
जनस्वास्थ्य सरोकार, काठमाडौँ । आयोग गठनको सर्वोपरी उद्देश्य चिकित्सा शिक्षामा गुणस्तरीयता कायम गर्नु हो । साथै सर्वसाधारण विपन्न नागरिकको स्वास्थ्यमा पहुँच पु-याउनु यसको अर्को उद्देश्य जोडिएको छ । बि.सं.२०४७–०४८ सालको जनआन्दोलनपश्चात् मुलुकमा राजनीतिक परिवर्तन भयो । बिस्तारै देशले खुल्ला बजार नीति अपनाउन थाल्यो । औद्योगिक क्षेत्रहरु सँगै मेडिकल शिक्षण संस्थाहरुले पनि खुल्ला बजार नीति अपनाउन थाले । यसक्रममा धेरै मेडिकल कलेज खुले । अस्पतालका शैय्या र जनशक्तिको वृद्धि भयो । बिरामी र मानव साधनश्रोतबीचको अनुपात नजिकिदै गयो । तर प्रायः शिक्षण संस्थाहरु शहर केन्द्रित हुन थाले । जनसंख्या धेरै भएको ठाउँहरुमा मात्र मेडिकल कलेजहरु खुल्न थाले । नेपाल भित्र र नेपालबाहिर अध्ययन गर्नजाने विद्यार्थीहरुको संख्या धेरै ठूलै छ । आर्थिक पक्ष सवल भएका विद्यार्थीहरु आफ्नो इच्छाविपरित पनि घरपरिवारको करकापले डाक्टर पढ्न वाद्य भए भने जेहेन्दार र विपन्न वर्गका जेहेन्दार विद्यार्थी मेडिकल अध्ययनबाट बञ्चित हुनुपर्ने बाद्यात्मक परिस्थिति सृजना भयो ।
देशबाहिर अध्ययन गरेर आएका विद्यार्थीको नेपाल मेडिकल काउन्सिलले लिने डाक्टर लाइसेन्सिङ परीक्षाको उत्तीर्ण प्रतिशत र पर्फामेन्स हेर्दा दिनप्रतिदिन ह्रास आएको देखिन्छ । यसबाट जनताले अपेक्षा गरेअनुसारको उपचार सेवा समय सापेक्ष हुन सकेन ।
हाम्रो देशमा दक्ष जनशक्ति उत्पादन राम्रो भएपनि सेवा वितरण प्रणाली राम्रो भएन । दुर्गम भेगका जनता स्वास्थ्य सेवाको पहुँचबाट बञ्चित हुनुपर्ने बाद्यात्मक अवस्था रह्यो । यसैलाई दृष्टिगत गरी छात्रवृत्तिमार्फत जनतासमक्ष सेवाको पहुँच पुर्याउने आयोगको मुख्य उद्देश्य हो ।
मिहिनेतीलाई अवसर
अहिले सार्वजनिक शिक्षण संस्थाहरुमा छनौट भएका ७५ प्रतिशत जेहेन्दार विद्यार्थीले सरकारी छात्रवृृत्तिमा अध्ययन गर्न पाउँछन् । यसभित्र डाक्टर, नर्स, फार्मासिस्ट लगायत स्वास्थ्य क्षेत्रमा काम गर्ने सबै खालका स्नातक तहका जनशक्ति पर्दछन् । उनीहरुको खर्च सरकारले आयोगमार्फत सम्बन्धित निकायमा उपलब्ध गराइरहेको छ ।
सरकारी छात्रवृत्तिमा अध्ययन गरेका जनशक्तिले एकवर्ष अति दुर्गम र एक वर्ष सुगम ठाउँमा बोन्डमा सेवा दिनुपर्छ । सरकारले आवश्यक ठाउँ हेरेर सेवामा पठाउँछ ।
सरकारी छात्रवृत्ति पाउन के गर्ने ?
सरकारी छात्रवृत्ति प्राप्त गर्न उत्कृष्ट नम्बरका साथ प्रवेश परीक्षा पास गर्नुपर्छ । मेरिटका आधारमा छनौट गरिन्छ । ७५ प्रतिशत छात्रवृत्तिलाई शत्प्रतिशत मानेर त्यसको ४५ प्रतिशत जनजाति, दलित, मुस्लिम लगायतलाई प्रतिस्पर्धाका आधारमा आरक्षण सिट उपलब्ध गराइएको छ ।
सार्वजनिक शिक्षण संस्थाहरुमा स्नातकोत्तर तहको पढाइ पनि निःशुल्क हुने गरेको छ । यस वर्ष राज्यले चिकित्सा शिक्षा अध्ययनका लागि आयोगमार्फत सरकारी संस्थाहरुलाई ७५ करोड उपलब्ध गराएको छ । गत वर्ष ४० करोड रुपियाँ उपलब्ध गराएको थियो ।
बेथितीको अन्त्य
विगतमा मेरिटलाई मिचेर तल्लो लेवलको मेरिटमा वटम लाइन भएका व्यक्तिहरुले बढी पैसा तिरेर कलेजमा सोझै भर्ना हुने परिपाटीको अन्त्य भएको छ । आयोगले शुरु गरेको कमन इन्ट्रान्सका कारण सो समस्या अन्त्य भएको हो । मेरिटबाहेक भर्ना हुन सक्ने सम्भावना छैन । मेरिटको आधारमा राम्रो नतिजा ल्याउने विद्यार्थीमात्र भर्ना हुन सक्ने स्थिति सिर्जना भएकाले चिकित्सा शिक्षामा देखिएको बेथितीको अन्त्य भएको छ ।
पारदर्शी भर्ना
यसरी कमन इन्ट्रान्स लिएपछि मेरिटको आधारमा म्याचिङ सिस्टम अन्तर्गत विद्यार्थीको चाहना अनुसार सम्बन्धित कलेजमा भर्ना गर्न विश्व विद्यालयमा पठाइन्छ । मेरिटको आधारमा विश्वविद्यालयले कलेज सिफारिस गर्छ । अध्ययन गर्न नगएसम्म कलेजसँग विद्यार्थीको सोझै सम्बन्ध हुँदैन । यसरी -याङ्कको आधारमा विद्यार्थी छनौट हुने भएकाले भर्ना प्रक्रिया एकदमै पारदर्शी छ ।
कसरी बुझाउने शुल्क
अब कलेजले सोझै शुल्क लिन पाउँदैनन् । आयोगले तोकेको एक तिहाइ शुल्क विश्वविद्यालयमा बुझाएर विद्यार्थी भर्ना हुनसक्छ र भर्नाको प्रक्रिया सकेर अध्ययन शुरु भएपछि विद्यार्थीले बुझाएको शुल्क सम्बन्धित कलेजमा पठाइन्छ । विद्यार्थीले बुझाउन बाँकी दुई भाग शुल्क अध्ययन गर्न बाँकी रहेको वर्षको आधारमा प्रतिवर्ष समानुपातिक रुपमा बुझाउनुपर्छ । यसरी शुःल्कबारेको जनगुनासो कानुनी र व्यवहारिक रुपमा अन्त्य भएको छ ।

बढी शुःल्क तिर्नुपर्दैन
चिकित्सा शिक्षाभित्र देखिएको अर्कोे चरम बेथिती ‘शुल्क विवाद’ हो । केही मेडिकल कलेजहरुले विद्यार्थीसँग विभिन्न वहानामा अनियन्त्रित रुपमा शुःल्क उठाउँदै आएका छन् । कलेजले माग गरेको शुःल्क विद्यार्थीले तिर्न नसकेमा अध्ययन गर्न नपाउने अवस्था छ । कतिपय कलेजले चित्त नबुझेर विभिन्न शीर्षकमा बढी शुल्क अशुल्न खोजेका समाचारहरु आएको पाइन्छ । तर कसैलाई पनि आधिकारिक रुपमा आफूखुशी शुल्क माग्ने कानूनी आधार छैन ।
सम्बन्धित शिक्षण संस्थाहरुलाई बढी शुःल्क नलिन पटक पटक सुचनामार्फत सचेत गराएका छौँ । चेतावनी दिएका छौं र कारवाहीका लागि पत्रसमेत पठाएका छौं । अन्तिम पटकको चेतावनीपछि समस्या समाधान भएका छन् । ठूलो कारवाहीमा पुग्नुपरेको छैन ।
म्याचिङ सिस्टम
उत्कृष्ठ नम्बरका आधारमा छनौट हुने प्रक्रिया हो । विद्यार्थीले ल्याएको नम्बरका आधारमा उसले चाहना गरेको कलेजमा निवेदन दिँदा मेरिटका आधारमा कुन नम्बरले सम्बन्धित विषय अध्ययनका लागि भ्याउँछ भन्ने कुरा महत्वपूर्ण हुन्छ । जस्तोः एक र दुई नम्बरमा नाम निकालेको विद्यार्थीमध्ये पहिलो नम्बरमा नाम निकालेकाले प्राथमिकता पाउँछ । दुई नम्बरमा नाम निकालेको व्यक्तिले अर्को सिटमा निवेदन दिनुपर्छ ।
यसवर्षदेखि पर्सेन्टाइल सिस्टम लागू
