नेभिगेशन

नवलपरासी पूर्वमा २८ कुष्ठरोगी उपचाररत

जनस्वास्थ्य सरोकार, नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा चालु आर्थिक वर्षको पुस मसान्तसम्म नौ जना नयाँ कुष्ठरोगी भेटिएका छन् । स्वास्थ्य कार्यालय नवलपुरका अनुसार साउनदेखि पुससम्म जिल्लामा नौ जना नयाँ कुष्ठरोगी पहिचान भएको जनाइएको छ ।

जिल्लामा अहिले नयाँ र पुराना गरी २८ कुष्ठरोगीले औषधि सेवन गरिरहेका छन् । औषधि सेवन गरिरहेका कुष्ठरोगीमध्ये १२ पुरुष र १६ महिला रहेको स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईंले बताउनुभयो ।

“अहिले गैँडाकोट नगरपालिकामा १२ जना कुष्ठरोगी रहेका छन्”, प्रमुख चापागाईंले भन्नुभयो –“देवचुली नगरपालिकामा छ, कावासोती नगरपालिकामा पाँच, विनयी त्रिवेणी गाउँपालिकामा तीन, मध्यविन्दु नगरपालिका र हुप्सेकोट गाउँपालिकामा एकरएक कुष्ठरोगी औषधि सेवन गरिरहेका छन् ।”

नयाँ फेला परेका कुष्ठरोगीमध्ये पुरुष सात र महिला एक जना छन् । “जिल्लाको मध्यविन्दु नगरपालिकामा एक पुरुष, गैँडाकोट नगरपालिकामा एक जना पुरुष एक महिला, हुप्सेकोट गाउँपालिकामा एक पुरुष र कावासोती नगरपालिकामा एक पुरुष नयाँ कुष्ठरोगी भेटिएका छन् ।” उहाँले भन्नुभयो–, “नयाँ फेला परेका कुष्ठरोगीले नियमित औषधि सेवन गरिरहेका छन् ।”

नवलपरासी९बर्दघाट सुस्तापूर्व०मा गत आव २०७८ ७९ को असारसम्म २३ जना कुष्ठरोगी फेला परेका थिए । आव २०७७ ७८ को असारसम्म जम्मा सङ्क्रमितको सङ्ख्या ३५ थियो । “जिल्लामा प्रत्येक वर्ष कुष्ठरोगीको सङ्ख्या घट्दै गइरेको छ”, प्रमुख चापागाईंले भन्नुभयो, “समयमै उपचार गराएमा पूर्णरूपमा रोग निको हुने विश्वास जनचेतनामार्फत् जागृत गराइएपछि रोगीको संख्या क्रमिकरूपमा घट्दै गइरहेको छ ।”

कुष्ठरोग माइक्रो ब्याक्टेरियम लेप्री नामक ब्याक्टेरियाद्वारा सर्ने एक प्रकारको ब्याक्टेरियल इन्फेक्सन हो । यो लामो समयसम्म रहने र लगातार बढ्ने खालको सङ्क्रमण हो । अन्य सरुवा रोगको तुलनामा कम सर्ने रोग भए पनि बिरामीले हाच्छँयु गर्दा रोग सर्ने सम्भावना रहन्छ ।

उठबस गर्दा, हात मिलाउँदा यो रोग सर्दैन । “मुख्यरूपमा नशा, हातखुट्टा, नाकको भाग र श्वास लिने तन्त्रलाई प्रभावित गर्ने गरेको भन्दै प्रमुख चापागाइँले भने, “कुष्ठरोगले नशालाई क्षतिग्रस्त गर्नुका साथै छालामा घाउ पार्दै मांशपेशीलाई कमजोर पार्छ ।”

छालामा रातो फुस्रो दाग देखिने, छाला नदुख्ने, गिर्खा आउने, अनुहारको छाला रातो र चम्किलो हुने, कानको लोती बाक्लो हुने, आँखा झिम्काउन नसकिने, शरीरको कुनै भागमा छोएको थाहा नहुने, हातखुट्टा लत्रिने जस्ता कुष्ठरोगका लक्षण हुन् ।

नेपाल सरकारले प्राथमिक स्वास्थ्य केन्द्रमार्फत् निःशुल्क रूपमा कुष्ठरोगको औषधि उपलब्ध गराउने गरेको छ । प्रत्यक वर्ष जनवरी २९ तारिकका दिन मनाइँदै आइएको विश्व कुष्ठरोग दिवस आज विभिन्न जनचेतनामूलक कार्यक्रम गरी विश्वभर मनाइँदै छ । ७०औँ विश्व कुष्ठरोग दिवसको नारा ‘कुष्ठरोग अन्त्यका लागि आजैबाट पहल गरौँ’ तय गरिएको छ । रासस

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट