नेभिगेशन

फागुन ११ देखि हात्तीपाइलेविरुद्धको औषधि खुवाइने

जनस्वास्थ्य सरोकार, कैलाली । राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रम अन्तर्गत कैलालीको गौरीगङ्गा नगरपालिकामा आगामी फागुन ११ गते देखि २५ गतेसम्म हात्तीपाइलेविरुद्धको औषधि खुवाइने भएको छ ।

कैलालीका केही स्थानीय तहमा लक्ष्यभन्दा कम मानिसहरूले हात्तीपाइलेविरुद्धको औषधी सेवन गरेको पाइएकाले औषधी खुवाउने कार्यक्रम जिल्लाभरि एकसाथ गर्न लागिएको स्वास्थ्य कार्यालय कैलालीका हात्तीपाइले रोग फोकलपर्सन मीनबहादुर धामीले जानकारी दिनुभयो ।

दिगो विकास लक्ष्यअनुसार सन् २०३० सम्म हात्तीपाइले रोग निवारण गर्ने राष्ट्रिय सङ्कल्प रहेको उनले बताए । कुल जनसङ्ख्याको ६५ प्रतिशतलाई अनिवार्य रूपमा औषधी खुवाउनुपर्ने लक्ष्य रहेको छ । हालसम्मको सर्वेक्षणमा ४९।६७ प्रतिशतले औषधी खाएको पाइएकाले यस पटकको अभियानमा सबैले औषधी खानुपर्ने उहाँको भनाइ छ ।

यो औषधी सेवनले ९९ प्रतिशत मानिसहरू परजीवीमुक्त भएको भन्दै सम्पूर्ण मानिसले खान आवश्यक रहेको धामीले बताउनुभयो । नगर प्रमुख देवीदत्त कँडेलले हात्तीपाइले रोग निवारण गर्न सबै वर्ग र समुदायको सहभागितामा औषधी सेवन कार्यक्रमलाई सफल बनाउन सक्रियतापूर्वक स्वतःस्फूर्त रूपमा जनचेतना जगाउन आवश्यक रहेको बताउनुभो ।

यसपटक कैलालीमा स्वास्थ्य मापदण्डअनुसार नागरिकले औषधी सेवन गरेको सुनिश्चितता गर्न स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा ३ प्रकारका औषधी खुवाइने बताइएको छ । उचाइ अनुसार दुई वर्ष माथिका सबै मानिसले औषधी खानुपर्नेमा विगतमा अभियान सञ्चालन गर्दा केहीले नियमित रूपमा खाने तर शिक्षित, सहरी क्षेत्र र विपन्न वर्गका मानिसहरू बिहानै काममा निस्कने हुँदा नखाइदिने कारणले अपेक्षा गरिएको अनुसार अभियान सफल हुन नसकेको कार्यक्रमका सहभागी स्वास्थ्यकर्मीहरुले बताउनुभयो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट