
जनस्वास्थ्य सरोकार, जाजरकोट। बारेकोट गाउँपालिकामा १५ शश्याको अस्पतालका निर्माणका लागि शिलान्यास गरेको १८ महिना पुग्यो, तर अहिलेसम्म जग पनि खनिएको छैन ।
गाउँपालिका, कर्मचारी र ठेकेदार कम्पनीको लापरवाहीका कारण भवन निर्माण हुन नसकेको हो । यी तीनवटै निकायबीच अस्पतालको भवन निर्माणमा गोलमाल छ । गाउँपालिकाको दाबीअनुसार ठेकेदार कम्पनी (खानी धुलिखेल जेके बिल्डक्स जेभी) को लापरवाहीका कारण अस्पतालको भवन निर्माणमा ढिलाइ भएको हो । भवन निर्माणमा जग्गाको समस्या बताउँदै आएको ठेकेदार कम्पनीले भने दुई चरणमा गरी साढे दुई करोड बढी रकम लिइसकेको छ ।
पन्ध्र शश्याको अस्पताल निर्माणका लागि निर्माण व्यवसायीले पहिलो चरणमा रु ८० लाख रकम पेश्की र दोस्रो चरणमा थप रु एक करोड ८१ लाख पेश्की लिइसकेको छ । सम्झौताअनुसार कुल लागतको दश प्रतिशत बजेट अग्रिम पेश्की लिएको हो । साढे दुई करोड बढी रकम लिइसकेको ठेकेदारले भने गाउँपालिकाले जग्गा उपलब्ध गराउन नसकेका कारण भवन निर्माणमा ढिलाइ भएको दाबी गरेको छ ।
गाउँपालिकाले जग्गा नदिएर भवन बनाउन अवरोध गरेको ठेकेदारले दाबी गरेको छ । पन्ध्र शश्याको अस्पताल भवन बनाउन करिब ११ कठ्ठा जग्गा आवश्यक हुन्छ । तर हालसम्म लिम्सा स्वास्थ्यचौकीको नाममा चार रोपनीमात्र जग्गा रहेको छ । भवन निर्माण गर्न अस्पतालकै नाममा जग्गा धनीपुर्जा हुनुपर्ने कानुनी व्यवस्था रहेको छ । जसले गर्दा भवन निर्माणमा थप ढिलाइ भएको हो ।
स्थानीय तहको हचुवाको निर्णयले अस्पताल निर्माणमा थप समस्या आएको ठेकेदारको भनाइ छ । तत्कालीन गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर शाहले अस्पतालको जग्गा प्राप्त नगरी भवन निर्माणको बोलपत्र गराएका थिए । तर गाउँपालिकाले भने ठेकेदारकै कारण भवन निर्माणमा ढिलाइ भएको जनाएको छ ।
भवन निर्माणका लागि जग्गाको खासै समस्या नभएको बारेकोट गाउँपालिका उपाध्यक्ष निशान गिरीले बताउनुभयो । “अस्पताल भवन बनाउन पर्याप्त जग्गा छ”, उहाँले भन्नुभयो, “तर ठेकेदारले तीनपटक म्याद थप गर्दासमेत काममा चासो दिएन”, ठेकेदारको लापरवाहीका कारण काम हुन नसकेको उहाँको दाबी छ । कर्मचारीहरू ठेकेदारसँग मिलेर भवन निर्माणमा थप ढिलाइ गरेको उपाध्यक्ष गिरीले बताउनुभयो ।
यता स्वास्थ्य शाखा प्रमुख रामबहादुर रोकाय सार्वजनिक जग्गा पर्याप्त नभएका कारण भवन निर्माणमा ढिलाइ भएको बताउनुहुन्छ । गाउँपालिकाले यही पुस २८ गते स्वास्थ्यको भवन निर्माणका लागि जग्गा व्यवस्थापनका लागि विद्यालयको जग्गा प्राप्ति गर्ने निर्णय गरेको उहाँले बताउनुभयो ।
लिम्सामा १५ शश्याको अस्पतालको भवन निर्माणका लागि रु २३ करोड बजेट लागत अनुमान गरिएको थियो । ठेकेदारले घटेर रु १८ करोड ३९ लाख ४९ हजार दुई सय छ मा निर्माणको ठेक्का लिएको गाउँपालिकाका इञ्जीनियर केशव श्रेष्ठले बताउनुभयो ।
भवन निर्माणका लागि गाउँपालिकाले विसं २०७८ असार १४ गते ठेकेदारसँग सम्झौता गरेको थियो । सम्झौतामा दुई वर्षभित्र भवन निर्माण सम्पन्न गर्ने उल्लेख छ । तर सम्झौता अवधि सकिन पाँच महिनामात्र बाँकी रहँदा भवन निर्माणको सुरुआतसमेत हुनसकेको छैन । तत्कालीन वन तथा वातारणमन्त्री शक्तिबहादुर बस्नेतले अस्पतालको भवनको शिलान्यास गर्नुभएको थियो ।
बेसिक स्यालरीको नाममा ठगी: नर्स आन्दोलनको ‘जित’ कि ‘जालझेल’?
आइतबार, चैत २२, २०८२
थाकेका हात, दबिएको आवाजः नर्सहरूमा ‘बर्नआउट’ बढ्दो चिन्ता
बुधबार, चैत १८, २०८२
मुस्कानसहित सेवा अनिवार्यः१४ बुँदे निर्णयले कर्मचारी अनुशासनमा ‘ब्रेकथ्रु’
बुधबार, चैत १८, २०८२
नर्सबाट स्वास्थ्य मन्त्रीः निशा मेहताको यात्राले खोलेको नयाँ अध्याय
शुक्रबार, चैत १३, २०८२
