
डा. श्यामबाबु यादव २७ वर्षदेखि आयुर्वेद चिकित्सा क्षेत्रमा कार्यरत हुनुहुन्छ । हाल उहाँ नेपाल आयुर्वेद चिकित्सक संघको अध्यक्ष र भर्खरै सिंहदरवार वैद्यखाना विकास समितिको निमित्त कार्यकारी निर्देशकमा नियुक्ति हुनुभएको छ । यस अघि उहाँ आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागमा वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ हुनुहुन्थ्यो । डा. यादव मुलुकमा आयुर्वेद चिकित्साको विकास र विस्तारमा निकै सक्रिय रुपमा लाग्नुभएको छ । उहाँले नै आयुर्वेद चिकित्सा प्रतिष्ठानको अवधारणा ल्याउनुभएको हो । यो अवधारणा कार्यदलको उहाँ संयोजक हुनुहुन्छ । नेपालमा अधिकांश नेपाली आयुर्वेद चिकित्सा उपचार सेवामा नै निर्भर रहेका छन् । आयुर्वेद चिकित्सा पद्धतिप्रति जनविश्वास पनि बढ्दै गएको देखिन्छ । तर आज एलोप्याथिक चिकित्सा पद्धतिको विकाससँगै आयुर्वेद चिकित्सा उपचार सेवा ओझेलमा परेको छ । यसबारे के भन्नुहुन्छ डा. यादव ?
आयुर्वेद चिकित्सा प्रतिष्ठानको अवधारणा किन ल्याउनुभयो ?
नरदेवी आयुर्वेद क्याम्पसको स्नातक तहको डिग्रीलाई भारत सरकारले मान्यता नदिएपछि नेपाली विद्यार्थीहरुले माथिल्लो तहको थप अध्ययन गर्नबाट बञ्चित भए । त्यो बेला भारत र नेपाल सरकारबीच समन्वय गराएर मान्यता दिलाउन भूमिका खेलेको थिएँ । त्यो सफल भयो । अहिले प्रत्येक वर्ष भारतमा उच्च शिक्षा अध्ययनका लागि आयुर्वेदका विद्यार्थीहरु गइरहेका छन् । नेपालमा उच्च शिक्षाको अभाव छ । उच्च शिक्षाको अभाव रहेसम्म आयुर्वेदको विकास र विस्तारमा अवरोध हुन्छ । विद्यार्थीले स्नातक पढेपछि उसले अनुसन्धान गर्न खोज्छ । यसका लागि शिक्षा नै विकासको जड हो भनेर उत्पादित जनशक्तिलाई पठनपाठनको व्यवस्था मिलाउने र अनुसन्धानको मार्ग खोल्न प्रतिष्ठानको अवधारणा ल्याइएको हो ।
स्वास्थ्य मन्त्रालयले २०६६/२०६७ सालमा नै राष्ट्रिय आयुर्वेद प्रतिष्ठानको स्थापना गर्नुपर्छ भनेर सैद्धान्तिक स्वीकृति गरेर काम अगाडि बढाएको थियो । त्यसपछि राष्ट्रिय आयुर्वेद अनुन्धान केन्द्रको निर्देशकका रूपमा मैले नै पहल थालेको थिएँ । विविध कारणले आयुर्वेद चिकित्सा प्रतिष्ठान अगाडि बढ्न सकेन । एक दशकपछि उक्त पहलले सार्थकता त पायो तर मात्रै दुई सीट मात्रका लागि । यो जनशक्तिले नेपालको माग सम्बोधन गर्न सक्दैन ।
अहिले नेपालमा सरकारको नीति हरेक अस्पताललाई प्रतिष्ठानका रुपमा विकास गर्दै लैजाने रहेको अवस्थामा हाम्रो आयुर्वेदलाई पनि अगाडि बढाउने मौका मिल्यो । २०७८ सालमा मेरै संयोजकत्वमा एउटा कार्यदल गठन गरियो । संयोजकका रूपमा मैले सरकारलाई अवधारणा पत्र पेश गरेँ ।
भविष्यमा योगमाया विश्वविद्यालय खुल्दैछ । यो विश्वविद्यालय र हाम्रो आयुर्वेद केन्द्रीय अस्पताललाई पनि चाहिने जनशक्तिहरू उत्पादनका लागि उच्च तह (आयुर्वेदमा स्नातकोत्तर) को पढाई हुनु आवश्यक छ । राष्ट्रिय सभाबाट आयुर्वेद केन्द्रीय विश्वविद्यालय खोल्ने विधेयक पास भइसकेको छ । अहिले सो विधेयक प्रतिनिधि सभामा अल्झिराखेको छ । आशा गरौँ निकट भविष्यमा त्यो पनि अघि बढ्नेछ । कानून आएपछि आवश्यक जनशक्ति उत्पादनका लागि बाटो खुल्ने विश्वास छ ।
