
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपाल सरकारले बुस्टर खोप लगाएका आफ्ना नागरिकलाई थप खोपको मात्रा दिने तयारी गरेको छ । कोभिड–१९ सङ्क्रमणको जोखिम फेरि बढ्न सक्ने भन्दै बुस्टर डोज खोप लगाएकालाई थप खोपको मात्रा दिने तयारी गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पहिलो र दोस्रो पूर्ण खोप लगाई बुस्टर डोज लगाएकालाई थप डोज दिने तयारी रहेको छ ।
मन्त्रालयका प्रवक्ता डा सञ्जयकुमार ठाकुरले कोरोना भाइरसको नयाँ भेरियन्ट बीएफ–७ को सङ्क्रमण छिमेकी देश भारत र चीनमा बढिरहेकाले नेपालमा उक्त सङ्क्रमण भित्रिन नदिन सबैलाई बुस्टर डोज लगाउन आग्रह गर्नुभएको छ । उहाँका अनुसार नेपालमा हालसम्म बीएफ–७ भेरियन्ट पुष्टि नभए पनि चीन र भारतमा बढ्दै गएकाले खुला सिमाना र आवतजावतका कारण जोखिम रहेको छ ।
मन्त्रालयले मापदण्ड तोकेका ५५ वर्षमाथिका वृद्धवृद्धा, दीर्घरोगीलगायतलाई प्राथमिकतामा राखेर यसअघि खोपको बुस्टर मात्रा लगाएकालाई थप मात्रा दिने तयारी गरिरहेको बताइएको छ । अहिले दुई मात्रा लगाएकालाई दिने बुस्टर मात्रा खोपका लागि १५ लाख डोज मगाइएको र अबको दुई हप्तापछि खोप आउने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
छिमेकी देशमा देखिएको बीएफ–७ नामक प्रजातिको नयाँ भेरियन्ट खुला सिमानाका कारणले नेपालमा भित्रिन सक्ने भएकाले सजगता अपनाउन गृहमन्त्रालयले समेत सबैमा आग्रह गरेको छ ।
यसैगरी कोभ्याक्स सुविधाअन्तर्गत सम्झौता गरिएको ९२ लाख मात्रा खोपमध्ये ३७ लाख मात्रा ल्याइसकिएको छ भने बाँकी रहेकामध्ये १५ लाख मात्रा खोप बुस्टर डोजका लागि ल्याउन थालिएको हो । सङ्क्रमणबाट जोगिन अनिवार्य मास्क प्रयोग गर्न, भौतिक दूरी कायम गर्न, साबुन पानीले हात धुन वा स्यानिटाइजर नियमित प्रयोग गर्नसमेत मन्त्रालयले सबैमा आग्रह गरेको छ ।
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

