनुमान लगाउन सकिन्छ । कक्रक्क परेको मांशपेसीलाई औषधि सेवन गरेर नरम बनाउन सकिन्छ । दुखाइ कम गर्न औषधि सिफारिस गरिन्छ । बिरामीलाई दुखाइ भएको बेला फिजियोथेरापी गराउन सकिदैन । दुखाइ कम भएपछि मेरुदण्डको मांशपेसी बलियो बनाउने अभ्यास गर्नुपर्छ ।
खानपान
दुध पिउनुपर्छ । जंक फुड खानुहुँदैन । शरीरमा भिटामिन डी को कमी भएमा चिकित्सकको सल्लाहबमोजिम सप्लिमेन्ट लिनुपर्ने हुनसक्छ । चुरोट सेवन गर्नाले हड्डी कमजोर गराउँछ । त्यसैले यसको सेवन गर्न हुँदैन ।
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३
