
जनस्वास्थ्य सरोकार, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा. तोसिमा कार्कीले सामाजिक सञ्जालबाट आफ्नै ढङ्गले प्रचार गरी बजारमा विभिन्न खालका औषधिहरूको बिक्री भइरहेको भन्दै नियमन गर्ने संयन्त्र बनाउन आवश्यक रहेको बताउनुभएको छ ।
आज मङ्गलवार औषधि व्यवस्थापन विभागको अनुगमन तथा ब्रिफिङ लिने क्रममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राज्यमन्त्री कार्कीले फर्मास्युटिकल प्रोडक्ट, न्युट्रासेटिकल प्रोडक्ट्स, कस्मेस्युटिकल प्रोडक्ट्सहरू बजारमा आउनुभन्दाअघि डीडीएमा देखाउनुपर्ने, औषधि विभागमा देखाउनुपर्ने र अनुमति लिनैपर्ने व्यवस्था गर्न आवश्यक भएको बताउनुभयो । उहाँले बजारमा अहिले औषधिहरू जथाभाबी बेच्ने काम भइरहेको भन्दै त्यसलाई नियन्त्रण र नियमन गर्न जरुरी भएको बताउनुभयो ।
राज्यमन्त्री कार्कीले नागरिकसमक्ष प्रत्यक्ष जोडिएको स्वास्थ्यको विषयमा कुनै कम्प्रमाइज गर्न नहुने बताउनुभयो । उहाँले देशभित्रै औषधि उत्पादन हुने प्रबल सम्भावना रहेकाले त्यससम्बन्धी खोज र अनुसन्धान अघि बढाउन आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘बजारमा अहिले धेरै विज्ञापनहरू सुनिन्छ, प्रयोगमा पनि आएका छन्, विभिन्न थरीका मालिस गर्ने तेल, दाँत सेतो पार्ने औषधि, कपाल उमार्ने तेल र आयुर्वेदिक औषधिको गुणस्तर मापन कसले गरिरहेको छ ? डाटासहित आउनुहोला । हामी कुनै न कुनै ठाउँमा चुकिरहेका छौँ, त्यसको नियमन गर्न अत्यन्त जरुरी छ । यसमा हामीले कत्ति पनि कम्प्रमाइज गर्नु हुँदैन ।’
राज्यमन्त्री कार्कीले सामाजिक सञ्जालबाट अनलाइन शपिङ गर्ने कुरा अत्यधिक भइरहेकाले त्यसलाई नियमन र नियन्त्रण नगरे अनलाइन शपिङ झनै भद्रगोल हुने बताउनुभयो ।
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३