सरकारले १०० शैयाभन्दा माथिका अस्पतालहरू बढाउने नीति अख्तियार गरेको छ । यसका लागि पनि यो अवधारणा महत्वपूर्ण छ ।
बुढानिलकण्ठमा योग तथा पञ्चकर्म सेन्टर बनाउन भवन बनिरहेको छ । यसको व्यवस्थापनका लागि पनि थप जनशक्ति आवश्यक पर्छ । राष्ट्रिय अनुसन्धान तथा तालीम केन्द्र र सिंहदरबार वैद्यखानालाई चाहिने जनशक्तिका लागि स्वास्थ्य मन्त्रालयले भर्खरै आवश्यक जनशक्तिको प्रक्षेपण गरेको छ । त्यो प्रक्षेपणले आयुर्वेदका लागि थप करिब ४०० भन्दा बढी दक्ष जनशक्ति आवश्यक देखिन्छ । तर सरकारले व्यवस्था गरेको दुईवटा सीट नगन्य छ । त्यसैले अत्यधिक जनशक्ति उत्पादन अहिलेको आवश्यकता हो ।
हामीसँग प्रतिष्ठानका लागि आवश्यक भौतिक पूर्वाधार छन् । प्रतिष्ठान सञ्चालन गर्न अहिलेको जनशक्तिले नै पुग्छ । माग अनुसार जनशक्ति उत्पादन गर्न प्रतिष्ठान आवश्यक छ । त्यसैले मैले प्रक्रिया अगाडि बढाएको हुँ । संघको अध्यक्ष निर्वाचित भएपछि मेरो पहिलो कदम नै त्यही हो । प्रतिष्ठान स्थापना गर्न सैद्धान्तिक स्वीकृतिका लागि सरकारले मन्त्री परिषद्मा प्रस्ताव लगेको छ ।
आयुर्वेद चिकित्सा किन ओझेल परेको हो ?
सबै चिकित्सा विज्ञानको जननी नै आयुर्वेद हो । आयु भनेको जीवन हो र वेद भनेको विज्ञान । हाम्रा छिमेकी राष्ट्रहरू चीन, भारत, श्रीलङ्कालगायतका मुलुकले राष्ट्रिय चिकित्सा पद्धतिलाई विशेष महत्वका साथ अगाडि बढाएका छन् । उनीहरूले आफ्नो परम्परागत चिकित्सा पद्धतिलाई थप अनुसन्धान गरी अघि बढाएको पाइन्छ । ती मुलुकले छुट्टै मन्त्रालय नै बनाएर आयुर्वेद प्रवद्र्धनमा काम गरेको देख्न सकिन्छ । तर हाम्रो देशको स्वास्थ्य नीतिमा आयुर्वेदको विकास प्राथमिकतामा राखिएको छैन ।
अहिले छुट्टै मन्त्रालयको गठन सम्भव नभए पनि महाशाखाको गठन आवश्यक छ । मौजुदा रहेका अस्पतालको स्तर उन्नति गरेर आयुर्वेदलाई जनस्तरमा विस्तार गर्न सकिन्थ्यो ।
आयुर्वेदको विकासलाई राज्यले कसरी हेरेको पाउनुभएको छ ?
सरकारले पहिलेभन्दा महत्व नदिएको त होइन । तर जति महत्व दिनुपर्ने थियो त्यो भने देखिदैन । स्वास्थ्य मन्त्रालयमा भएका कतिपय दरबन्दी कटौति भएका छन् । सवभन्दा माथिल्लो एघारौँ तहको एक मात्र दरबन्दी पनि काटिएको छ । आयुर्वेद महाशाखा हुनुपर्नेमा शाखामा झारिएको छ । यस्ता नीतिगत अस्पष्टताले आयुर्वेदको विकासलाई कम आँकिएको हो कि भन्ने लाग्न सक्छ । मन्त्रालयमा यसको नियमनका लागि महाशाखा हुनु पर्नेमा त्यो छैन । स्वास्थ्य मन्त्रालयले एलोप्याथिक चिकित्सालाई पहिलो प्राथमिकतामा राखेको छ भने आयुर्वेदलाई दोस्रो स्थानमा ।
घर घरमा योग आयुर्वेदको प्रवद्र्धन गर्न कस्तो कार्यक्रम आवश्यक होला ?
