
जनस्वास्थ्य सरोकार, काठमाडौँ । हामीले चिनेका वा माया गर्ने कसैलाई असर नगरेसम्म हेड एण्ड नेक (मुख, नाक र घाँटी) क्यान्सरबारे सोचेको पाइँदैन । तर हेड एण्ड नेक सम्बन्धि विभिन्न प्रकारका क्यान्सरहरू छन् जसलाई शल्यक्रियादेखि रेडियोथेरापी, केमोथेरापी र इम्युनोथेरापीसम्मको उपचार आवश्यक पर्दछ । हेड एण्ड नेक क्यान्सर जिब्रो, टन्सिल, घाँटीको भ्वाइस बक्स, थायराइड, ओठ, गिँजा वा गाला जहाँ पनि हुनसक्छ ।
धुम्रपान गर्नेहरुलाई मुखको क्यान्सर हुने सम्भावना बढी हुन्छ । चाँडो पहिचान गरी उपचार गरेमा यो क्यान्सर निको हुन्छ । त्यसैले मुखभित्र कुनै असामान्य अवस्था देखिएमा जाँच गर्न जरुरी हुन्छ ।
अमेरिकन क्यान्सर सोसाइटीका अनुसार, लामोसमयदेखि अत्यधिक सूर्ति तथा सूर्तिजन्य पदार्थको सेवन गर्ने, अत्यधिक रक्सीको सेवन, मुखको सरसफाइमा ध्यान नदिने, अस्वस्थ्यकर खानपान, मोटोपना आदिका कारण टाउको र घाँटीको क्यान्सरको जोखिम बढाउँछ । इन्टरनेशनल एजेन्सी फर रिसर्च अन क्यान्सर (आइएआरसी) ले अल्कोहललाई सूर्तिजन्य पदार्थ, एस्बेस्टोस, प्लुटोनियम वा अल्ट्राभ्वाइलेट विकिरणजस्तै कार्सिनोजेन समूहमा वर्गिकरण गरेको छ ।
यसरी मुख, नाक, घाँटीभित्र हुने क्यान्सरको समूहलाई हेड एण्ड नेक क्यान्सर भनिन्छ । यस किसिमको क्यान्सरले मुख र मुखभित्र हुने सबै किसिमका क्यान्सर जनाउँछ । नेपालमा गुट्खा, पान, सूर्ति,चुरोट आदिको सेवनले हुने क्यान्सर यस वर्गमा पर्छन् ।
नेपालमा विभिन्न अस्पतालहरुबाट लिएको तथ्यांक हेर्दा सबैभन्दा बढी हुने हेड एण्ड नेक क्यान्सर रहेको छ । यसको एउटै कारण सूर्ति तथा सूर्तिजन्य पदार्थको सेवन हो ।
कसरी हुन्छ यो क्यान्सर ?
हाम्रो शरीरमा अनियन्त्रित भएर बढ्ने कोशिकालाई शरीरले नै मार्ने गर्छ । तर कहिलेकाँही त्यो नियन्त्रण गर्नसक्ने क्षमता हराएर जान्छ । मुखमा निरन्तर सुर्तिका कारण इरिटेसन भइरहन्छ र कोष नियन्त्रण नभएर बढ्न जान्छन् । यसरी एकपटक क्यान्सर कोष बृद्धि भइसकेपछि रोक्न सकिदैन । खैनी खाँदा शुरुमा हल्का बाहिरी नशाहरु फुलेर आउँछन् । त्यसपछि सब क्युटानिएस फाइब्रोसिस (घाउ पनि हुने सँगै शरीरले त्यसलाई रिकभर गर्दै जाने) हुन्छ । यो क्यान्सर नभएपनि यसले मुखमा असर गरिरहेको हुन्छ । यस प्रकारको समस्या लगातार भइरहेमा कोषिकाहरुको बृद्धि भई क्यान्सर हुन्छ । धुम्रपान गर्ने व्यक्तिलाई नाक र घाँटीको क्यान्सर हुनसक्ने संभावना धेरै रहन्छ ।

समस्या कति समयमा हुन्छ ?
हेड एण्ड नेक सम्बन्धि क्यान्सर वंशाणुगत पनि हुनसक्छ । तर त्यो भन्दा महत्वपूर्ण भूमिका जीवनशैलीको हुन्छ । सूर्ति तथा धुम्रपान गर्ने बित्तिकै सबैलाई यस किसिमको समस्या हुन्छ भन्ने हुँदैन । तर सेवन गर्न थालेको ५–७ वर्षमा क्यान्सर भएको पनि देखिएको छ । हेड एण्ड नेक क्यान्सरलाई चाँडै पहिचान गर्न सकिन्छ । शुरुमा मुखमा सूर्तिले गर्दा हुने परिवर्तन देख्न सकिन्छ र उपचार शुरु गरेमा क्यान्सर पूर्ण रुपमा निको पार्न सकिन्छ । क्यान्सर उपचार गर्ने जनशक्ति एकत्रित गरेर बिरामीलाई अत्याधुनिक सेवा प्रदान गर्नुपर्ने अहिलेको आवश्यकता छ ।
मुलुकमा अत्याधुनिक प्रविधि नहुँदा क्यान्सर उपचार गर्ने अनुभव विदेश पलायन भइरहेको छ । स्वदेशमा उपचार गर्ने परिस्थिती विकास नहुँदा यस सँग सम्बन्धि सबै जनशक्ती विदेश जाने संभावना बढाइरहेको छ । विरामीको उपचार खर्चमा जति पैसा विदेशिएको छ त्यति दक्ष जनशक्ती पनि पलायन भइरहेका छन् । यो डरको विषय हो ।
प्रविधिको जरुरत
क्यान्सर उपचार र न्यूनिकरणमा जनचेतना र राम्रो उपचार गर्ने प्रविधिको जरुरत पर्छ । कतिपय अवस्थामा नेपालमा उपचार पद्धति नभएर वा सही सल्लाह नपाएर विदेश गइरहेका छन् ।
नेपालमा राम्रो उपचार भएमा ९० प्रतिशतले स्वदेशमा उपचार सेवा लिनसक्ने संभावना छ । सरकारी तथा निजी स्वास्थ्य संस्थाहरुले अन्तर्राष्ट्रियस्तरको उपचार सेवा दिनसक्ने हैसियत राख्नुपर्छ ।
हेड एण्ड नेक क्यान्सर उपचारमा, हेड एण्ड नेक सर्जन, रेडिएसन अंकोलोजिष्ट, मेडिकल अंकोलोजिष्ट, प्लाष्टिक एण्ड रिकस्ट्रक्टिभ सर्जन, स्पिच एण्ड स्वालेविङ थेरापिष्ट, पोषणविद्, मनोरोग विशेषज्ञलगायत सबैको भूमिका हुन्छ । विगतमा यो सबै उपलब्ध हुन नसक्दा उपचार भएपछि गुणस्तरीय जीवनमा ¥ह«ास आउने सम्भावना रहन्थ्यो । तर आजकल सबै टिम मिलेर काम गर्ने हुँदा उपचार राम्रो हुनका साथै गुणस्तरीय जीवन पनि सुधार हुन्छ र उपचारपछि बिरामीले सामान्य जीवनयापत गर्नसक्छ ।
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३

