
जनस्वास्थ्य सरोकार, काठमाडौँ । आर्थिक वर्ष २०९१/९२ सम्म क्षयरोगको अन्त्य गर्ने योजनासहित पञ्चवर्षीय योजना सार्वजनिक गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भवानीप्रसाद खापुङले राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले यहाँ आयोजना गरेको कार्यक्रममा ‘क्षयरोग अन्त्यको राष्ट्रिय रणनीतिक योजना २०७८/७९ देखि २०८२/८३’ सार्वजनिक गर्नु भएको हो । रणनीतिक योजनामा आव २०९१/९२ सम्म क्षयरोगको अन्त्य र आव २१०६/०७ सम्ममा क्षयरोग निवारण गर्ने लक्ष्य लिइएको छ ।
केन्द्रका निर्देशक डा सञ्जयकुमार ठाकुरले क्षयरोग सामाजिक रोग भएकाले सबैले मिलेर अन्त्य गर्नुपर्ने बताउनुभयो । उहाँले क्षयरोगको कारणले परिवारमा पर्ने अधिक आर्थिक व्ययभार पनि शून्यमा झार्ने गरी रणनीतिक योजना ल्याइएको जानकारी दिनुभयो ।
रणनीतिमा आवमा २०८२/८३ क्षयरोगका नयाँ बिरामी दरमा २४ प्रतिशतले कमी ल्याउने लक्ष्य राखिएको छ । उहाँकाअनुसार रणनीतिक योजनामा आर्थिक वर्ष २०८२/८३ सम्म प्रतिलाख जनसङ्ख्यामा १८१ जना क्षयरोगका बिरामी झार्ने लक्ष्य लिइएको छ । आर्थिक वर्ष २०७७/७८ मा प्रतिलाख जनसङ्ख्यामा २३८ जना क्षयरोगका बिरामी रहेका छन् ।
योजनामा क्षयरोगबाट बिरामी भई मृत्यु हुने दर ६० प्रतिशतले घटाउने लक्ष्य लिइएको छ । यस्तै रणनीतिक योजनामा २०८२/८३ मा प्रतिलाख जनसङ्ख्या २३ जना मृत्युदर झार्ने तयारी गरिएको छ । २०७७/७८ मा प्रतिलाख जनसङ्ख्यामा ५८ जना मृत्युदर रहेको छ ।
यस्तै क्षयरोगका बिरामीमा एचआइभी परीक्षण शतप्रतिशतमा पुर्याउने लक्ष्य लिइएको छ । अहिले ६९ प्रतिशतमा मात्र एचआइभी परीक्षण भएको छ । केन्द्रका निर्देशक डा ठाकुरले क्षयरोगलाई रणनीतिकअनुसार काम गर्दै जाने र सन् २०५० सम्म नेपाललाई क्षयरोगमुक्त घोषणा गर्ने सरकारको लक्ष्य रहेको बताउनुभयो ।
उहाँले रणनीतिक कार्ययोजना सहित क्षयरोगको पहिचान, निदान तथा समयमा नै उपचार गर्न समुदाय स्तरसम्म सक्रिय खोज पडताल गर्नुपर्ने बताउनुभयो । उहाँका अनुसार गत वर्ष सात हजार क्षयरोगका बिरामी फेला परेको थिए भने यस वर्ष १० हजार फेला परेका छन् । मन्त्री खापुङले रणनीतिक योजनाअनुसार पाँच वर्षमा उल्लेखनीय मृत्युदर घटाउनुपर्ने बताउनुभयो । उहाँले रणनीतिमा भएको लक्ष्य पूरा गर्नका लागि प्रत्येक वर्ष र प्रत्येक महिनाको के के गर्न सकिन्छ भनेर कार्ययोजना बनाएर काम गर्नुपर्ने बताउनुभयो ।
