
जनस्वास्थ्य सरोकार, काठमाडौँ । स्थानीय तहको चुनावका दिन वैशाख ३० गते मतदान गर्न आउने देशैभरिका मतदातालाई आवश्यकता अनुसार कोरोनाभाइरसविरुद्धको खोप दिने कार्यक्रम सञ्चालन गर्न निर्वाचन आयोगको अनुमतिका लागि पत्र पठाइएको छ ।
१८ वर्षमाथिको उमेरका ठूलो सङ्ख्याका मतदाता भोट खसाल्न मतदान केन्द्रमा गएका बेला खोप लगाउन छुटेकालाई लगाइदिने एउटा अवसर हुनसक्ने अधिकारीहरुको भनाइ छ।
स्वास्थ्य मन्त्रालयकी प्रवक्तासमेत रहनुभएकी स्वास्थ्य समन्वय महाशाखाकी प्रमुख डा. संगीता कौशल मिश्राले प्रेस ब्रिफिङका क्रममा बुधवार त्यस्तो तयारीको जानकारी दिनुभएको थियो ।
‘कोभिड १९ विरुद्धको खोपको पहिलो, दोस्रो वा बुस्टर मात्रा लगाउन छुट भएका १८ वर्षमाथिका नागरिकहरूलाई सबै स्थानीय तहको मतदान केन्द्रको नजिकमा खोप केन्द्र स्थापना गरी मतदान गरिसकेका मतदातालाई कोभिड–१९ विरुद्धको छुट तथा बुस्टर खोप उपलब्ध गराउने तयारी भइरहेको छ।’–उहाँले भन्नुभयो ।
मन्त्रालयको त्यस्तो तयारी अनुसार बिहीवार निर्वाचन आयोगमा अनुमतिका लागि पत्र पठाइएको स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखा अन्तर्गतको खोप शाखाका प्रमुख सागर दाहालले बताउनुभयो ।
निर्वाचन आयोगको तथ्याङ्क अनुसार देशभरि २१,९५५ मतदान केन्द्र रहेका छन्। ती मतदान केन्द्रमा खोप केन्द्र स्थापना गरेर खोप लगाउन सकिने भनेर स्थानीय तथा प्रदेश स्तरबाटै प्रस्ताव आएको स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाका निर्देशक विवेककुमार लालले बताउनुभयो ।
उहाँले भन्नुभयो–‘हामीलाई स्थानीय र प्रदेश तहबाटै यस्तो गर्न सकिन्छ भनेर प्रस्ताव आयो, त्यसमाथि छलफल गर्यौँ र यो एउटारदुईवटा प्रदेशमा मात्रै भन्दा पनि राष्ट्रिय स्तरमै गर्न उपयुक्त देखेर हामीले मन्त्रालयमा प्रस्ताव पठाएका हौँ।’
खोप कार्यक्रमका लागि खोप पुर्याउने देखि खोप केन्द्रमा आवश्यक स्वास्थ्यकर्मी परिचालन गर्नेसम्म सबैखालका व्यवस्थापन स्थानीय तहले पहिला गरेकै तरिकाबाट हुने उहाँले बताउनुभयो ।
‘प्राविधिक रूपमा खोप पुर्याउन वा जनशक्ति परिचालनका लागि स्रोतसाधनको अभाव हुँदैन। व्यवस्थापकीय पक्षचाहिँ स्थानीय तहबाटै हेर्नुहुन्छ।’–उहाँले भन्नुभयो ।
विगतमा जस्तो चुनावी प्रयोजनका लागि स्वास्थ्य अधिकारीहरूलाई यसपटकको चुनावमा परिचालन नगरिएका कारण जनशक्ति परिचालनमा समस्या नहुने अधिकारीहरूले बताएका छन्।
स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म खोप लगाउने लक्षित जनसङ्ख्यामध्ये झण्डै ९६ प्रतिशतले एक मात्रा र करिब ८५ प्रतिशतले पूर्ण मात्रा खोप लगाइसकेका छन्। त्यस्तै करिब ३५ लाख अतिरिक्त मात्रा खोप लगाइ सकिएको पनि मन्त्रालयले जनाएको छ।
यो तथ्याङ्क अनुसार खोप लगाउन छुटेकाहरूको सङ्ख्या हेर्दा अझै पनि अतिरिक्त खोप समेत गर्दा खोप लगाउन योग्यहरू धेरै भएको अधिकारीहरू बताउँछन्।
अतिरिक्त खोप दिनलाई योग्य भनिएको तीन महिनापछाडि खोप दिन मिल्ने जनसङ्ख्या हामीसँग प्रशस्त छ,' खोप शाखाका प्रमुख सागर दाहालले भन्नुभयो-'सबै ठाउँमा बुस्टर खोपको अभियान नचलेको पृष्ठभूमिमा हाम्रो लक्षित समूहकै मानिसहरू मतदान गर्न आउने भएकोले यो अवसर हाम्रा लागि राम्रो पनि हो।'
त्यसका लागि व्यवस्थापन कति सम्भव छ भनेर विभागले विभिन्न प्रदेशका स्वास्थ्य निर्देशनालयका निर्देशकहरूसँग छलफल गरेको र देशैभर गर्न सम्भव देखिएको विभागले जनाएको छ।
कति खोप बाँकी ?
मन्त्रालयका अनुसार खोप अभियान सुरु भएयता प्राप्त भएको करिब ५ करोड ३४ लाख खोप मध्ये अहिलेसम्म झण्डै ४ करोड २० लाख मात्रा खोप लगाइसकिएको छ।
बाँकी खोपमध्ये केही खेर गएको भए पनि अझै करिब १ करोड मात्रा खोप खपत गर्नै बाँकी रहेको मन्त्रालयले जनाएको हो।
नेपाल आइसकेका खोप प्रयोग गर्नै बाँकी रहेको र अझै खोप आउने क्रममा रहेकाले अहिले खोप खरिदलाई भन्दा खपतलाई प्राथमकितामा राखिएको मन्त्रालयले जनाएको छ।
अहिले भने मन्त्रालयका अनुसार सरदर दैनिक १ लाख मात्रा खोप लगाइने गरेको छ।
पहिलो र दोस्रो मात्रा खोप लगाउन छुटेका र बुस्टर डोज लगाउन बाँकी रहेकालाई मतदान गर्न जाँदा खोप कार्ड समेत लिएर जान मन्त्रालयले अनुरोध गरेको छ।
परिचयपत्र नभएका व्यक्तिले स्वयम् वा अभिभावकले परिचयपत्र वा उमेरको घोषणा गरेको आधारमा पनि खोप दिने व्यवस्था गरिँदै आएको मन्त्रालयले जनाएको छ। बीबीसीबाट साभार
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३
