
जनस्वास्थ्य सरोकार । अमेरिकी सर्वोच्च अदालतले गर्भपतनसम्बन्धी ५० वर्ष पुरानो एउटा फैसला उल्टाइदिएसँगै अमेरिकामा प्रदर्शन चर्केको छ ।
गर्भपतनसम्बन्धी महिलालाई प्राप्त संवैधानिक अधिकार खोसिएको भन्दै विभिन्न सहरमा महिला तथा अधिकारवादीहरूले प्रदर्शन गरेका हुन् ।
देशव्यापी रूपमा गर्भपतनलाई वैधता दिने ५० वर्षअघिको एउटा आदेश अमेरिकी सर्वोच्च अदालतले शुक्रबार उल्ट्याइदिएको हो । आदेशको पक्षमा ६ र विपक्षमा ३ न्यायाधीश थिए ।
अदालतको फैसलासँगै गर्भपतनसम्बन्धी अधिकार दिने राष्ट्रिय कानुन खारेज भएको छ र यस विषयमा हरेक राज्यले आ–आफ्ना छुट्टै कानुन लागू गर्न पाउनेछन् ।
आदेशको विरोधमा कम्तीमा एक सय सहरमा प्रदर्शन गरिएका बीबीसीले जनाएको छ । आगामी साताहरूमा प्रदर्शन थप चर्कने अनुमान गरिएको छ । एरिजोना राज्यको फोनिक्समा प्रहरी र प्रदर्शनकारीबीच झडपहरू भएका छन् ।
लस एन्जल्समा प्रदर्शनकारीले सडक अवरुद्ध पारेका छन् । कतिपय सहरमा भने सर्वोच्चको फैसलाको पक्षमा पनि प्रदर्शनहरू भएका छन् ।
गर्भपतनसम्बन्धी अधिकार अमेरिकामा विभाजित विषय हो । तर पछिल्लो समय यसको पक्षमा जनमत बढी रहेको जनाइएको छ । पेउ अनुसन्धान केन्द्रले हालै गरेको एक सर्वेक्षणमा ६१ प्रतिशत जनता गर्भपतनसम्बन्धी अधिकारको पक्षमा रहेका देखिएको छ । ३७ प्रतिशतले यसलाई गैरकानुनी ठहर गरिनुपर्ने जनाएका छन् ।
सन् १९७३ मा सर्वोच्च अदालतले गरेको फैसलामा गर्भपतनलाई कानुनी मान्यता दिँदै यससम्बन्धी निर्णय लिने अधिकार महिलाको हुने उल्लेख थियो । तर, पुरानो फैसला उल्ट्याउन लागिएको भन्दै डेढ महिनाअघि सर्वोच्च अदालतको फैसलाको मस्यौदा बाहिरिएपछि नयाँ विवाद सिर्जना भएको थियो । चर्चा भएअनुसार नै फैसला आएपछि रिपब्लिकनहरूले खुसी मनाएका छन् भने डेमोक्र्याटहरू आक्रोशित छन् ।
‘गर्भपतनको अधिकार संविधानप्रदत्त होइन । गर्भपतनको नियमन गर्ने जिम्मेवारी जनताले चुनेका प्रतिनिधिको हातमा हुनुपर्छ । त्यसैले राज्यले कानुन बनाएर यसलाई नियमन गर्न सक्छन्,’ अदालतको आदेशमा भनिएको छ । अदालतको आदेशसँगै अमेरिकाका केही राज्यमा गर्भपतन सेवा दिँदै आएका क्लिनिकहरू बन्द हुन थालेका छन् । बीबीसीका अनुसार अर्कान्सनको लिटिल रकमा रहेका क्लिनिकहरू बन्द भएका छन् । क्लिनिकले यसअघि नै अपोइन्टमेन्ट लिएका महिलाहरूलाई पनि नआउन भनिसकेको छ ।
आफ्नो चाहनाअनुसार गर्भपतन गर्न नसकेपछि सन् १९७१ मा एक महिलाले सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् । रिटमा गर्भपतनको अधिकार सरकारलाई नभएर महिलालाई नै हुनुपर्ने माग गरिएको थियो । दुई वर्षपछि फैसला गर्दै अदालतले गर्भपतनलाई कानुनी मान्यता मात्र दिएन । यसको निर्णय महिलाले गर्न पाउने आदेश दिएको थियो ।

तत्कालीन फैसलामा बच्चा जन्मनुअघि तीन महिनासम्मको भ्रुणलाई गर्भपतन गर्ने अधिकार दिइएको थियो । चौथोदेखि छैटौं महिनाको गर्भपतनका लागि केही नियम र सर्त थिए । यो फैसलालाई धार्मिक समूह तथा रिपब्लिकनहरूले रुचाएका थिएनन् । उनीहरूले हरक भ्रुणलाई जीवनको हक हुने दाबी गर्दै आएका थिए ।
यो विषयलाई लिएर रिपब्लिकन र डेमोक्रेटिक पार्टीहरूको विचार फरक–फरक थियो । सन् १९८० सम्म यो विषय अमेरिकी राजनीतिको प्रमुख मुद्दाका रूपमा रहेको थियो । तर कानुनी रूपमा भने यो विषयले अहिले नयाँ आकार लिएको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले ‘सर्वोच्चको आदेश देशका लागि दुःखद भएको’ बताएका छन् । ‘यो मुलुकका लागि निकै दुःखद दिन हो । ५ दशकअघि रो भर्सेस वेडमाथि निर्णय भएको थियो,’ बाइडेनले भनेका छन्, आज सर्वोच्च अदालतले अमेरिकी नागरिकबाट संवैधानिक अधिकार खोसेको छ । व्यक्तिगत स्वतन्त्रता आगामी नोभेम्बरमा हुने चुनावी मतपेटिका छन् ।’
५० मध्ये २६ अमेरिकी राज्यमा त्यस्तो प्रतिबन्ध लाग्न सक्ने अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन् । विपक्षी दल रिपब्लिकनले जितेका राज्यमा गर्भपतनमाथि प्रतिबन्ध लाग्ने सम्भावना छ । अदालतको आदेशसँगै गर्भपतनलाई गैरकानुनी ठहर गर्नका लाग १३ वटा राज्यले ‘ट्रिगर ल’ नामक कानुनी व्यवस्था तयार पारिसकेका छन् ।
अर्कान्सस, केन्टुकी, लुजियाना, साउथ डकोटा, मिजोरी, ओक्लाहोमा र अलाबामामा उक्त कानुन लागू भइसकेको छ । मिसिसिपी र नर्थ डकोटामा भने त्यहाँका महान्यायाधिवक्ताले प्रमाणित गरेसँगै यो व्यवस्था लागू हुनेछ । त्यस्तै, योमिङमा जुन २९ देखि प्रतिबन्ध लागू हुनेछ भने युटामा विधान परिषद्ले प्रमाणित गर्न बाँकी छ । त्यसैगरी, इडाहो, टेनिसी र टेक्ससमा ३० दिनभित्रमा यो व्यवस्था लागू हुँदै छ । इ–कान्तिपुरबाट साभार गरिएको
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३
