जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा दक्ष जनशक्ति र जनचेताको कमी एवं सरकारको प्राथमिकताको अभावका कारण बाथरोग जटिल बन्दै गएको पाइन्छ । वाथ सयौं प्रकारका हुने भएपनि विशेषगरी नेपालमा गठिया, मेरुदण्ड, युरिक एसिड, हड्डी खिइने र मांशपेशीको वाथ धेरैमा देखिने गरेको पाइन्छ । नेपालमा बाथरोगीको एकिन तथ्यांक त छैन । तर विश्वको कुल जनसंख्याको १० प्रतिशत मानिसलाई बाथ रोग हुने गरेको विश्व स्वास्थ्य संगठनले बताएको छ । यसैको आधारमा देशमा करिब ३० लाखजति कुनै न कुनै बाथरोगी रहेको अनुमान गरिएको छ । तर, तीमध्ये करिब १५ प्रतिशत मात्रै उपचारको पहुँचमा पुग्ने गरेको चिकित्सकहरु बताउँछन् । ठूलो संख्यामा रहेका बाथरोगका बिरामी उपचारको पहुँचमा पुग्न सकेका छैनन् । यसै सन्दर्भमा बाथरोगबारे सचेत र सहज रहन नेशनल बाथरोग सेन्टरमा कार्यरत चिकित्सकहरु यसो भन्छन् ।
बाथले नशामा असर

हड्डी, नशा र मांशपेशीले शरीरको बनोट निर्धारण हुने भएकाले बाथका अधिकांश बिरामीहरुमा हड्डी खिइने, नशा च्यापिने र मेरुदण्डको समस्या हुने गर्छ । प्रायः सबैखाले बाथरोगले हड्डी, नशा र मांशपेशीलाई नै असर पु¥याउँछन् । चिकित्सकीय भाषामा यसलाई ‘कोल्याजन टिस्यु डिजिज’ भनिन्छ ।
विशेषगरी -युमाटोइड आर्थराइटिसका बिरामीहरु बढी नशा सम्बन्धी समस्या लिएर आउने गरेका हुन्छन् । यस्ता बिरामीहरुमा नशा च्यापिने, हात खुट्टा झमझम गर्ने, नशा सुकेका कारण पोल्ने र सियोले घोचेजस्तो लक्षण देखिन्छ । लुपस बाथले पनि सिधै नशालाई असर पु-याउँछ ।
लुपस बाथका कतिपय बिरामीहरुमा नशा ब्लक, हात खुट्टा नचल्ने र प्यारालाइसिसमेत हुनसक्छ । उपचारको पहुँचमा आएका अधिकांश बाथ रोगीहरुमा ‘पेरिफेरल न्युरोप्याथी’को समस्या देखिएको छ । पेरिफेरल न्यूरोप्याथी तब विकसित हुन्छ जब शरीरको खुट्टा, हात र पाखुरा जस्ता अंगका नसाहरू क्षतिग्रस्त हुन्छन् ।
लक्षणहरुका आधारमा कुन नसा प्रभावित छ भन्ने निर्भर गर्दछ । कतिपय बिरामीहरु दिमागको नशामा असर भई साइक्याट्रिक लक्षण लिएर आउँछन् । कतिको एउटा खुट्टा नचल्ने, टाउको दुख्नेजस्ता समस्या हुने गरेको पाइन्छ । बाथ रोगीहरुमा उपचारसम्म आइपुगेका करिब ५० प्रतिशतलाई नशा सम्बन्धी समस्या भइसकेको पाइन्छ । त्यसैले बाथ र नशाको सँगसँगै उपचार गर्न जरुरी हुन्छ ।
विभिन्न स्क्रिनिङ टेस्टबाट प्रारम्भिक चरणको बाथ पहिचान गर्न सकिन्छ । आरए, सिआरपी पोजेटिभ आएका व्यक्तिको बाथ परिपक्क भए नभएको एकिन गर्नुपर्छ । बाथको स्क्रिनिङ टेस्टबाट -युमाटोइड आर्थराइटिस, न्युरो मस्कुलर डिजिज, मांशपेशीका वाथ पहिले नै पत्ता लगाई न्युनिकरण गर्न सकिन्छ ।
बुवाआमालाई बाथ रोग भएमा छोराछोरीले स्क्रिनिङ जाँच गरेर निकट भविष्यमा हुनसक्ने संभावित जोखिमबाट जोगिन सावधानी अपनाउन सकिन्छ । प्रारम्भिक चरणमा पत्ता लागेको बाथरोगमा चिकित्सकको सल्लाह र निगरानीमा जीवनशैली परिवर्तन, फिजियोथेरापी, कम डोजको औषधि प्रयोग गरेर नियन्त्रण गर्न सकिन्छ ।
औषधिको साइड इफेक्टले डराउनुपर्दैन

