
घटना नं. १
फाइब्रोमायल्जियाका कारण झूठो आरोप लाग्ने गरेको छ भने पारिवारिक विखण्डनसमेत ल्याएको पाइन्छ । काठमाडौंकी ३८ वर्षीया एक महिलाले यस्तै झूटो आरोप खेपेर पारिवारिक विखण्डनसमेतको सामाना गर्नुपर्यो । उनी सिभियर फाइब्रोमायल्जियाबाट पीडित थिइन् । फाइब्रोमायल्जियमा रगत परीक्षण गर्दा कुनै समस्या नदेखिने भएकाले परिवारले नाटक गरेर ठगेको आरोप लगाउँथ्यो । परिवारको अपहेलना र श्रीमानको चाहना पूरा गर्न नसक्दा सम्बन्ध विच्छेद गर्नुपर्ने समेतको वातावरण सृजना गरेको थियो ।
घटना नं. २
ओपिडीमा आउने अधिकांश महिला र पुरुषहरु धेरैजसो एक्लै आउँछन् । परिवारका सदस्यको व्यस्तताका कारण आउन नपाएको गुनासो गर्छन् । फाइब्रोमायल्जिया भएका व्यक्तिको भावनात्मक पीडा बुझेको पाइँदैन ।
वास्तवमा फाइब्रोमाल्जिया के हो ?
फाइब्रोमायल्जिया एक खालको पेन डिसअर्डर (दुखाई विकार) हो । यसलाई मांशपेशी र हड्डीसम्बन्धिको दुखाइ (मस्किलोस्केलेटल पेन) भनिन्छ । यो शरीरका विभिन्न भागमा सरी सरी दुख्ने खालको रोग हो । यो रोग पुरुषको तुलनामा प्रायः महिलामा बढी पाइन्छ ।
सामान्यतया ४० देखि ५० वर्ष उमेर समूहका महिला फाइब्रोमायल्जियाबाट पीडित हुने गरेका छन् । यो धेरैजसोले नबुझेको रोग हो । फाइब्रोमायल्जिया हुने कारण अहिलेसम्म पत्ता लाग्न सकेको छैन । खासगरी यो आफैं पनि उब्जन सक्छ र बाथरोगसम्बन्धि कारणले पनि हुनसक्छ ।

यसमा के कस्ता लक्षण देखिन्छन् ?
धेरै थकाइ लाग्ने, स्मरणशक्ति कम भएर जाने, काम गर्दा एकत्रित हुन नसक्ने, दुखाईले निद्रा नलाग्ने, छटपटी हुने, पेटसम्बन्धि रोग (इरिटेवल वाउल सिन्ड्रोम जसमा कसैलाई बढी झाडापखाला र कसैलाई कब्जियत हुने तर अल्टरनेटिभ प्यार्टनमा हुन्छ ।) धेरै बिरामीहरुले गर्ने गुनासो पूरै शरीर दुख्यो, थाक्यो र गल्योे भन्ने नै हो ।
यसको परीक्षण विधि के हो ?
चिकित्सकीय जाँचका लागि पुरानो अन्तर्राष्ट्रिय गाइडलाइन र नयाँ गाइडलाइनअनुसार फाइब्रोमायल्जियाको छोटो वर्णन गर्न जरुरी हुन्छ । पुरानो गाइडलाइनअनुसार फाइब्रोमायल्जिया शरीरको १८ वटा भागमा सर्दै दुख्ने गर्छ । जसमध्ये ११ भागमा छुँदा दुख्ने गर्छ ।
गर्दनको अगाडिको भाग, गर्दनको पछाडिको भाग, कुहिना, हिप, कम्मर, घुँडा आदिमा एकपछि अर्कोमा सर्दै दुख्छ र छुँदा पनि अत्यधिक दुखाइ महसुस हुन्छ । तर रगत परीक्षण गर्दा कुनै समस्या देखिदैन ।
विगतमा यसैगरी फाइब्रोमायल्जिया पहिचान गरिन्थ्यो । तर यसरी गर्दा स्वास्थ्य अभ्यासकर्ताहरुबाट पनि यो रोग गलत निदान भएको वा रोग पत्ता नलागेको आधारले फेरि नयाँ गाइडलाइन बनाइएको छ । नयाँ गाइडलाइनअनुसार, विगत ३ महिनाभन्दा बढी समयदेखि कम्मरभन्दा मुनि र माथि, दाहिनेपटी र देब्रेपटी दुखाइ भइरहेमा फाइब्रोमायल्जियाको शंका गर्नुपर्छ ।
फाइब्रोमायल्यिाका बिरामीमा वाथ पनि हुनसक्छ ?
