
जनस्वास्थ्य सरोकार, चितवन । अमेरिकामा रहेका नेपाली चिकित्सकले पवित्र तीर्थस्थल देवघाटमा स्वास्थ्य केन्द्र बनाएका छन् । एशोसिएशन अफ नेपाली फिजिसियन इन अमेरिका (एन्पा)को आर्थिक सहयोग र गुणनिधि खनाल मेमोरियल ट्रष्टको समन्वयमा केन्द्र निर्माण गरिएको हो ।
भरतपुर महानगरपालिका–१ देवघाटमा यहाँका ज्येष्ठ नागरिकलाई लक्षित गरी देवघाट सु–स्वास्थ्य केन्द्र स्थापना गरिएको हो ।
जलेश्वर आश्रमले उपलब्ध गराएको एक कठ्ठा जग्गामा रु ७० लाख लागतमा भवन निर्माण गरिएको छ । विसं २०७८ कात्तिक २९ गते शिलान्यास गरी निर्माण सुरु गरिएको भवन सम्पन्न भएको छ ।
भवन निर्माण समितिको संयोजक नेपाल पत्रकार महासङ्घ चितवनका पूर्वअध्यक्ष हरि पोखरेलका अनुसार चारकोठे पक्की भवन बनेको छ ।
भवनमा देवघाटमा रहेका वृद्धवृद्धाको उपचार सुरु गरिएको छ ।
विगत पाँच वर्षदेखि नै एउटा कोठा भाडामा लिएर उपचार सेवा दिँदै आएकामा अहिले भवन निर्माण गरी सोही भवनबाट सेवा सुरु गरिएको हो ।
केन्द्रमा चितवन मेडिकल कलेज, भरतपुर अस्पताललगायतबाट चिकित्सक गएर परीक्षण गर्ने गरेका छन् । चिकित्सक स्वतःस्फूर्तरूपमा सहयोग गर्न जाने गरेको पोखरेलले बताउनुभयो ।
यसैगरी औषधिसमेत निःशुल्क व्यवस्था गरिँदै आएको छ । उपचारमा आउने बिरामीको विद्युतीय तथ्याङ्क राख्ने गरिएको पोखरेलले जानकारी दिनुभयो ।
उनका अनुसार राष्ट्रिय आविष्कार केन्द्रको सहयोगमा यो कार्य गरिएको हो ।
पोखरेलले भन्नुभयो “बिरामीको स्वास्थ्य इतिहास, सेवन गरिरहेको औषधिलगायत सबै विषय कम्प्युटरमा राखिन्छ ।” यस्तो तथ्याङ्क अमेरिकामा रहेका चिकित्सकले समेत हेर्न मिल्ने उहाँले जानकारी दिनुभयो ।
केन्द्रसँगै अस्पताल निर्माणको तयारीसमेत गरिएको छ । आश्रमले थप जग्गा उपलब्ध गराउने र बिरामीलाई राखेर उपचार गर्न मिल्ने गरी काम गर्न लागिएको पोखरेल बताउनुहुन्छ ।
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३