स्वास्थ्य परीक्षण गर्न आउने अधिकांश बिरामीहरुमा जोर्नी, जीउ, मांशपेशी दुखाई र नशा सम्बन्धी समस्या देखिएको छ । बेलाबेलामा गरिने बाथ रोगसम्बन्धि शिविरमा ‘ब्लड टेस्ट’ र ‘कन्सल्टेसन’ शुल्क निशुल्क गरेर बाथ पहिचान गरी उपचारमा सहयोग गर्दै आएका छौं । क्लिनिकल परीक्षणबाट बाथ पत्ता लगाउन सकिन्छ भने रगत जाँचले बाथ रोग निदान गर्न मद्धत गर्छ ।
सिआरपी, आरएफ, युरिक एसिड लगायतका स्क्रिनिङ परीक्षणबाट बाथ भए नभएको एकिन गर्नुका साथै बाथको किसिम, कडापन, अल्पकालीन र दीर्घकालीन समस्याबारे पनि थाहा पाउन जरुरी हुन्छ । बाथ रोग पुरानो भइसकेको अवस्थामा जीवनभर औषधि सेवन गर्नुपर्छ । तर प्रारम्भिक चरणमा पहिचान भएमा औषधोपचार गरेर नियन्त्रणमा राख्न सकिन्छ । साथै औषधि बन्द पनि गर्न सकिन्छ ।
औषधिको धेरथोर साइड इफेक्ट भएपनि डराइहाल्नु पर्दैन । हरेक तीन महिनामा रगत जाँच गरेर हेमोग्लोबिन, डब्लुबिसी, एलएफटी, आरएफटी, लिभर, किड्नी, बाथको मात्रा हेर्ने जाँच गरिन्छ । यसले औषधिको साइडइफेक्ट, भित्री अंगमा असरबारे पहिचान हुन्छ । कुनै साइडइफेक्ट देखिएमा उपचार उपलब्छ छ । डाक्टरको निगरानी, नियमित औषधि सेवन, सन्तुलित खानपान, नियमित शारीरिक अभ्यासले बाथरोगीको आयु सामान्य व्यक्ति सरह राख्न मद्धत गर्छ ।
डाक्टरको सल्लाहबिना औषधि नछोड्नुस्

आम सर्वसाधारणमा जोर्नी दुखाई भन्ने बित्तिकै यूरिक एसिड बाथ भन्ने बुझाइ रहेको पाइन्छ । धेरैजसो बाथरोगी घुँडा, हातखुट्टाको दुखाई लिएर आउने गरेका छन् । कसैकसैमा खटिरा र कपाल झर्ने जस्ता लक्षण पनि पाइएको छ । प्रायः २० देखि ४० वर्ष उमेर समूहका महिलाहरुमा गठिया बाथ हुने गरेको पाइन्छ । लुपस बाथ पनि महिलालाई नै बढी देखिएको छ । त्यसैगरी वयस्क पुरुषहरुमा ढाडको बाथ हुने गर्दछ ।
कतिपय बाथरोगीहरुले समस्या कम हुन थालेपछि औषधि सेवन छाड्ने गरेको पाइन्छ । यसले पुनः बाथ बल्झिएर अझ समस्या निम्त्याएको पाएका छौं । त्यसैले सबै बाथ निर्मूल नहुने भएकाले न्युनतम मात्राको औषधिको डोजबाट भएपनि नियन्त्रणमा राख्न जरुरी हुन्छ ।
सबै प्रकारका बाथ एकै खालका नहुने भएकाले चिकित्सकको सल्लाहमा औषधिको मात्रा घटबढ बनाउन सकिन्छ तर औषधि छोड्न मिल्दैन ।
शारीरिक वजन नियन्त्रणमा राख्नुपर्छ

खासगरी ५० वर्ष उमेर माथिका धेरै व्यक्तिमा घुँडा दुख्ने समस्या देखिएको छ । उनीहरुमा मेकानिकल दुखाइ हुन्छ जसमा सिढी चढ्दा, उठबस गर्दा गाह्रो हुने गर्दछ । यो ओस्टियो आर्थराइटिस बाथ पनि हुनसक्छ । त्यस्तै महिलाहरुमा गठिया बाथ, बालबालिकामा जीआईए बाथ र वयस्कलाई यूरिक एसिड बाथ बढी पाइन्छ ।
गठिया बाथ भएका महिलाहरुको हात गोडाका साना–ठूला जोर्नी दुख्ने, सुन्निने, अरठ्ठ हुने जस्ता लक्षण देखिन्छन् । समस्या पुरानो हुँदै जाँदा कतिपयको हातखुट्टा बाँगो समेत हुने गरेको छ ।
यूरिक एसिड बाथ भएकाहरुले खानपान र जीवनशैलीमा विशेष ध्यान दिनुपर्छ । शारीरिक व्यायाम गर्नुपर्छ । रातो मासु गुलियो खानेकुरा, धुम्रपान मद्यपान गर्न हुँदैन । तर अन्य बाथरोगमा सबै खानेकुरा खान मिल्छ । बाथरोग बल्झाउने खानेकुरा कम गर्नुपर्छ ।
ओस्टियो आर्थराइटिसका बिरामीहरुले शारीरिक वजन नियन्त्रणमा राख्नुपर्छ । युरोपियन देशहरुमा गरिएको एक अध्ययनमा १० प्रतिशत तौल घटाउन सकेमा ५० प्रतिशतसम्म दुखाइ कम हुने देखिएको छ ।
बाथरोगको लक्षण थाहा पाउनुस्

विशेषगरी वंशाणुगत वाथरोगीहरु उपचारका लागि आउने गरेको धेरै पाइन्छ । खासगरी चिसो, अस्वस्थ्यकर जीवनशैली, मोटोपना, शारीरक अभ्यासको कमी र अस्वस्थक खानपानले बाथ रोग बढाइएको छ । बाथ रोग बारे धेरै मानिसको गलत बुझाइ छ । कतिपयले बाथलाई युरिक एसिड भन्ने बुझ्दछन् । खानेकुरा बार्छन् र कतिले त दुखाई कम गर्न स्टेरोइडको धुलो प्रयोग गरेको पाइन्छ । बाथरोगका लक्षणबारे ज्ञान हुन जरुरी छ ।
प्रायः महिलालाई गठियाबाथ र वयस्क पुरुषलाई मेरुदण्डको बाथ हुने गरेको छ । त्यसैगरी महिलाहरुमा बढी हुने लुपस बाथले गर्भ खेर जाने समस्या निम्त्याउन सक्छ । त्यसैले यसप्रति सजग र सचेत रहन आवश्यक देखिन्छ ।
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