उहाँले अझ पनि धेरै क्षयरोगका बिरामी उपचारभन्दा बाहिर रहेकाले पत्ता लगाई उपचार गर्नुपर्ने बताउनुभयो । सचिव डा रोशन पोखरेलले पाँच वर्षसम्म योजनाअनुसार काम गरेर क्षयरोगका बिरामी घटाउनुपर्ने बताउनुभयो । उहाँले क्षयरोगले धेरै नै आर्थिक व्ययभार बढ्ने गरेको उल्लेख गर्दै योजनाअनुसार काम गर्न नसके मुलुक आर्थिक रुपमा धराशायी हुने बताउनुभयो ।
मन्त्रालयका प्रमुख विशेषज्ञ डा श्यामसुन्दर यादवले क्षयरोगका बिरामी पत्ता लगाउन सके क्षयरोग नियन्त्रण गर्न सकिने बताउनुभयो । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले वडास्तरमा गएर क्षयरोगका बिरामी पत्ता लगाउनुपर्ने बताउनुभयो । उहाँले योजनाले तय गरेको क्रियाकलापअनुसार सबै स्थानीय तहलाई क्षयरोगरहित बनाउनुपर्ने बताउनुभयो ।
नेपालमा अहिले २६ हजार ६७७ क्षयरोगका बिरामी राष्ट्रिय क्षयरोग कार्यक्रममा दर्ता गरिएका छन् ।
यस्तै नेपालमा प्रत्येक वर्ष ६९ हजार नयाँ क्षयरोगका बिरामी हुने अनुमान गरिए पनि अझ ४१ हजार ५०० बिरामी पत्ता लगाउन नसकिएको केन्द्रका निर्देशक डा ठाकुरले जानकारी दिनुभयो । नेपालमा प्रत्येक वर्ष १६ हजार मानिस क्षयरोगका कारणले मृत्यु हुने गरेका छन् । नेपालमा क्षयरोगको उपचार लागि पाँच हजार ५०३ डट्स केन्द्र, २२ वटा मल्टी ड्रग रेसिडेन्स उपचार केन्द्र र ८१ मल्टी ड्रग रेसिडेन्स उपचार उपकेन्द्र, एक वटा ड्रग रेसिडेन्स (होम) र छवटा ड्रस रेसिडेन्स होल्टल रहेका छन् ।
केन्द्रका निर्देशक डा ठाकुरले हरेक प्रदेशमा राष्ट्रिय क्षयरोग रेफ्ररेन्स प्रयोगशालालाई सुदृढीकरण गरी जिनएक्सपर्ट मेसिन उपलब्ध गराई क्षयरोगी पत्ता लगाउने बताउनुभयो । यस्तै रणनीतिमा आधुनिक उपकरणको प्रयोग गरी समुदाय र स्वास्थ्य संस्थाबाट क्षयरोगका बिरामी पत्ता लगाउने, क्षयरोगका बिरामीको सम्पर्कमा आएका व्यक्तिको खकार जाँचका लागि सम्पर्क परीक्षण (कन्ट्याक्ट ट्रेसिङ)को विस्तार गर्ने, बालबालिकामा हुने क्षयरोगको निदान र उपचार व्यवस्थापनलाई सुदृढ गर्नेजस्ता कार्ययोजना रहेका छन् ।
यस्तै पाँच वर्षमुनिका बालबालिकामा लेटेन्ट क्षयरोग सङ्क्रमणको उपचार ९० प्रतिशतभन्दा बढी पु¥याउने योजना रहेको छ । रासस
बेसिक स्यालरीको नाममा ठगी: नर्स आन्दोलनको ‘जित’ कि ‘जालझेल’?
आइतबार, चैत २२, २०८२
थाकेका हात, दबिएको आवाजः नर्सहरूमा ‘बर्नआउट’ बढ्दो चिन्ता
बुधबार, चैत १८, २०८२
मुस्कानसहित सेवा अनिवार्यः१४ बुँदे निर्णयले कर्मचारी अनुशासनमा ‘ब्रेकथ्रु’
बुधबार, चैत १८, २०८२
नर्सबाट स्वास्थ्य मन्त्रीः निशा मेहताको यात्राले खोलेको नयाँ अध्याय
शुक्रबार, चैत १३, २०८२
