
जनस्वास्थ्य सरोकार, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले कान्तिबाल अस्पताललाई एक हजार शय्याको अतिविशिष्टीकृत बाल अस्पताल बनाउन मन्त्रालय लागिपरेको बताउनुभयो ।
आज यहाँ आयोजित कान्ति बालअस्पतालको ६१औँ वार्षिकोत्सव कार्यक्रममा गुरुयोजनाअनुसार नै अस्पतालको स्तरोन्नतीका लागि मन्त्रालयले काम गरिरहेको उहाँले बताउनुभयो ।
यसका लागि आवश्यक कर्मचारी दरबन्दीका लागि समेत अर्थ र सङघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र पठाएको उहाँको भनाइ छ ।
“अस्पतालमा नर्सिङ जनशक्तिको अभाव कायमै छ, आवश्यक कर्मचारी दरबन्दीका लागि अर्थ र सामान्य प्रशासन मन्त्रालयमा पत्र पठाइसकेका छौँ,” उहाँले भन्नुभयो ।
सेवाग्राहीको बढ्दो चापअनुसार सेवा उपलब्ध गराउन आवश्यक कर्मचारी दरबन्दी थप गर्न अर्थ मन्त्रालयबाट सहमति जुटाउने प्रयास भइरहेको मन्त्रालयकै सचिव देवकुमारी गुरागाईंले बताउनुभयो । उहाँले भन्नुभयो “अर्थ र सामान्य प्रशासन मन्त्रालयबाट सहमति ल्याउनका लागि तपाईंहरुको साथ चाहिएको छ ।”
अस्पतालका निर्देशक डा युवानिधि बसौलाले राष्ट्रिय बाल स्वास्थ्य अध्ययन संस्थानका रुपमा विकास गर्न र एक हजार शय्याको अस्पताल बनाउन विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) को काम भइरहेको जानकारी दिनुभयो ।
वार्षिकोत्सवका अवसरमा अस्पताल परिसरमा ‘वाटर भेन्डिङ मेसिन’ (वाटर एटिएम) सुरुआत गरेको छ ।
वाटर एटिएमबाट रू एकमा चिसो र तातो पिउने पानी उपलब्ध हुन्छ । कूल ५२ शय्याको आकस्मिक कक्ष सुरु गर्न १५ जना स्टाफ नर्स र १० जना सिनियर मेडिकल अफिसर (एमओ) गरी दरबन्दी ८३ पुर्याउन अस्पतालले मन्त्रालयलाई आग्रह गर्दै आएको छ ।
कार्यक्रममा चिकित्सा विज्ञान प्रतिष्ठान वीर अस्पतालका उपकुलपति प्रा. डा. डीएन शाहले हरेक प्रदेशमा एउटा बाल अस्पताल निर्माण गर्नुपर्ने बताउनुभयो । सन् १९६३ मा ५० शय्याबाट सुरु भएको कान्तिबाल अस्पतालमा अहिले तीन सय ३० शय्याबाट सेवा प्रवाह भइरहेको छ ।
अस्पतालले आर्थिक वर्ष २०७८–७९ मा एक लाख १६ हजार चार सय ५३ जनालाई बहिरङ्ग सेवा उपलब्ध गराएको थियो । साथै उक्त अवधिमा अस्पतालबाट ४४ हजार आठ सय ९२ जनाले आकस्मिक सेवा र दुई हजार पाँच सय २६ जनाले सर्जरी सेवा लिएका थिए । रासस
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३

