
जनस्वास्थ्य सरोकार, तनहुँ। नियमित औषधि सेवन गरे पूर्णरूपमा निको हुने भए पनि कुष्ठरोगी अझै पनि खुलेर बाहिर आउन सकेका छैनन् । समाजमा अपहेलित होइने डरले यस्ता रोगी निर्धक्कसँग बाहिर आउन नसकेका हुन् । परम्परागत मान्यता, भेदभावलगायत कारणले कुष्ठरोगीलाइ घृणा गरिने भएकाले उनीहरुलाई समाजमा खुलेर बस्ने वातावरण सिर्जना गर्नु अहिलेको मुख्य चुनौती रहेको तनहुँ स्वास्थ्य कार्यालयका प्रमुख शङ्करबाबु अधिकारी बताउनुहुन्छ ।
उहाँ भन्नुहुन्छ –‘कुष्ठरोगीलाई समाजले हेर्ने दृष्टिकोण राम्रो छैन, जान्ने बुझ्ने मान्छेहरुबाटै कुष्ठरोगी अपहेलित भइरहेका छन् । यसप्रति सकारात्मक भाव फैलाउन आवश्यक छ ।’
कुष्ठरोगका बिरामीले आफ्नै घर नजिकैको स्वास्थ्य संस्थामा पुगेर औषधि नखाइ अन्यत्रै स्वास्थ्य संस्थाबाट औषधि सेवन गर्ने गरेको प्रमुख अधिकारीको भनाइ छ । “नजिकैको अस्पतालमा गएर औषधि सेवन गर्दा अरुले चिन्लान् भन्ने भय कुष्ठरोगीमा व्याप्त छ,” उहाँ भन्नुहुन्छ “त्यस्तो भय हटाउन स्वास्थ्य कार्यालयले पनि कुष्ठरोगका बिरामीलाई सचेतना दिने गरेको छ ।”
छ महिना वा एक वर्षसम्म नियमित औषधि खाएपछि निको हुने भएकोले कुष्ठरोगलाई ठूलो रोगको रूपमा लिन नपर्नेमा जोड दिँदै उनि खुलेर आउन नसक्ने त्यस्ता बिरामीलाई अस्पतालसम्म ल्याइपु¥याउने वातावरण सिर्जना गर्नुपर्ने र कुष्ठरोगप्रतिको भ्रम हटाउन परिवार तथा समुदायमा पनि सही जानकारी दिन प्रचारप्रसार अभियान सञ्चालन गरिएको बताउनुहुन्छ । यहाँस्थित स्वास्थ्य संस्थामा उपचाररत कुष्ठरोगीको तथ्याङ्क मात्रै कार्यालयमा आउने तर अन्यत्र उपचार गर्नेको तथ्याङ्क सङ्कलन गर्न सकिएको छैन । कतिपय त उपचार गर्नै नआउने पनि छन्, त्यस्ता व्यक्तिलाई कसरी अस्पतालसम्म लैजान सकिन्छ भन्ने मुख्य चुनौती भएको प्रमुख अधिकारी बताउछन् ।
सात कुष्ठरोगी पहिचान
चालु आर्थिक वर्षमा जिल्लामा सात नयाँ कुष्ठरोगी पहिचान भएका छन् । व्यास नगरपालिकामा तीन, आँबुखैरेनी गाउँपालिकामा दुई, देवघाट गाउँपालिकामा एक र बन्दीपुर गाउँपालिकामा एक कुष्ठरोगी पहिचान भएका र उनीहरु सबैले नियमित औषधि सेवन गरिरहेका छन् ।
गत आर्थिक वर्षमा जिल्लामा १८ कुष्ठरोगी रहेकामा सबै निको भइसकेका छन् । जिल्लामा कुष्ठरोगको औषधि पर्याप्त रहेको र यो निःशुल्क रहेको कार्यालयले जनाएको छ । सरकारको कुष्ठरोगमुक्त नेपाल बनाउने अभियानअन्तर्गत सबै जिल्लामा कुष्ठरोगको प्रकोपदर प्रतिदश हजार जनसङ्ख्यामा एकभन्दा कम गर्ने लक्ष्य छ । आर्थिक वर्ष २०७५/७६ मा नेपालमा तीन हजार दुई सय ८२ कुष्ठरोगका नयाँ बिरामी फेला परेकामा १४ वर्षमुनिका बिरामी तीन सय ३७ थिए ।
दमौली अस्पतालका मेडिकल अधिकृत डा नवीन सुन्दास कुष्ठरोगबाट हुने अपाङ्गता न्यूनीकरणका लागि सचेतनाको खाँचो रहेको र समयमै उपचार गर्न सकिए अपाङ्गता हुनबाट बच्न सकिने बताउनुहुन्छ । रासस
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३
