नेपाल हेल्थ न्युज, काठमाडौं । अस्पतालको मुख्य प्रवेशद्वारमा बिरामी र आफन्तलाई सबैभन्दा पहिले भेट्ने व्यक्ति प्रायः सुरक्षा गार्ड नै हुन्छन्। आकस्मिक अवस्थामा चिकित्सक वा नर्स पुग्नुअघि बिरामीको पहिलो सम्पर्कमा पुग्ने यही जनशक्तिलाई जीवनरक्षा सीप सिकाउनुपर्ने आवश्यकतालाई महसुस गर्दै त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जले सुरक्षा गार्डहरूका लागि आधारभूत जीवनरक्षा सीप (बेसिक लाईफ सपोर्ट) तथा प्रभावकारी सञ्चारसम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ।
अस्पतालको सभाहलमा आयोजित कार्यक्रममा अस्पतालमा कार्यरत ५० भन्दा बढी सुरक्षा गार्डहरूको सहभागिता रहेको थियो। अस्पतालका उपनिर्देशक प्रा. डा. गोपाल सेडाईको संयोजन तथा आइसियू विभागको सहयोगमा सञ्चालन भएको तालिममा अनुभवी प्रशिक्षक तथा विषयविज्ञहरूले सैद्धान्तिक र व्यावहारिक दुवै प्रकारको प्रशिक्षण प्रदान गरेका थिए।
सुरक्षाभन्दा अघि मानवीय सेवा
कार्यक्रममा प्रा. डा. सेडाईले सुरक्षा गार्डको भूमिका केवल अस्पतालको भौतिक सम्पत्तिको सुरक्षा गर्नेमा सीमित नरहेको उल्लेख गर्दै बिरामी र सेवाग्राहीसँगको व्यवहार, प्रभावकारी सञ्चार तथा जोखिम व्यवस्थापनमा उनीहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो ।
सुरक्षा गार्डले आफू सुरक्षित रहँदै बिरामी तथा आफन्तसँग सम्मानजनक र प्रभावकारी संवाद गर्ने, अस्पतालको नीति तथा प्रक्रियाबारे जानकारी गराउने, आक्रोशित वा उत्तेजित अवस्थाका सेवाग्राहीलाई संयमता अपनाउन प्रेरित गर्ने तथा हिंसा न्यूनीकरणमा सहयोग पुर्याउने सीप पनि अत्यावश्यक हुन्छ।
अस्पतालको वातावरणलाई सुरक्षित, शान्त र सेवामैत्री बनाउन सुरक्षा गार्डको भूमिका अत्यन्त महत्वपूर्ण छ। त्यसैले उनीहरूलाई पेशागत स्वास्थ्य, सुरक्षा र सञ्चारसम्बन्धी सीपले सशक्त बनाउन आवश्यक ठानेर यो तालिम सञ्चालन गरिएको हो, उहँले बताउनुभयो ।
पहिलो प्रतिक्रिया नै जीवनरक्षक बन्न सक्छ
अस्पतालको आइसियू विभागमा कार्यरत स्टाफ नर्स प्रभा गौतमले आधारभूत जीवनरक्षा सीप (बिएलएस) र कार्डियोपल्मोनरी रिससिटेसन (सिपिआर) सम्बन्धी प्रशिक्षण दिँदै अस्पतालमा बिरामीको सम्पर्कमा सबैभन्दा पहिले पुग्ने व्यक्तिका रूपमा सुरक्षा गार्डलाई यस्ता सीप अनिवार्य भएको बताउनुभयो ।
