जनस्वास्थ्य सरोकार, महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशका पाँच सीमा नाकामा कोरोना परीक्षणलाई तीव्रता दिइएको छ । यहाँ भारतसँग सीमा नाका जोडिएका कैलाली, कञ्चनपुरसहित पहाडी जिल्ला बैतडी र दार्चुलामा गरी पाँच नाकामा कोरोना परीक्षण हुँदै आएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
भारत, चीनलगायत छिमेकीमुलुकमा कोरोनाको नयाँ भेरिएण्ट ओमिक्रोनको सङ्क्रमण फैलिइरहेकोप्रति सतर्कता अपनाउँदै यहाँ भारतबाट स्वदेश फर्किने नेपाली नागरिकको नियमित नाकामा परीक्षण हुने गरेको स्वास्थ्य निर्देशनालयका महामारी सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए।

“छिमेकी मुलुकमा नयाँ खालको भेरिएण्ट फैलिएसँगै हामीले पनि सङ्क्रमण जाँचलाई सीमानाकामा तीव्र गतिमा हेरिरहेका छौँ”, जोशीले भने, “नयाँ भेरिएण्ट फैलिन सक्नेप्रति सबै सचेत हुनुपर्छ ।”
उनले कैलालीको त्रिनगर भन्सार र खक्रौला नाकाका साथै कञ्चनपुरको गड्डाचौकी, बैतडीको झुलाघाट र दार्चुलाको पुलघाट नाकामा कोरोना परीक्षण हुने गरेको बताए। “सबै नाकामा दक्ष स्वास्थ्यकर्मीको टोली परीक्षणमा कोरोनाको पहिलो कहरबाटै खटिएको छ,” उनले भने, “नयाँ सङ्क्रमण आउनसक्ने विषयमा प्रदेश सरकार पनि सर्तकता र महामारी न्यूनीकरणका लागि काम अघि बढाइरहेको छ ।”
मुलुकमै कोरोना खोप अभाव रहेका बेला सुदूरपश्चिम प्रदेशमा पनि खोप अभाव रहेको छ । “बुष्टर डोज ६/६ महिनामा लगाउनुपर्छ,” जोशीले भने, “पछिल्लो समय नयाँ खरिद प्रक्रियामा खोप रहेकाले सबैतिर अभाव रहे पनि चाँडै आउनेछ ।”
त्यसैगरी कैलालीको धनगढी र कञ्चनपुरको महेन्द्रनगरमा महामारीका बेला आश्रय दिन होल्डिङ सेन्टरसमेत तयारी अवस्थामा राखिएका छन् । “खोप आउनासाथ पुनः खोप अभियान सञ्चालन हुन्छ,” उनले भने, “त्यसका साथै नागरिक पनि महामारीबाट बच्न स्वयम् पनि सचेत हुनुपर्छ ।”
कोरोना सङ्क्रमणबाट सुदूरपश्चिममा हालसम्म छ सय ३५ जनाको मृत्यु भइसकेको निर्देशनालयले जनाएको छ । यहाँ छ लाख १९ हजार तीन सय ७३ जनाको कोरोना परीक्षण गरिएको थियो । पछिल्लो समय यहाँ कोरोना सङ्क्रमण देखिएको छैन । रासस
योनिमा हुने ब्याक्टेरियाले कसरी स्वास्थ्यमा सुधार ल्याउँछ
आइतबार, फागुन १७, २०८२
ठूला स्तनका कारण महिलाहरूले कस्ता समस्याहरूको सामना गर्छन् ?
शुक्रबार, फागुन १५, २०८२
चुनावी घोषणापत्रमा स्वास्थ्यको होडः कागजमै सीमित नहोस् स्वास्थ्यका सपना
बिहीबार, फागुन ७, २०८२
विश्व क्यान्सर दिवसमा भक्तपुर क्यान्सर अस्पतालको जनचेतना र क्यान्सर जाँच अभियान
बुधबार, माघ २१, २०८२
