नेभिगेशन

वरिष्ठ नेत्र विशेषज्ञ डा. सन्दुक रुइत १० लाख डलरको प्रतिष्ठित इसा अवार्ड २०२३ का लागि छनौट

जनस्वास्थ्य सरोकार, काठमाडौं । वरिष्ठ नेत्र विशेषज्ञ डा. सन्दुक रुइतले बहराइन सरकारले प्रदान गर्ने १० लाख डलरको प्रतिष्ठित इसा अवार्ड २०२३ का लागि छनौट हुनुभएको छ । यो नेपाली झन्डै १३ करोड ८ लाख रुपियाँ हो ।

डा. रुइतले अन्धोपन निवारणमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पुर्याएको अतुलनीय योगदानको कदर गर्दै इसा अवार्डका लागि छनौट गरिएको बहराइनका राजपरिवार सदस्य शेख मो. बीन मुबारक अल खालिफाले जानकारी गराएको उल्लेख छ ।

मंगलबार बहराइनको राजधानी म्यान्मामा सो पुरस्कार घोषणा गरिएको थियो । डा. रुइतले अपनाएको आँखा उपचार पद्धति (रुइतेक्टोमी र इन्ट्रोकुलर लेन्स) टेक्निकले देशविदेशमा चर्चा पाएको छ । विभिन्न मुलुकबाट चिकित्सकहरु आँखासम्बन्धि अत्याधुनिक तालिमका लागि नेपाल आउने गरेका छन् । आगामी फेब्रुअरीमा उहाँलाई स्वर्ण पदकसहित प्रमाणपत्र प्रदान गरिने छ ।

बहराइनका राजा शेख हमद बिन इसा अल खालिफा ‘अनररी प्रेसिडेन्ट’ रहेको ‘इसा अवार्ड फर सर्भिस टु ह्युमानिटी’ संस्थाले अवार्ड दिन थालेको यो पाँचौं संस्करण हो । यो अवार्ड सन् २०१३ देखि प्रदान गरिन थालिएको हो । न्यून शुल्कमा मोतीबिन्दुको शल्यक्रिया विधि प्रयोग गरी डा. रुइत नेपालसहित एसिया र विश्वका अन्य भूभागमा लाखौं व्यक्तिलाई दृष्टि फर्काउन सफल हुनुभएको छ । डा. रुइतले १ लाख ३० हजार व्यक्तिलाई नयाँ दृष्टि दिन सफल भएको बताउनुभएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट