जनस्वास्थ्य सरोकार, ललितपुर । ललितपुरको ग्वार्कोस्थित बी एण्ड बी हस्पिटलमा एक्युट स्ट्रोक युनिट शुरु भएको छ । विश्व स्नायु दिवस २०२२ का अवसरमा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले हस्पिटलको एक्युट स्ट्रोक युनिटको उद्घाटन गर्नुभयो ।

वल्र्ड फेडरेसन अफ न्युरोलोजीको आयोजनामा हरेक वर्ष २२ जुलाईमा विश्व स्नायु दिवस मनाउने गरिएको छ । यस वर्ष ‘सबैका लागि स्नायु स्वास्थ्य’ भन्ने मुल नाराका साथ नेपाल लगायत विश्व भर यो दिवस मनाइएको छ ।
सो अवसरमा हस्पिटलका सञ्चालक द्धय डा. जगदिशलाल वैद्य र डा. अशोक बास्कोटाले हस्पिटलमा एक्युट स्ट्रोक युनिट शुरु गर्न सफल भएकोमा खुशी व्यक्त गर्नुभयो । डा. वैद्यले स्ट्रोकका बिरामीलाई लक्षित गरे हस्पिटलको नयाँ भवनमा हेलिप्याडकोसमेत व्यवस्था गरिएको जानकारी गराउनुभयो ।

हस्पिटलका सिनियर कन्सल्यान्ट न्युरो सर्जन डा.शिखर श्रेष्ठले ४ जनामध्ये १ जनालाई मस्तिष्कघात हुने गरेको विश्वव्यापी तथ्याङ्क उल्लेख गर्दै मस्तिष्कघात ५० वर्ष नाघेका व्यक्तिलाई मात्र नभई अहिले युवाहरुमा पनि देखिन थालेको बताउनुभयो ।
उहाँले स्ट्रोकका बिरामीलाई जतिसक्दो चाँडो हस्पिटल पुर्याएर उपचार शुरु गर्न सकेमा पक्षघात हुनबाट जोगाउन सकिने बताउनुभयो ।

कार्यक्रमा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दिपेन्द्र रमण सिंह, डा. सुन्दर मणि दिक्षित, पत्रकार महासंघ काठमाडौं जिल्ला शाखाका अध्यक्ष सुर्य सुवेदीलगायतका व्यक्तिले हस्पिटललाई शुभकामना दिनुभयो ।
स्नायु कोषिकाहरुमा क्षति भई मस्तिष्कमा पोषण र अक्सिजनको मात्रा कम भएर हुनसक्ने समस्यालाई मस्तिष्कघात (स्ट्रोक) भनिन्छ । मस्तिष्कघातले मस्तिष्कमा रगत आपूर्ति गर्ने स्नायु कोषिकाहरुमा अवरोध भएमा वा फुटेमा मस्तिष्कघात हुनेगर्छ । मस्तिष्कघातले प्यारालाईसिस मात्र नभई स्नायु र न्यायु कोषिकाहरुमा स्थायी क्षति पु¥याएर व्यक्तिको ज्यासमेत लिनसक्छ ।

अमेरिकाको हारवर्ड विश्वविद्यालयका अनुसार, मस्तिष्कमा १०० बिलियन कोशिकाहरु हुन्छन् । मस्तिष्कघातले रक्तनसा बन्द भई उपचार नपाएको खण्डमा प्रतिमिनेट करिब २० लाख ब्रेनका कोशिका मर्दछन् । त्यसैले मस्तिष्कघातलाई एक्युट मेडिकल इमर्जेन्सी (आपतकालीन स्वास्थ्य समस्या) भनिन्छ ।
मस्तिष्कभित्रको रक्तनलीमा रगतको थेग्लो जमेर (इस्केमिक स्ट्रोक) वा मस्तिष्कमा रगत आपूर्ति गर्ने धमनीहरु फुटेर ( ह्मामरेजिक) मस्तिष्कघात हुने गर्छ । मस्तिष्कघात कसलाई कुनबेला हुनसक्छ भन्ने नजरअन्दाज गर्न कठिन पर्छ ।

यद्यपी ५० वर्ष उमेर नाघेका, उच्चरक्तचाप भएका, धुम्रपान र मध्यपान सेवन गर्ने, मधुमेह, उच्च कोलेस्टेरोल, तनावपूर्ण जीवनशैली, मुटु र रक्तसञ्चार सम्बन्धि समस्या, परिवारमा मस्तिष्कघातको समस्या भएका व्यक्तिहरु मस्तिष्कघात हुने उच्च जोखिममा रहेका छन् । शारीरिक सन्तुलन गुम्ने, आँखा धमिलो हुने, अनुहार बांगिने, हतखुट्टा लुलो हुने, बोली लरबराउने समस्या देखिएमा समय खेर नफाली तत्काल अस्पताल पु¥याउन चिकित्सकहरुले सल्लाह दिएका छन् ।

यसरी मस्तिष्कको नसामा रगत जमेर रक्तसञ्चार कम भएमा थ्रोम्बोलाईसिस र इन्डोभास्कुलर विधिबाट बिरामीको उपचार शुरु गर्नुपर्छ । यसरी २४ घण्टाभित्र बिरामी आइपुगेको अवस्थामा मेकानिकल थ्रोम्वेक्टोमीबाट बिरामीलाई जोगाउन सकिन्छ । साथै पक्षघातको दीर्घकालीन असरबाट आंशिक वा पूर्ण रुपमा जोगाउन सकिन्छ ।

विश्व क्यान्सर दिवसमा भक्तपुर क्यान्सर अस्पतालको जनचेतना र क्यान्सर जाँच अभियान
बुधबार, माघ २१, २०८२
विश्व क्यान्सर दिवस २०२६ः फरक पहिचान, साझा लडाइँ
बुधबार, माघ २१, २०८२
बी एन्ड बी अस्पतालमा ‘एकेबी लिम्ब फिटिङ सेन्टर’ उद्घाटन
सोमबार, माघ १२, २०८२

