
जनस्वास्थ्य सरोकार, जनकपुरधाम । धनुषाको मिथिला नगरपालिकाको वडा नंं ७ ढल्केवरमा सुविधा सम्पन्न आँखा अस्पतालको आज उद्घाटन गरिएको छ ।
नवनिर्मित रेयुकाई एईको मसुनागा आँखा अस्पतालको उद्घाटन अस्पतालको निर्माणमा आर्थिक सहयोग गरेको अमेरिकन सामाजिक संस्था डोली इन्टर्मड इन्टरनेशनल न्युयोर्कका अध्यक्ष स्कट र्यामिलटले गर्नुभयो ।
बनेपास्थित रेयुकाई एईको मसुनागा आँखा अस्पतालको शाखाको रुपमा ढल्केवरमा अस्पतालको निर्माण गरिएको हो ।
फागुन महिनाबाट अस्पतालले सेवा दिँदै आए पनि औपचारिक रुपमा आजबाट सेवा सुरु गरिएको हो ।
करिब तीन करोडको लागतमा निर्माण भएको आँखा अस्पतालमा आँखा सम्बन्धी सम्पूर्ण उपचारको सुविधाहरू हुने भएको छ । खास गरेर मोतिया विन्दुको उपचार एवं शल्यक्रियाका लागि चाहिने सबै प्रकारका उपकरणहरू रहेको बनेपा आँखा अस्पतालका चिकित्सक डा. ईरिना कंसाकारले जानकारी दिनुभयो ।
ढल्केवर क्षेत्रमा आँखा अस्पताल सञ्चालनमा आएपछि यस क्षेत्रका बिरामीलाई निक्कै सहज हुने विश्वास गरिएको छ ।
मधेश प्रदेशको लहान, जनकपुरधाम तथा वीरगञ्जमा आँखाको उपचार भएपनि ढल्केवरमा भएपछि यसबाट धनुषा, महोत्तरी, सर्लाहीका उत्तरी भेगका बिरामीका साथै सिन्धुली, उदयपुर तथा भारतका बिरामीहरूले सहजै उपचार पाउने भएका छन् ।
अस्पतालमा नेत्ररोग विशेषज्ञ टोलीद्वारा आँखाका सम्पूर्ण उपचार सेवा प्रदान गर्ने र जटिल प्रकारको समस्या भएको खण्डमा बनेपामा रहेको आँखा अस्पतालमा रेफर गरिने पनि अस्पतालका चिकित्सक एवं संस्थाका उपाध्यक्ष डा.कंसाकारले जानकारी दिनुभयो ।

गत फागुनदेखि सुरु भएको अस्पतालले हालसम्म ७ हजारको निःशुल्क आँखाको परीक्षणका साथै १ हजार ६ सय ६० जनाको मोतियाविन्दको शल्यक्रिया गरिएको संस्थाका महासचिव हिरामणि शर्माले जानकारी दिनुभयो ।
उद्घाटन कार्यक्रममा मिथिला नगरपालिकाका नगरप्रमुख महेन्द्र महतोले शुभकामना दिनुहुँदै आँखा अस्पतालको निर्माणले यस क्षेत्रका आँखाका बिरामीहरूलाई उपचार पाउनमा सहज हुने विश्वास व्यक्त गर्नुभयो ।
आँखा अस्पताल निर्माणका लागि मिथिला नगरपालिका ढल्केवर निवासी समाजसेवी राजाराम महतोले करोडौँ मूल्य पर्ने छ कठ्ठा जग्गा दान दिनुभएको थियो ।
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३
