
एडिनो भाइरसबाट नवजात शिशु र साना बालबालिका बढी पीडित भएका छन् । ६० महिनाभन्दा कम उमेरका ९० प्रतिशत बालबालिकाहरुलाई एडिनो भाइरसले असर गरेको पाइएको छ । एडिनो भाइरसहरू सामान्य कीटाणुनाशकविरुद्ध प्रतिरोधी हुन्छन् । यी भाइरस जमिन, पोखरी र तालको पानीमा लामो समयसम्म रहन सक्छन् ।
एडिनो भाइरस सन् १९५३ मा पत्ता लागेको थियो । त्यो बेलादेखि नै यो संक्रमण गर्न सक्ने भाइरसको रुपमा चिनिन्छ ।
एडिनो भाइरसले लक्षणसहित निम्न प्रकारका स्वास्थ समस्या निम्त्याउन सक्छ ।
लक्षण
एडिनो भाइरस संक्रमण भएका व्यक्तिहरुमा ज्वरो, खोकी, रुघा, फ्लू जस्तो लक्षण, घाँटी दुख्ने र आँखा रातो हुने गर्छ जुन साधाहरणतया ३ देखि ५ दिनसम्म रहनसक्छ ।
कहिलेकाहीँ एडिनो भाइरस संक्रमणले लामो समयसम्म १०४ देखि १०५ फरेनहाइट ज्वरोको समस्या हुनसक्छ ।
तल्लो श्वासप्रश्वास नलीमा धेरै कम असर गर्छ ।
रुघाखोकीका साथै पखाला लाग्ने, पेट दुख्ने, बान्ता आउने र पिसाबमा रगत जाने (हेमेटुरिया) समेत हुनसक्छ ।
आँखा रातो हुने, पाक्ने (केराटोकन्जेक्टिभाइटिस) सँग जोडिएका सेरोटाइपहरूमा, ८, १९, ३७, ५३ र ५४ हुन्छन् । त्यस्तै सामान्यतया श्वासप्रश्वाससम्बन्धी रोगहरू ३, ४ र ७ सेरोटाइपहरूको कारणले हुन्छन् । बालबालिकाहरूमा हुने इन्टरिक (झाडा बान्ता गराउने) एडेनोभाइरसहरू मुख्यतया ४०/४१ सेरोटाइपहरू हुन्छन् ।
हालका केहि अध्ययनमा अनुसन्धानकर्ताहरूले विशेषगरी १६ वर्ष मुनिका बालबालिकाहरूमा एडिनोभाइरस र सार्स—कोभ—२ अज्ञात उत्पत्तिको गम्भीर हेपाटाइटिसका कारण हुनसक्ने अनुमान गरेका छन् ।
एडिनो भाइरसले हल्कादेखि गम्भीर रोग निम्त्याउन सक्छ । तर गम्भीर हुने सम्भवना धेरै नै कम हुन्छ । रोगविरुद्ध कमजोर प्रतिरक्षा प्रणाली भएका व्यक्ति, दीर्घ श्वासप्रश्वास र मुटुसम्बन्धि रोग भएकाहरुलाई एडिनो भाइरस संक्रमणको उच्च जोखिम हुन्छ ।
संक्रमण कसरी हुन्छ ?
