
जनस्वास्थ्य सरोकार, बाँके । स्वास्थ्य कार्यालय बाँकेले आठ पालिकाका ८१ वडामा आजदेखि कोरोना विरुद्धको दोस्रो डोज र बुष्टर डोज लगाउने भएको छ। विशेषगरी १८ वर्षमाथिका नागरिकलाई लक्षित दुई दिनसम्म नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका र जानकी गाउँपालिकामा खोप लगाउन लागिएको छ।
असार २४ देखि २६ गतेसम्म बैजनाथ, डुडुवा, राप्तीसोनारी र नरैनापुर गाउँपालिकामा खोप लगाउने तयारी गरिएको छ। अहिलेसम्म बाँकेमा शतप्रतिशतले कोरोना विरुद्धको पहिलो डोज खोप लगाएका छन्। स्वास्थ्य कार्यालय बाँकेका अनुसार जिल्लामा हालसम्म चार लाख ८१ हजार ८३३ ले कोरोना विरुद्धको पहिलो डोज खोप लगाएका हुन्। यो लक्ष्यभन्दा एक दशमलव २ प्रतिशतले बढी हो। बाहिरी जिल्लाबाट आएका व्यक्तिले खोप लगाएका कारण लक्ष्यभन्दा बढीले जिल्लामा खोप लगाएको स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए।
दोस्रो डोज खोप लगाउनेको सङ्ख्या तीन लाख ८५ हजार ८९२ रहेको छ। खोपको मात्रा पूरा गर्ने अर्थात दोस्रो डोज लगाउने ८१ दशमलव १ प्रतिशत रहेका छन्। बुष्टर डोज लगाउनेको सङ्ख्या भने जिल्लामा निकै कम छ। बुष्टर डोज लगाउनेको सङ्ख्या एक लाख सात हजार ३०६ रहेको छ । प्रतिशतका हिसाबले यो २२ दशमलव ५ प्रतिशत हो।
नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका र खजुरा गाउँपालिकामा शतप्रतिशतले कोरोना विरुद्धको पहिलो डोज खोप लगाएका छन्।
सबैभन्दा कम खोप लगाउनेमा नरैनापुर र जानकी गाउँपालिका रहेका छन्। ती पालिकामा पहिलो डोज खोप लगाउने ८० प्रतिशतको हाराहारीमा छन् । बैजनाथ, राप्तीसोनारी र डुडुवा गाउँपालिकामा ९० प्रतिशत बढीले कोरोनाविरुद्धको पहिलो खोप लगाउँदै छन्। केही दिनयता फेरी बाँकेमा कोरोना सङ्क्रमिता बढ्दै जान थालेका छन्। रासस
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३

