
जनस्वास्थ्य सरोकार, जाजरकोट। आर्थिक रुपमा कमजोर भई आफैँ उपचार गर्न नसक्ने अपाङ्गता, अशक्त तथा असहाय बालबालिकाको जाजरकोटको नलगाड नगरपालिकाले उपचार सुरु गरेको छ ।
पहिलो चरणमा पालिकाले नलगाड नगरपालिका–४ स्थित जनता प्रावि पिपलचौरका सातजना विद्यार्थीलाई बनेपा अस्पतालमा उपचार सुरु गर्न लागिएको नगरप्रमुख डम्बरबहादुर रावतले जानकारी दिनुभयो ।
दोस्रो चरणमा पालिकाभित्रका सबै शारीरिक अशक्त तथा असहाय बालबालिकालाई दल्लीमा शिविर सञ्चालन गरेर उपचार गरिने उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार यहाँ उपचार सम्भव नभएकालाई बाहिर उपचार गरिने छ ।
“अहिले नगरपालिकाभित्रका सबै वडामा शारीरिक अशक्त तथा असहाय बालबालिकाको खोजी भइरहेको छ”, उहाँले भन्नुभयो ।
वडाध्यक्षलगायत अन्य सरोकारवाला निकायको पहलमा खोजी गरी फागुन १४ मा शिविर सञ्चालन गर्ने योजना रहेको पालिकाले जनाएको छ । नगरप्रमुख रावतले भन्नुभयो, “दल्लीमा उपचार सम्भव नभएकालाई बाहिर लगेर पूर्ण रुपमा उपचार गर्ने योजना अनुरुप काम भइरहेको छ ।”
पहिलो चरणमा उपचार गर्नेको प्रदेशस्थित अपाङ्ग बाल अस्पताल तथा पूर्नस्थापना केन्द्र वीरेन्द्रनगर सुर्खेतबाट सिफारिस गरी बनेपा अस्पतालमा लगिएको उहाँले जानकारी दिनुभयो । नगरपालिकाको यो अभियानले आर्थिक रुपमा पछि परी वषौँदेखि उपचार नपाएका बालबालिका तथा अभिभावक खुसी भएका छन् ।
यसअघि नगरपालिकाले आर्थिक कमजोर भएका परिवारलाई जटिल प्रकृतिको रोग लागेमा उपचारका लागि आर्थिक सहयोग गर्दै आएको प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले जानकारी दिनुभयो ।
नगरपालिकाको पहलमा अहिले पालिकास्तरमै आँखाको उपचार सेवा समेत सुरु भएको छ । आँखाको उपचार गर्न सदरमुकाम आउनुपर्ने बाध्यता अन्त्य भएसँगै यहाँका सर्वसाधारण घर, आँगनमै आँखाको जाँच गरी सेवा लिइरहेका छन् । रासस
बेसिक स्यालरीको नाममा ठगी: नर्स आन्दोलनको ‘जित’ कि ‘जालझेल’?
आइतबार, चैत २२, २०८२
थाकेका हात, दबिएको आवाजः नर्सहरूमा ‘बर्नआउट’ बढ्दो चिन्ता
बुधबार, चैत १८, २०८२
मुस्कानसहित सेवा अनिवार्यः१४ बुँदे निर्णयले कर्मचारी अनुशासनमा ‘ब्रेकथ्रु’
बुधबार, चैत १८, २०८२
नर्सबाट स्वास्थ्य मन्त्रीः निशा मेहताको यात्राले खोलेको नयाँ अध्याय
शुक्रबार, चैत १३, २०८२
