
७७–७८सालको कोभिड युगमा धेरै किसिमका क्यान्सरका बिरामी र क्यान्सर विजेताहरु सँग भेट्ने मौका पाएँ । सायद नेपाल–भारत सिमाना बन्द भएर होला फलोअपका लागि छिमेकी देश भारत जान नसकेर बिरामीहरू पूर्वाञ्चल क्यान्सर हस्पिटलमा आउनुहुन्थ्यो । त्यो बेला म यो हस्पिटलमा काम गर्दथेँ । यहाँ प्रायजस्तो बिरामीहरू बाहिरबाटै बायोप्सी रिपोर्ट लिएर एकचोटि रिपिट बायोप्सी गर्न आउनुहुन्थ्यो । कोही वायोप्सीको ब्लक लिएर आउनुहुन्थ्यो । कोभिडका कारण उहाँहरु भरतपुर र काठमाडौंमा पनि जान सक्ने अवस्था थिएन ।
एकजना ५० वर्षको आमाको पेटमा एउटा गानो निक्लेको रहेछ । उहाँले ४ महिनादेखि पटुकी बाँधेर बसेको पाएँ । उहाँको छोरी र छिमेकीले अस्पताल ल्याइपुर्याउँदा डिम्बासयमा ठूलो सिस्ट पलाएको डायग्नोसिस भयो । त्यसपछि उहाँको सफल शल्यक्रिया भयो र खुशीसाथ घर फर्कनुभयो । यसरी सुरुवाती चरणमा पाठेघरको मुखको क्यान्सर लिएर आउने महिलाको सफलतापूर्वक शल्यक्रिया गरियो भने अन्तिम चरणमा आउनेहरूको रेडिएसन थेरापीबाट सेक्ने प्रक्रियाहरू पनि गरियो ।
वास्तवमा महिला दिदीबहिनीहरुले समस्या हुँदाहुँदै पनि लाज मानेर घरको नजिकको मान्छेलाई नभनी रोग लुकाएर राख्ने र समस्या बढेर लुकाउन नै नमिल्ने भएपछि बल्ल अस्पताल आउने गरेको पाएँ ।
वास्तवमा अस्वस्थ्यकर जीवनशैली, खानपान, वातावरणमा आएको परिवर्तन, विषादियुक्त खाद्यान्नको सेवन, वंशाणुगतलगायत विभिन्न कारण क्यान्सर महामारी झैं फैलिरहेको छ ।
प्रायः सबै पाठेघरको मुखको क्यान्सरका घटनाहरु (९९%) उच्च जोखिममा रहेका मानव प्यापिलोमा भाइरस (एचपिभी) को संक्रमणसँग जोडिएको विश्व स्वास्थ्य संगठनले उल्लेख गरेको छ, जुन यौन सम्पर्कबाट सर्ने अत्यन्त सामान्य भाइरस हो ।

पाठेघरको मुखको क्यान्सर महिलाको योनिबाट पाठेघरको प्रवेशद्वारमा विकसित हुन्छ । ह्युमन प्यापिलोमा भाइरसको धेरै प्रकारमध्ये १६ र १८ ले क्यान्सर गराउने उच्च जोखिम हुन्छ ।
पाठेघरको मुखको क्यान्सर विश्वव्यापी धेरैलाई हुने चौथो क्यान्सरमा पर्दछ । विश्व स्वास्थ्य संगठनका अनुसार, सन् २०२० मा अनुमानित सर्भाइकल क्यान्सरको ६ लाख ४ हजार नयाँ केसहरु थिए भने ३ लाख ४२ हजारको मृत्यु भएको छ । तथ्याङ्क अनुसार १६८ महिलामध्ये १ जनामा आफ्नो जीवनकालमा पाठेघरको मुखको क्यान्सर हुनसक्ने अनुमान गरिएको छ । नेपालमा स्तन र फोक्सोपछिको धेरैलाई हुने तेस्रो सर्भाइकल क्यान्सर हो । अहिले यो रोग विरुद्ध लगभग धेरैजनामा सतर्कता आउन थालेको छ र बर्सेनी जाँच गर्न थाल्नुभएको छ ।
पाठेघरको मुखको क्यान्सर रोकथामका ३ चरण हरु छन् ।
प्राथमिक रोकथाम
पाठेघरको मुखको क्यान्सरबाट जोगिन ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) विरुद्धको खोप लगाउन जरुरी छ । यो खोप गार्डासिल—९ भनेर पाइन्छ ।
यो खोप ९–१४ वर्षको बालिकालाई २ डोज लगाउनुपर्छ भने १५ देखि २६ वर्ष उमेर समूहका युवतीहरुलाई ३ डोज लगाउनुपर्छ । अमेरिकन क्यान्सर सोसाइटीका अनुसार २६ वर्ष नाघेपछि यो खोपको त्यति असर हुँदैन ।
बालबालिका र किशोर किशोरीहरुमा चुरोट र सुर्तीजन्य पदार्थको प्रयोग गर्न नहुने शिक्षा दिन जरुरी हुन्छ । उमेर अनुसार यौन शिक्षा दिनुपर्छ । यौन गतिवधिमा संलग्न हुन थालेकाहरुलाई यौन सम्पर्कको समयमा कण्डोम प्रयोगबारे शिक्षा उपलब्ध गराउनुपर्छ । यसले पाठेघरको मुखको क्यान्सरबाट जोगिन मद्धत गर्छ ।

माध्यमिक रोकथाम
पाठेघरको मुखको क्यान्सरबाट जोगिन बेलाबेलामा प्यापस्मियर परीक्षण गर्न जरुरी हुन्छ । २१–२९ उमेरमा प्रत्येक ३ वर्षमा एकपटक प्याप टेष्ट गर्नुपर्छ ।
३०—६५ वर्ष उमेर समूहका महिलाहरुले प्रत्येक ३ वर्षमा प्याप टेष्ट र प्रत्येक ५ वर्षमा गरेमा प्याप र एचपिभी डिएनए परीक्षण गराउन जरुरी हुन्छ ।
तर ६५ वर्ष नाघिसकेका महिलाहरुलाई भने आवश्यकता पर्दैन ।
तृतीय रोकथाम
कुनैपनि चरणको क्यान्सरको उपचारमा शल्यक्रिया, केमोथेरापी, रेडियोथेरापी, प्यालिएटिभ उपचार रहेका छन् ।
(डा. कट्वाल एक दशकदेखि पूर्वी क्षेत्र झापालाई आधार बनाएर स्त्री क्यान्सर रोगको उपचार र शल्यक्रिया गर्दै आउनुभएको छ । विभिन्न अस्पतालहरुबाट सेवा प्रदान गर्दै आउनुभएकी कट्वालको बिर्तामोडमा सुविधासम्पन्न डा. प्रियंका क्लिनिक सञ्चालनमा आउँदैछ । हाल उहाँलाई ९८१९०९०११५ मा कल गरेर भेट्न सकिन्छ ।)
भेरी अस्पतालमा तनाव चुलियो—सुरक्षा नभएसम्म काम नगर्ने चिकित्सकको अडान, सेवा ठप्प
बुधबार, वैशाख १६, २०८३
विदेश उपचारमा ‘भीआईपी सुविधा’ खारेजः सर्वोच्चको ब्रेक
मंगलबार, वैशाख १५, २०८३