आयुर्वेदको प्रयोग शहरी क्षेत्रको तुलनामा गाउँमा बढी छ । घरघरमा आयुर्वेद पु¥याउन प्रत्येक व्यक्तिलाई योग र आयुर्वेदको ज्ञान दिन नागरिक आरोग्य कार्यक्रम सञ्चालन गर्न आवश्यक छ । मेरै संयोजकत्वमा निर्देशिका बनेर जारी भएको छ । निर्देशिका अनुसार हामी संघमा संघीय नागरिक आरोग्य कार्यक्रम समिति गठन गरेका छौँ । प्रदेशमा प्रदेश नागरिक आरोग्य कार्यक्रम समिति छ
। जिल्लामा जिल्ला आयुर्वेद नागरिक आरोग्य कार्यक्रम छ । पालिका र वार्डसम्म पनि सोही अनुरुपका समिति गठन गरिएका छन् । केन्द्रदेखि स्थानीय तह हुँदै समूहमा योग, ध्यान, व्यायाम र आयुर्वेद शिक्षाको प्रचारप्रसार गर्न एउटा मार्गचित्र तयार गरेर सरकारलाई दिइसकेका छौँ । सरकारले सो मार्गचित्र अनुसार आयुर्वेद केन्द्र नभएको स्थानमा नागरिक आरोग्य सेवा केन्द पु-याइराखेको छ ।
७५३ स्थानीय तहमध्ये हाम्रो स्वास्थ्य संस्था करिब २५० स्थानमा मात्र पुगेको छ । बाँकी स्थानीय तहमा नागरिक आरोग्य सेवा केन्द्रमार्फत् सेवा पु¥याइरहेको छ । नागरिक सेवा केन्द्र प्रत्येक वडासम्म पु-याउन सक्नुपर्छ । यसो गर्न सकिए मात्र हाम्रो जनशक्तिले योग, ध्यान, व्यायाम, औषधि, आयुर्वेदको बारेमा आवश्यक ज्ञान प्राप्त गरी शारीरिक र मानसिक रोगमुक्त स्वास्थ्य नागरिक बनाउन सघाउ पुग्छ । यसै बर्षदेखि विभागले प्रत्येक प्रदेशमा खुला व्यायामशाला निर्माण गर्न लागेको छ । यसलाई व्यायाम (जिम) गर्ने एक आकर्षक केन्द्र बनाउनुपर्छ । यसमा सबैको रूची र चासोको आवश्यकता छ ।
यसैगरी सरकारले सातै प्रदेशमा प्रादेशिक आयुर्वेद अस्पताल निर्माण गर्ने भएको छ । प्रत्येक प्रदेशमा न्यूनतम १०० शैयाको अस्पताल स्थापना गर्नुपर्नेछ । अहिलेसम्म दाङ र काठमाडौमा गरी जम्मा दुई अस्पताल रहेका छन् । यसै बर्षदेखि झापाको लखनपुरमा एउटा अस्पताल सञ्चालन हुने अवस्थामा छ भने धनगढीमा करिब एक बर्षदेखि अस्पताल सञ्चालनमा आएको छ ।
आवश्यकताका आधारमा प्रत्येक प्रदेशमा प्रादेशिक अस्पताल खोलिनुपर्छ । अहिले रहेका जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रलाई आयुर्वेद अस्पतालमा विस्तार गर्नुपर्छ । आयुर्वेदको अस्पताल अहिले शैयाबिहीन छ । त्यसैले मौजुदा स्वास्थ्य केन्द्रलाई अस्पतालमा परिणत गरेर सेवा दिनुपर्छ । जबसम्म हामीले स्वास्थ्य सेवा केन्द्रलाई टोलटोलसम्म पु¥याउन सक्दैनौँ तबसम्म स्वस्थ्य जीवनयापन गर्न असम्भव हुनेछ ।
स्वास्थ्य भनेको शारीरिक मात्र नभई मानसिक स्वास्थ्य पनि हो भन्ने सबैले बुझ्नु जरुरी छ । मानसिक स्वास्थ्यको लागि आयुर्वेदको ठूलो भूमिका छ । नसर्ने रोगका लागि पनि आयुर्वेद र योगको भूमिका रहने भएका कारण सर्वसाधारणसम्म त्यो पहुँच पु¥याउन सकियो भने आयुर्वेद चिकित्सा सेवाको उदेश्य अवश्य नै पुरा हुने विश्वास लिएको छु ।
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३
