
जनस्वास्थ्य सरोकार, काठमाडौँ ।‘१२ वर्षदेखि दाहिने खुट्टा दुख्थ्यो । गोडा झमझम गर्दथ्यो । हिँडडुल गर्न निकै गाह्रो हुन्थ्यो । पेन किलर खान्थेँ । केही समयको फिजियोथेरापी र आरामले दुखाइ कम हुन्थ्यो । ग्याँस्ट्रोइन्टेरोलोजिष्ट डाक्टर भएकाले बीर अस्पतालको सर्जरी कक्षमा इआरसिपी र इन्टेरेस्कोपी गर्दा एउटै पोजिसनमा घण्टौँ समय बित्थ्यो । मलाई साइटिका भएको रहेछ । यो एक प्रकारको ढाडको नशा च्यापिने समस्या हो ।
डेढ वर्षअघितिर ड्युटी सकेर घर फर्किने क्रममा एक्कासी असह्य पीडा भयो । यताउती गोडा चलाउन सकिनँ । राती ह्वील चेयरमा सिभिल अस्पताल पुगेँ । यो बेला साइटिका नर्भ कम्प्रेस समस्या पहिचान भयो । ‘साइटिका’ शरीरको सबैभन्दा ठूलो स्नायू हो । यो कम्मरको तल्लो भाग हुँदै गोडासम्म पुगेको हुन्छ ।
अस्पतालका वरिष्ठ पेन विशेषज्ञ डा.अनुजजंग रायमाझीसँग उपचार गराएँ । उहाँले सिम्प्याथेटिक ब्लक इन्जेक्सनबाट उपचार शुरु गर्नुभयो । करिब ७५ प्रतिशत दुखाइ कम भएपछि घर फर्किएँ । दु्इ हप्तापछि सेलेक्टिभ नर्भ रुट ब्लक इजेक्सन दिनुभयो । अहिले मलाई करिब ९० प्रतिशत दुखाई कम भएको छ । नियमित शारीरिक अभ्यास र फिजियोथेरापी गर्छु ।’
बढ्दो उमेर, मोटोपना, विलासी जीवनशैली, व्यायाम नगर्ने, गह्रौ भारी उचाल्ने, बस्ने पोजिसन नमिल्ने, कठिन सवारी, शरीरमा क्याल्सियम र भिटामिनको कमी आदि कारणले दीर्घकालीन ढाड दुखाईको समस्या बढाइरहेको पाइन्छ ।
मेरुदण्डको हड्डी (भटेब्रा) को बीचमा डिस्क हुन्छ । कुनै कारणवस हड्डी थिचिँदा वा खिइँदै जाँदा दवाव परी डिस्क उछिटिएर बाहिर निस्किनसक्छ । यसले मेरुदण्ड हुँदै जाने स–साना नशालाई च्यापेर दुखाई उत्पन्न गराउनसक्छ । कहिलेकाहीँ ढाडको तल्लो भाग हुँदै गोडासम्म सायटिका हुनसक्छ । कुर्सीमा बस्दा ढाडको स्थिति नमिलेर मेरुदण्डको मांशपेसी कमजोर हुनसक्छ । यसरी रोग, संक्रमण र चोटपटकले हुने ढाड दुखाइ शल्यक्रिया उपचारबाट निको पार्न सकिन्छ । तर दीर्घकालीन ढाड दुखाइ पूर्ण निको पार्न कठिनाइ हुनसक्छ । यसका लागि इन्टरभेन्सनल दुखाई व्यवस्थापनको भूमिका महत्वपूर्ण हुन्छ ।

इन्टरभेन्सनल दुखाइ व्यवस्थापन
दीर्घकालीन दुखाइ व्यवस्थापन गर्ने नयाँ थप पद्धतिलाई इन्टरभेन्सनल दुखाई व्यवस्थापन भनिन्छ । यो विशेषगरी ढाड, जोर्नी दुखाइ र नशा च्यापिने समस्यामा निकै प्रभावकारी प्रमाणित हुँदै आएको छ । यसमा बिना शल्यक्रिया सुइको मद्धतबाट दुखाइ व्यवस्थापन गरिन्छ ।
विगतमा औषधि र शारीरिक अभ्यासबाट निको नभएको अवस्थामा शल्यक्रिया मात्र विकल्प थियो भने अब सानो इन्जेक्सनको माध्यमबाट धेरै हदसम्म शल्यक्रिया नगरी सञ्चो गराउन सकिन्छ ।
संसारभर नै दीर्घकालीन दुखाइ व्यवस्थापन प्रभावकारी मानिएको छ । यसले करिब ७०—८० प्रतिशत बिरामीलाई फाइदा पुगेको विभिन्न अध्ययनहरुले देखाएका छन् ।
न्युरोप्याथिक र अन्य दुखाइमा के फरक छ ?
विभिन्न प्राथमिक औषधिहरुबाट निको नभएको खण्डमा यो न्युरोप्याथिक दुखाइमा परिणत हुन्छ । यसको विकल्प दुखाइ व्यवस्थापन नै हो ।

रिकभरी दर
सुइ लगाएपछि ७० देखि ८० प्रतिशत दुखाइ कम हुन्छ भने बाँकी फिजियोथेरापीको माध्यमबाट क्रमशः न्यूनिकरण गर्न सकिन्छ । यस उपचारले व्यक्तिको गुणस्तरीय जीवनयापनमा मद्धत गर्छ ।
शल्यक्रिया गर्नुनपर्ने अवस्था
यदि दिशा पिसाव नियन्त्रण नहुने र खुट्टा नचल्नेजस्ता जटिल लक्षण देखिएमा चिकित्सकको परामर्शमा तुरुन्तै शल्यक्रिया गर्नुपर्ने हुनसक्छ । समयमै उपचार गर्दा नशामा अक्सिजन आपूर्ति बन्द हुन पाउँदैन । यसले प्यारालाईसिस हुनबाट जोगाउँछ ।
उपचार कत्तिको महँगो पर्छ ?
दुखाइ व्यवस्थापनमा प्रयोग हुने सुइको प्रतिमात्राको मूल्य सरकारीमा पाँच हजार र निजीमा अधिकतम करिब १५ हजारसम्म लिने गरेको पाइएको छ ।
खानपान र जीवनशैली
धुम्रपान र मद्यपान हानिकारक हुन्छ । प्रशस्त पानी, भिटामिनयुक्त सन्तुलित आहार खानुपर्छ । फलफूल खानुका साथै प्रोटिन, फाइबर र भिटामिन भएका खानेकुरामा जोड दिनुपर्छ । (डा. रायमाझी सिभिल सर्भिस हस्पिटलमा कार्यरत हुनुहुन्छ ।)
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३
