
जनस्वास्थ्य सरोकार, चितवन I भरतपुर अस्पतालको आकस्मिक (इमर्जेन्सी) सेवा छ दशकपछि नयाँ भवनबाट सुरुआत भएको छ । अस्पतालले विसं २०२० मा बनेको अस्पतालको आकस्मिक सेवा नयाँ भवनबाट सुरु भएको हो ।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ड प्रा डा कृष्णप्रसाद पौडेलका अनुसार पुरानो र जीर्ण भवनबाट सञ्चालन हुँदै आएको सेवा नयाँ भवनबाट सुरु गरिएको छ । हाल २० शय्याबाट सुरु भएको नयाँ भवनको सेवा केही समयपछि नै ५० शय्यामा सञ्चालन गरिने उहाँले बताउनुभयो ।
नयाँ भवनमा आकस्मिक प्रयोगशाला, एक्सरे, सामान्य शल्यक्रिया कक्षसहितको सेवा हुने उहाँको भनाइ छ । यी सेवा पूर्णरूपमा सञ्चालन गर्न भने एक–दुई महिना लाग्ने प्रा डा पौडेलले बताउनुभयो । नयाँ भवनको माथि दुई तला थप्ने अस्पतालको तयारी छ । दुई तला थप गरेपछि ट्रमा सेन्टरसमेत सोही भवनमा सञ्चालन गरिने छ ।
स्वास्थ्य मन्त्रालयले रु सात करोड लागतमा एकतले भवन बनाएको हो । अस्पतालले दुई तला थप गर्ने गरी विस्तृत अध्ययन प्रतिवेदन तयार गरिसकेको छ । उहाँले भन्नुभयो, “तला थप गर्न मन्त्रालयमा पुनः बजेट माग गर्ने तयारीमा छौँ ।”
विगतमा १२ शय्या सञ्चालन हुँदै आएको पुरानो आकस्मिक कक्ष गत वर्षदेखि २० शय्या पुर्याइएको थियो । सोही २० शय्यालाई हाल नयाँ भवनमा सारिएको हो । नयाँ भवनमा पर्याप्त ठाउँ भएकाले उपचारमा सहज हुने छ । नयाँ भवनको आकस्मिक सेवा पूर्णरूपमा सञ्चालन आएसँगै शय्या अभावमा बिरामी बाहिर पठाउनुपर्ने बाध्यताको अन्त्य हुने मेसु डा पौडेलले बताउनुभयो ।
अस्पतालको तथ्याङ्कानुसार वार्षिक झण्डै एक लाखको हाराहारीमा आकस्मिक कक्षमा बिरामी आउने गर्छन् । विसं २०१३ मा महेन्द्र आदर्श चिकित्सालयको नामबाट स्थापना भएको अस्पताल हाल सङ्घीय अस्पतालका रूपमा छ । रासस
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

