
जनस्वास्थ्य सरोकार, काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने भएको छ ।
कागेश्वरी मनोहराले नगरभित्रका १६ वटै सामुदायिक विद्यालयमा अध्ययनरत आठ हजार पाँच विद्यार्थीको निःशुल्क स्वास्थ्य परीक्षण गर्न लागेको हो ।
नगरप्रमुख उपेन्द्र कार्कीले नगरवासीलाई स्वस्थ राख्न मेयरसँग ज्येष्ठ नागरिक निःशुल्क स्वास्थ्य सेवा, सरकारी स्कुलका बालबालिकालाई निःशुल्क स्वास्थ्य सेवा, नगरस्तरीय अस्पताल निर्माणलाई नगरपालिकाले प्राथमिकता दिएको बताउनुभयो ।
उहाले कागेश्वरी मनोहराले शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमितामा राखेर नीति तथा कार्यक्रम बनाएर लागू गरेको बताउनुभयो। संस्कारसहितको गुणस्तरीय शिक्षा प्रदान गर्न नगरपालिकाले आन्तरिक स्रोतबाट रु सात करोड बजेट विनियोजन गरेको छ भने शिक्षकलाई तालिमसमेत प्रदान गर्दै आएको छ।
चालु आर्थिक वर्षका लागि रु दुई अर्ब १५ करोडको बजेट विनियोजन गरेको छ । सबै नगरवासीलाई खानेपानी पु¥याउने लक्ष्य लिएको सो नगरपालिकाले तीनवटा खानेपानी आयोजनालाई अगाडि बढाएको छ ।
उज्यालो र सुरक्षित नगरपालिका बनाउनका लागि कागेश्वरी मनोहराले नगरभित्रका मुख्य सडक र भित्रि सडकमा सिसीटिभी जडान र सडकबत्ती जडानको कामलाई प्राथमिकता दिएको छ । नगरभित्र उत्पादन हुँदै आएको फोहरलाई नगरभित्र नै व्यवस्थापन गर्ने नीति सो नगरपालिकाले लिएको छ।
नगरप्रमुख कार्कीले कागेश्वरी मनोहरालाई खेलकुद नगरीको रूपमा अगाडि बढाउने बताउनुभयो । मनोहरा करिडोर निर्माण कार्यलाई समेत आफ्नो कार्यकालमा पूरा गर्ने उहाको भनाइ छ।
नगर प्रमुख कार्कीले मुख्य सडक संघ र प्रदेश सरकारबाट ठेक्का लागेको बताउँदै सडक नबन्दा स्थानीय सरकारले जनताको गुनासो सुन्नुपरेको बताउनुभयो। ‘जोरपाटीदेखि थली हुँदै साँखु जाने मुख्य सडकमा मुआब्जा लिने र काम गर्न नदिने प्रवृत्ति बढेको छ, यसले गर्दा काम गर्न बाधा पुगेको छ’,उहाँले भन्नुभयो ।
स्थानीय सरकारको कार्यअधिकारभित्र नपर्ने सडक स्थानीय सरकारले नबनाएको भन्दै केही राजनीतिक दलले नगरपालिकाको काममा अवरोध पु¥याएको उहाँले बताउनुभयो । कूल एक लाख १५ हजार जनसंख्या रहेको सो नगरपालिकामा ३५ हजार घरधुरी र नौ वडा रहेका छन् ।
सो नगरपालिकामा चालु आवमा ५० वटा ठेक्का आयोजना भए पनि चारवटा आयोजनाको काम सम्पन्न भइसकेको, ४२ आयोजना निर्माणको क्रममा रहेको र चार आयोजनाको ठेकेदार नगरपालिकाको सम्पर्कमा नआएको नगरपालिकाले जनाएको छ । रासस
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३