प्लस टु पास गरेर आएका विद्यार्थी मात्र निवेदनका लागि योग्य हुन्छन् । आयोगको नियममा ५० प्रतिशतलाई मात्र छनौट गर्ने उल्लेख भएपनि धेरै विषयहरुमा ५० प्रतिशत ल्याउने विद्यार्थी कम भए । जस्तोः कुनै विषयमा १ सय जनामा १२—१३ प्रतिशतले मात्र ५० प्रतिशत ल्याएको पनि देखियो । यसलाई दृष्टिगत गरेर प्रश्नपत्र र परीक्षा प्रणालीले प्रभाव पारेको हुनसक्छ भन्ने कुरालाई विश्लेषण गरेर आयोगले स्वतन्त्र अनुसन्धान टिम बनायो ।
अनुसन्धान टिमले विभिन्न अध्ययन गरेर पर्सेन्टाइल सिस्टममा जानुपर्ने सिफारिस ग¥यो । पास भएकामध्येबाट बिद्यार्थी छनौट गरिने भएकाले यो सिस्टमअन्तर्गत विद्यार्थीले धेरै वा थोरै प्रतिशत ल्याएपनि योग्य हुन फरक पर्दैन । सोही अनुरुप यसवर्ष पर्सेन्टटाइल सिस्टम ल्याएका छौँ । यसवर्ष झण्डै आधा भन्दा धेरै विद्यार्थी पास भएका छन् । ३५ हजारमध्ये १८ हजार जना योग्य भएका छन् । स्नातक तहमा आठ हजार सिट रहेका छन् । १८ हजारमध्ये एमबीबीएसमा १ हजार ८ स य ९५, बीएसी नर्सिङमा १ हजार ४ सय ६०, बीडिएसमा ५ सय ६५, बीफार्ममा ८ सय ७० सिट निर्धारण गरिएको छ । बाँकी विद्यार्थीको हकमा पढ्न पाउने नपाउने ग्यारेन्टी हुँदैन ।
विद्यार्थीको रोजाइमा सरकारी शिक्षण संस्था
गतवर्ष कतिपय निजी शिक्षण संस्थाहरुबाट विद्यार्थी नपाएको गुनासो पनि आयो । वास्तवमा पास भएका विद्यार्थीहरुले राम्रा कलेज छानेर भर्ना भए । कुनै विषयमा १२ सय सिट थिए । ६ सय जना पास भए । ती ६ सय विद्यार्थीले कलेज इच्छाअनुसार राम्रा कलेज छानेर पढ्न पाए । विद्यार्थीको छनोटमा सरकारी कलेज पहिलो रोजाइमा पर्छन् । हामीले निजी कलेजमा सिट खाली गराउन खोजेको होइन । विद्यार्थीले कलेज छानेर जान्छन् । सरकारी कलेजमा छात्रबृत्ति हुने भएकाले धेरै प्रतिस्पर्धा हुन्छ । शुल्क तिर्न नसक्ने जेहेन्दार विद्यार्थीहरुले सरकारी कलेज रोज्छन् । नेपालको सन्दर्भमा ‘पैसा तिर्न सक्छु, छात्रबृत्ति लिन्न’ भन्ने मान्छे देखिएका छैनन् ।
चिकित्सा शिक्षामा निजी भन्दा सरकारीमा गुणस्तरीय अध्ययन हुने आम सर्वसाधारणको बुझाइ रहेको छ । यसलाई अझै राम्रो बनाउने कोसिसमा छौँ । सार्वजनिक शिक्षण संस्थाले गुणस्तरीयता कायम गर्नुपर्छ । साथै निजी मेडिकल कलेजले पनि सरकारी कलेजसँग प्रतिस्प्रर्धा गर्न सक्नुपर्छ ।
योग्य भएर पनि सिट नपाएकाहरुले के गर्ने ?
योग्य भएर सिट नपाएका बिद्यार्थीले यदि कसैले सिट छोडे मात्र पढ्न पाउँछन् । अर्को वर्ष पुन परीक्षा दिएर स्कोर अगाडि ल्याएर आफूलाई मन परेको विषय छान्नुपर्छ ।
विद्यार्थी नै सचेत
अहिले विद्यार्थीहरु धेरै नै खुशी छन् । आफ्नो श्रेणीका आधारमा सिट पाएनपाएको छर्लङ्ग देखिने भएकाले दुःखी विद्यार्थी भेटिएको छैन ।
‘जसरी भएपनि मिलाइदिनुस्’ भन्ने कतिपय अभिभावको आग्रहविरुद्ध स्वयं विद्यार्थीले अभिभावकलाई सम्झाएको पाइएको छ । बढी पैसा तिरेर सोर्सफोर्स लगाएर कलेज भर्ना गर्ने प्रवृतिको अन्त्य भएको छ । अभिभावकहरुले पनि बिस्तारै बुझ्दैछन् ।
मिहिनेत गर्नुस्
विद्यार्थीले चाहेमा मिहिनेत गरेर श्रेणी माथि लैजान सक्छ । केही महिना ढिला भएर केही फरक पर्दैन । पढेको कहिल्यै खेर जाँदैन ।
गिँजाको स्वास्थ्यमा नयाँ बहसः काठमाडौंमा अन्तर्राष्ट्रिय पेरियोडेन्टल सम्मेलन
आइतबार, चैत ८, २०८२
सुडानमा स्वास्थ्य संरचनामाथि आक्रमणः ६४ को मृत्यु, मृतकमध्ये १३ बालबालिका
आइतबार, चैत ८, २०८२
योनिमा हुने ब्याक्टेरियाले कसरी स्वास्थ्यमा सुधार ल्याउँछ
आइतबार, फागुन १७, २०८२
ठूला स्तनका कारण महिलाहरूले कस्ता समस्याहरूको सामना गर्छन् ?
शुक्रबार, फागुन १५, २०८२
