नेभिगेशन

नेपालमा ४७ लाख मानिसमा उच्च रक्तचापबाट पीडित

जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा ४७ लाख मानिसमा उच्च रक्तचापको समस्या रहेको अनुमान छ । विश्व उच्च रक्तचाप दिवसका अवसरमा स्वास्थ्य सेवा विभागले आयोजना गरेको पत्रकार अन्तरक्रिया कार्यक्रममा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले ४७ लाख मानिसमा उच्च रक्तचापको समस्या रहेको बताउनुभयो ।

उहाँका अनुसार तीमध्ये १० लाखलाई आफ्नो उच्च रक्तचापको अवस्थाबारे जानकारी रहेको र चार लाखले मात्र औषधि सेवन गर्ने गरेका छन् । औषधि सेवन गर्नेमध्ये दुई लाखको मात्र उच्च रक्तचाप नियन्त्रणमा रहेको उहाँको भनाइ थियो ।

उच्चरक्तचाप तनाव, प्रदूषण, अस्वस्थ्यकर खाना, मध्यपान, सुर्तीजन्य पदार्थको प्रयोग र निस्क्रिय जीवनशैलीले हुने गर्दछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले रक्तचापबाट बच्नका लागि सन्तुलित जीवनशैली अपनाउनुपर्ने बताउनुभयो। उहाँले नसर्ने रोगलाई मन्त्रालयले प्राथमिकतामा राखेर बजेट विनियोजन गर्ने तयारीसमेत गरेको जानकारी दिनुभयो ।

उच्च रक्तचापका कारण मस्तिष्कघात, हृदयाघात, मुटु तथा रक्तनलीसम्बन्धी रोग, दीर्घ मिर्गौलाको समस्याजस्ता रोग लागेर अकालमै मानिसको मृत्यु हुने गर्दछ । मन्त्रालयका प्रमुख विशेषज्ञ डा श्यामसुन्दर यादवले रक्तचापबाट बच्नका लागि नुन र चिनीको मात्रा कम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले उच्च रक्तचापमा सर्वव्यापी गुणस्तरीय समतामूलक स्वास्थ्य सेवाको पहुँच बढाई यस वर्ष नियमित औषधि सेवन गर्ने सङ्ख्या १० लाख पुर्‍याउने बताउनुभयो ।

वरिष्ठ हृदयरोग विशेषज्ञ डा ओममूर्ति अनिलले १५ देखि २४ वर्ष उमेरसमूहमा उच्च रक्तचाप १० प्रतिशत र ४० वर्षभन्दा माथिका मानिसमा ५० प्रतिशत उच्च रक्तचाप देखिएको जानकारी दिनुभयो । उहाँले काठमाडौँमा पेसागतरुपमा काम गर्ने युवामा बढी उच्चरक्तचाप देखिएको बताउनुभयो ।


डा अनिलले नुनले मात्र उच्चरक्तचाप नभएर गुलियो र चिल्लो खानेकुरा खाँदा पनि रक्तचाप बढ्ने बताउनुभयो । उनले ५० प्रतिशत मानिसले आफूमा उच्च रक्तचाप भएको थाहा नपाउने भएकाले यसको रोकथामका लागि विद्यालय तहदेखि नै पाठ्यक्रममा रक्तचाप र मुटुको रोगसम्बन्धी पठनपाठनको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट