
जनस्वास्थ्य सरोकार, गुल्मी । ग्रामीण भेगमा अझै पनि भान्सामा परम्परागत चुलोको प्रयोग गर्नाले दमका रोगी बढेका छन् । गुल्मीको चन्द्रकोट गाउँपालिकाले आयोजना गरेको बृहत् निःशुल्क स्वास्थ्य शिविरमा अधिकांशलाई दमको समस्या देखिएको छ ।
चन्द्रकोट–४ का बलबहादुर पुन उमेरले ८५ वर्षको पुग्नुभयो । उहाँलाई दमसम्बन्धी समस्या पहिलेदेखि नै थियो तर, गाउँपालिकाको केन्द्र शान्तिपुरमा विशेषज्ञ डाक्टरसँग जाँच गराएपछि मात्र यसको बढी असर घरकै चुलोबाट भएको थाहा पाउनुभयो ।
चुलोबाट निस्कने धुवाँका कारण उहाँलाई फोक्सोसम्बन्धी दमले च्याँपेको हो । “घरमा सधैँ चुलोमै खाना पाक्छ, धुवाँ हुन्छ तर यसको असर मलाई थाहा थिएन”, उहाँ भन्नुहुन्छ, “डाक्टरले भनेपछि बल्ल धुवाँको असर अनूभूति भयो । ”
चन्द्रकोट–३ का शिवलाल न्यौपाने पनि डाक्टर आएको थाहा पाएपछि शान्तिपुरमा पुग्नुभयो।
८० वर्षका उहाँलाई दम भएको थाहा भए पनि कारण जानकारी थिएन । डाक्टरसँगको जाँचपछि घरकै चुलोबाट निस्कने धुवाँ र धूमपानका कारण दम बढेको थाहा पाउनुभयो । “धुलो र धुवाँमा त अनगिन्ती समयसङ्गत गरियो”, उहाँ भन्नुहुन्छ, “यसको असरबारे मलाई अहिलेसम्म जानकारी थिएन । ”
सोही ठाउँकी ७८ वर्षीया पार्वती सुवेदी पनि दमलगायतका रोगबाट पीडित छन् । उहाँको अधिकांश समय चुलोको धुवाँसँगै बितेका कारण दमले च्याँप्दै गएको डाक्टरको जाँचपछि पत्तो पाउनुभयो ।
८६ वर्षीया पूर्णकला थापाको पनि समस्या उहीँ हो । उनीहरू मात्र होइन, चन्द्रकोटको निःशुल्क स्वास्थ्य शिविरमा सहभागी अधिकांश बिरामी दमका थिए । शुक्रबार, शनिबार र आइतबार सञ्चालन भएको शिविरमा सेवा लिएका एक हजार छ सय २३ जनामध्ये अधिकांश दमका बिरामी सहभागी भएका हुन् । योसँगै मिर्गौला, मुटु, स्त्री, जनरल फिजिसियन र आँखाका बिरामीले पनि सेवा लिएका छन्। उहाँले निःशुल्क जाँचसँगै औषधि पनि पाएका छन् ।
गाउँघरमा दैनिक चाहिने ऊर्जाका निम्ति कोइला, दाउरा तथा गुइँठा आगोको कच्चा पदार्थका रुपमा प्रयोग गरिन्छ। खाना बनाउनका लागि प्रयोग हुने गरेका यी वस्तु र चिसो मौसममा आगो तापेर चुलो छेउमा बस्दा पनि धुवाँले असर गरिरहेकै कारण अधिकांशमा दमको समस्या देखिएको हो ।
चन्द्रकोट गाउँपालिकाको स्वास्थ्य शिविरमा उपस्थित अधिकांशमा आफूले जाँच गर्दा दमसम्बन्धी समस्या देखिएको जनरल फिजिसियन डा नन्दु पाठकले जानकारी दिनुभयो।
चुलोबाट निस्कने धुवाँ र धूमपान बढी प्रयोगका कारण दमको समस्या देखिएको उहाँले बताउनुभयो । “दमबाट बँच्न धूमपान चटक्कै छाड्ने र विद्युतीय चुलो प्रयोग गर्नुपर्छ”, उहाँ थप्नुहुन्छ । ग्रामीण भेगमा अझै पनि सुधारिएको चुलोको प्रयोगमा समेत कमी छ ।
परम्परागत चुलोलाई विस्थापित गरेर विद्युतीय चुलोको प्रयोग गर्न सामुदायिक विद्युत् उपभोक्ता महासङ्घसँग सहाकार्य गरेको चन्द्रकोट गाउँपालिकाका अध्यक्ष युवराज केसीले बताउनुभयो ।
“आधुनिक चुलोको प्रयोग बढाउन विद्युतीय चुलो बजार प्रवद्र्धन कार्यक्रम लागू गरेका छौँ”, उनी भन्छन्, “परम्परागत चुलोले स्वास्थ्यमा असर गरेकाले धुवाँरहित चुलो प्रयोग गर्नुपर्छ”, उहाँले भन्नुभयो ।
सामुदायिक विद्युत् उपाभोक्ता सङ्घको दुई हजार र गाउँपालिकाको पाँच सय अनुदानसहित उपभोक्ताको रु एक हजार तीन सयमा विद्युतीय चुलो वितरण भइरहेको छ । रासस
क्लिनिकमा नाम राख्दा सचेत बनौंः चिकित्सकलाई काउन्सिलको आग्रह
बुधबार, चैत ११, २०८२
नेपालमा क्षयरोगको भार उच्चः ६७ हजार नयाँ बिरामी, १६ हजारको मृत्यु
मंगलबार, चैत १०, २०८२
गिँजाको स्वास्थ्यमा नयाँ बहसः काठमाडौंमा अन्तर्राष्ट्रिय पेरियोडेन्टल सम्मेलन
आइतबार, चैत ८, २०८२
सुडानमा स्वास्थ्य संरचनामाथि आक्रमणः ६४ को मृत्यु, मृतकमध्ये १३ बालबालिका
आइतबार, चैत ८, २०८२