एडिनो भाइरस सामान्यतया एक संक्रमित व्यक्तिबाट अरूमा सर्ने गर्दछ ।
छुने वा हात मिलाउनेजस्ता क्रियाकलापबाट नजिकको व्यक्तिसँग सम्पर्कमा आउँदा सर्नसक्छ । खोक्दा र हाछ्युँ गर्दा सर्नसक्छ ।
कुनै वस्तु वा सतहमा रहेको एडिनो भाइरस छोएर हात धुनुअघि आफ्नो मुख, नाक वा आँखा छोएमा संक्रमण हुनसक्छ । केही एडिनो भाइरसहरू डायपर परिवर्तन गर्दा संक्रमित व्यक्तिको दिसाबाट पनि फैलिन सक्छन् । पोखरीमा सँगै पौडी खेल्दा पनि एडिनो भाइरस पानीमार्फत फैलिन सक्छ ।
रोकथाम र उपचार
केही सरल उपायहरू पछ्याएर आफूलाई र अरूलाई एडिनो भाइरसलगायत अन्य श्वासप्रश्वाससम्बन्धी रोगहरूबाट जोगाउन सकिन्छ । यसका लागि कम्तिमा २० सेकेन्डसम्म राम्रोसँग साबुन र पानीले हात धुनुपर्छ । सफा नभएको हातले जथाभावी आँखा, नाक वा मुख छुन हुँदैन । बिरामी भएका व्यक्तिहरुको सम्पर्कबाट टाढा बस्नुपर्छ ।
यदि तपाइ र तपाइको बालबालिका बिरामी भएमा अरूलाई बचाउन मद्धत गर्न सक्नुहुन्छ । जस्तैः
बिरामी हुँदा घरमै बस्नुहोस् ।
खोकी र हाँछ्यू गर्दा खुला हातमा नभई टिस्यु वा रुमालको प्रयोग गर्नुपर्छ ।
खानेकुरा र भाँडाकुँडाहरू साझा रूपमा प्रयोग गर्न हुँदैन ।
अरूलाई चुम्बन गर्न हुँदैन ।
विशेषगरी बाथरूम प्रयोग गरेपछिसाबुन र पानीले कम्तिमा २० सेकेन्डसम्म हात धुनुपर्छ ।
महत्वपूर्ण जानकारी
एडिनोभाइरसको कारणले हुने कन्जक्टिभाइटिसको प्रकोप रोक्न पौडी पोखरीमा क्लोरिनको पर्याप्त मात्रा राख्न जरुरी हुन्छ ।

उपचार
एडिनोभाइरसको कुनै विशेष उपचार छैन । धेरैजसो एडिनोभाइरस संक्रमणहरू सामान्य हुन्छन् र लक्षणहरू कम गर्न चिकित्सकको सल्लाहमा दुखाइ र ज्वरो कम गर्ने औषधिहरू प्रयोग गर्नुपर्छ ।
प्रशस्त पानीलगायत झोलिलो खानेकुरा खानुपर्छ र आरामको जरुरत पर्छ । आफूलाई जटिल भएको महसुस भएमा चिकित्सकलाई देखाउन ढिला गर्न हुँदैन ।
औषधिहरू प्रयोग गर्नअघि सधै लेबल पढ्ने र निर्देशनअनुसार औषधि प्रयोग गर्नुपर्दछ ।
एडिनोभाइरस संक्रमण रोक्न स्वीकृत एन्टिभाइरल औषधिहरू छैनन् ।
एन्टिबायोटिकको गलत प्रयोग
एडिनोभाइरस संक्रमण र ब्याक्टेरियल संक्रमणसँग झुक्किन सकिन्छ । रगत जाँचमा ल्युकोसाइटोसिस र न्युट्रोफिलियाका कारणपनि ब्याक्टेरियल संक्रमणहरूसँग झुक्किन सकिन्छ । उच्च ज्वरो पनि अन्य भाइरल कारणहरूको तुलनामा लामो समयसम्म रहन सक्छ ।
एडिनोभाइरस संक्रमण भएका बच्चाहरूलाई प्रायः ब्याक्टेरिया संक्रमणको शंकामा एन्टिबायोटिकको प्रयोग गरिन्छ जुन विशेष अवस्था (सँगै ब्याक्टेरियल संक्रमण) बाहेक अरु बेलामा दिन हुँदैन ।
( डा. गौतम नेशनल अस्थमा एलर्जी सेन्टर, लाजिम्पाटमा कार्यरत हुनुहुन्छ । उहाँ पेडियाट्रिक अस्थमा एलर्जी इम्युनोलोजी प्राक्टिसनर्स सोसाइटी अफ नेपाल (प्याइप्सन) को अध्यक्ष र लाइन्स क्लव अफ काठमाडौं रेडिएन्सको अध्यक्ष हुनुहुन्छ ।)
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३