उहाँले आकस्मिक अवस्थामा बिरामीको अवस्था पहिचान गर्ने, तुरुन्त स्वास्थ्यकर्मीलाई खबर गर्ने, सीपीआर सुरु गर्ने, श्वासनली खुला राख्ने, श्वासप्रश्वास र नाडीको मूल्याङ्कन गर्ने तथा थप जोखिमबाट बिरामीलाई जोगाउने आधारभूत विधिबारे प्रशिक्षण प्रदान गरिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार प्रारम्भिक केही मिनेटमै सही प्रतिक्रिया दिन सके धेरै बिरामीको जीवन बचाउन सकिने भएकाले सुरक्षा गार्डलाई जीवनरक्षा सम्बन्धी ज्ञान र सीप प्रदान गर्नु समयको आवश्यकता हो।
व्यावहारिक अभ्यासमा जोड
तालिमको अर्को विशेषता भनेको व्यावहारिक अभ्यास थियो। स्टाफ नर्स एलिसा गुभाजु र यानु माया सारुले सहभागीलाई दुई समूहमा विभाजन गरी प्रत्यक्ष अभ्यास गराउनुभएको थियो ।

उहाँहरूले आपतकालीन अवस्थामा अपनाउनुपर्ने सावधानी, जोखिम मूल्याङ्कन, व्यक्तिगत सुरक्षा योजना तथा सुरक्षित रूपमा उद्धार कार्य गर्ने विधिबारे व्यवहारिक अभ्यास गराउँदै सहभागीको आत्मविश्वास बढाउने प्रयास गरिएको बताउनुभयो ।
प्रशिक्षकद्वयका अनुसार सैद्धान्तिक ज्ञान मात्र पर्याप्त नहुने भएकाले वास्तविक परिस्थितिमा प्रयोग गर्न सकिने सीप विकास गर्नु तालिमको मुख्य उद्देश्य थियो।
सहभागीको अनुभवः यो सीप अस्पतालभन्दा बाहिर पनि उपयोगी
तालिममा सहभागी सुरक्षा गार्डहरूले प्राप्त ज्ञान र सीपलाई कार्यस्थलमा प्रभावकारी रूपमा प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँहरूका अनुसार तालिमले अस्पतालभित्र मात्र होइन, घरपरिवार, सार्वजनिक स्थल वा समुदायमा अचानक अचेत भएका वा आकस्मिक स्वास्थ्य समस्या भएका व्यक्तिको जीवन बचाउन समेत सहयोग पुग्ने विश्वास दिलाएको छ। स्वास्थ्य सुरक्षा, जोखिम व्यवस्थापन र आपतकालीन प्रतिक्रिया सम्बन्धी व्यवहारिक ज्ञानले आफ्नो जिम्मेवारी अझ प्रभावकारी रूपमा निर्वाह गर्न आत्मविश्वास बढेको उहाँहरुको भनाइ छ।
सबै सुरक्षा गार्डलाई तालिम दिने लक्ष्य
अस्पतालका अनुसार हाल ६० भन्दा बढी सुरक्षा गार्ड कार्यरत छन्। तीमध्ये दुई चरणमा ५० जनाले प्रशिक्षण लिइसकेका छन् भने बाँकी सुरक्षाकर्मीका लागि तेस्रो चरणको अभिमुखीकरण कार्यक्रम पनि छिट्टै सञ्चालन गरिनेछ।
गुणस्तरीय स्वास्थ्य सेवा चिकित्सकीय उपचारबाट मात्र सम्भव हुँदैन, अस्पतालमा कार्यरत प्रत्येक कर्मचारीको दक्षता र समन्वयले सुरक्षित तथा प्रभावकारी सेवा प्रवाह सुनिश्चित गर्दछ। त्यसैले आगामी दिनमा पनि यस्ता अभिमुखीकरण कार्यक्रमलाई निरन्तरता दिइने अस्पतालको योजना रहेको छ।
‘नर्स ज्योती रानाभाटको जीवन बचाऔं’: नर्सिङ समुदायमा बढ्दो ऐक्यबद्धता
मंगलबार, साउन १९, २०८३
इनर ह्विल क्लब अफ महालक्ष्मीको नयाँ कार्यसमिति पदस्थापन
सोमबार, साउन १८, २०८३
५ बुँदे सहमतिपछि चिकित्सक आन्दोलन फिर्ता, देशभरका अस्पतालमा नियमित सेवा पुनः सञ्चालन
बुधबार, साउन १३, २०८३