फाइब्रोमायल्जियाको क्लिनिकल्ली परीक्षण गर्नुअघि निश्चित रोगहरु रुल आउट गर्नुपर्छ । जस्तोः भिटामिन डी डिफिसियन्सी, हाइपोथायराइडिजम, र्युमेटोराइड आर्थराइटिस, लुपस बाथ आदि रोगहरुसँगै फाइब्रोमायल्जिया आउनसक्ने भएकाले उल्लेखित रोग नभएपछिको अवस्थामा फाइब्रोमायल्जिया शंका गर्नुपर्छ ।
तर एउटा रोग लाग्दैमा फाइब्रोमायल्जिया होइन भनेर ठोकुवा गर्न सकिदैन । त्यसैले डाक्टरसँग परामर्श लिनुपर्छ । वाथलगायतका अन्य रोगहरु भएनभएको पहिचान गर्नुपर्छ ।
फाइब्रोमायल्जियासँगै अरु बाथ पनि देखापर्छ ?
र्युमेटोआर्थराइटिस भएका व्यक्तिहरुमा फाइब्रोमायल्जिया भएको पाएका छौं । त्यसैले सुन्निने समस्या भएमा एन्टिवडी टेष्ट गर्नुपर्छ । र्युम्याटोआर्थटराइटिसका लागि एन्टिसिसिपी, लुपस बाथका लागि एन्टिडिसडिएनए, एएनए जाँच गराउनुपर्छ र वाथ र फाइब्रोमायल्जिया दुवै रोगको सँगसँगै उपचार गर्नुपर्ने पनि हुनसक्छ ।
फाइब्रोमायल्जियको उपचार के हो ?
फाइब्रोमायल्जिया भएका बिरामीले आफ्नो रोग बुझ्न जरुरी हुन्छ । यसलाई नियन्त्रणमा ल्याउने विश्वास लिनुपर्छ र घरपरिवारलाई बुझाउने कोसिस गर्नुपर्छ । यसको सबैभन्दा महत्वपूर्ण उपचार चिकित्सकीय परामर्शमा फिजियोथेरापी हो । मसल स्ट्रेन्थ र फ्लेक्जिविलिटी बढाउने शारीरिक अभ्यासमा विशेष ध्यान दिनुपर्छ ।
फाइब्रोमायल्जिया उपचार गर्दा बाथजस्तो इम्युनिटी पावर नै घटाउनुपर्ने कडा औषधिहरुको आवश्यकता पर्दैन । यो निको नहुने रोग भएकाले लक्षणहरलाई नियन्त्रणमा राख्न जरुरी पर्छ ।
यसमा खानपान बार्नुपर्छ ?
फाइब्रोमायल्जिया पनि एक खालको बाथ भएकाले दाल, गेडागुडी, माछा मासु बार्ने प्रचलन पाइन्छ । तर खानपान बार्न जरुरी पर्दैन । बारेर रोग नियन्त्रणमा आउने पनि होइन । बिरामीले यस्ता पोषिला खाना झन खानुपर्छ । तर युरिक एसिड बाथमा खापान बार्नुपर्छ ।

जिज्ञासा र जवाफ
म ३० वर्षको भएँ । कार्यालयमा अलि भारी काम भएको दिन जीउ पूरै दुख्छ । यो के कारणले होला ?
विपना, काँडाघारी काठमाडौं ।
उमेरका कारण फाइब्रोमायल्जिया पनि हो कि भन्ने शंका गर्नुपर्छ । भारी भनेको कस्तो खालको काम हो ? भन्ने कुरा खुलाउन जरुरी हुन्छ । उभिएर गर्नुपर्ने हो कि दिनभर कुर्सीमा बसेर गर्नुपर्ने काम हो ? कतिपय रोग पोस्चर सम्बन्धित पनि हुनसक्छ जसलाई साधारण मेकानिकल पेन मात्र भनेर वर्णन गरिन्छ ।
यदि दुखाई एकैनासले भइरहेको छ, पोष्चर नमिलेको र भारी कामका कारण कहिलेकाँही मात्र हुने हो भने फाइब्रोमायल्जिया पनि हुनसक्छ । यसका साथै कार्यालयभित्र बसिरहने अवस्थामा भिटामिन डी डिफेसेन्सीका कारण पनि जीउ पूरै दुख्नसक्छ । कहिलेकाँही थायराइडको समस्याले पनि हुनसक्छ ।
यी सबै समस्या पहिचान भइसकेपछि मात्र फाइब्रोमायल्जिया भएनभएको एकिन गर्न सकिन्छ । त्यसैले समस्या एकिन गर्न एकपटक फाइब्रोमायल्जिया डाक्टरसँग परामर्श लिन जरुरी हुन्छ ।
मेरो उमेर ४५ वर्ष भयो । जीउ दुख्ने गल्ने हुन्छ । होलवडी चेकअपमा थायराइड, युरिक एसिड सबै जाँचहरु गराइसकेँ, सबै सामान्य छ । जीउ दुख्ने गल्ने ठीक नै भएको छैन ।
अस्मिता विश्वकर्मा, जनकपुर
फाइब्रोमायल्जिया भएनभएको पत्ता लगाउन क्लिनिकल्ली डायग्नोसिस गरिन्छ । यो कुनै विशेष रगत जाँच गरेर देखिने रोग होइन । होल वडी चेकअपमा फाइब्रोमायल्जिया पर्दैन । फाइब्रोमायल्जियामा अरु खालको बाथ पनि हुने भएकाले निश्चित परीक्षणहरु गर्न जरुरी हुन्छ । बढी थकान लाग्ने, निद्रा नपर्ने, मुड स्वीङ भइरहने र कतिपय बिरामी डिप्रेसिभ मुडमा पनि जानसक्छन् । त्यसैले एकपटक डाक्टरसँग परामर्श लिन जरुरी हुन्छ ।
म २५ वर्षकी छु । तर मेरो जीउ दुःख्छ र औंला पनि सुन्निएको छ । के मलाई पनि फाइब्रोमायल्जिया त भएको होइन ?
प्रमिला गुरुङ वुटवल
फाइब्रोमायल्जियामा जीउ दुख्नसक्छ । तर औंला सुन्निने भन्ने हुँदैन । उमेरको हिसाबले यहाँलाई ¥युम्याटोअर्थराइटिस (गठिया बाथ वा लुपस वा हड्डी खिइने बाथ (अस्टियोआर्थराइटिस) वा अरु कुनै पनि वाथ हुनसक्छ । त्यसैले जाँच गर्नुपर्छ ।
गिँजाको स्वास्थ्यमा नयाँ बहसः काठमाडौंमा अन्तर्राष्ट्रिय पेरियोडेन्टल सम्मेलन
आइतबार, चैत ८, २०८२
सुडानमा स्वास्थ्य संरचनामाथि आक्रमणः ६४ को मृत्यु, मृतकमध्ये १३ बालबालिका
आइतबार, चैत ८, २०८२
योनिमा हुने ब्याक्टेरियाले कसरी स्वास्थ्यमा सुधार ल्याउँछ
आइतबार, फागुन १७, २०८२
ठूला स्तनका कारण महिलाहरूले कस्ता समस्याहरूको सामना गर्छन् ?
शुक्रबार, फागुन १५, २०८२
