
जनस्वास्थ्य सरोकार, पाल्पा । रामपुर अस्पतालमा एपेन्डिसाइटिसको शल्यक्रिया सेवा सुरु भएको छ । पहिलोपटक सफलतापूर्वक शल्यक्रिया गरिएपछि चिकित्सक तथा स्थानीय खुसी भएका छन् ।
अब एपेन्डिसाइटिसको उपचारका लागि सदरमुकाम तानसेन जानुपर्ने समस्या हटेको छ । मङ्गलबार राति स्थानीय २१ वर्षीया सरला रेग्मीको सफलतापूर्वक शल्यक्रिया गरी सो सेवाको थालनी भएको हो । आफ्नै गाउँको अस्पतालमा सेवा पाएपछि अन्यत्र बिरामी लिएर धाउनुपर्ने समस्याबाट मुक्ति पाइएको बिरामीकी आमा सीता रेग्मीले बताउनुभयो ।
“रामपुरमै सेवा पाएपछि बाहिर उपचार गराउन जाने समस्या हटेको छ”, उहाँले भन्नुभयो, “गाउँमै पाएको सेवाले खुसी छौँ ।”
डा सुनिलकुमार दासको नेतृत्वमा पहिलोपटक अस्पतालमा सो सेवाको थालनी भएको हो । जानकी मेडिकल कलेज जनकपुरमा एमबिबीएस अध्ययनपश्चात डा दास यहाँ आउनुभएको हो । सफलतापूर्वक शल्यक्रिया भएपछि काम गर्न हौसला बढेको उहाँको भनाइ छ ।
“एपेन्डिसाइटिसका बिरामी उपचार गर्न टाढा जानुपर्ने समस्या निराकरण गर्न सेवा सरु गरेका हौँ, शल्यक्रिया सफल भएपछि उत्साह बढेको छ”, डा दासले भन्नुभयो ।
आधारभूत सेवा विस्तार गरी बहु–विशेषज्ञ सेवा थालनी गर्न रामपुर अस्पतालमा कार्यरत जनशक्ति परिचालन गरी शल्यक्रिया सेवा थालिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा विजय परियार बताउनुहुन्छ । पचास शय्याको अस्पताल निर्माण जारी छ । अस्पतालले सेवा बढाउँदै लगेको छ । शल्यक्रियाका लागि छुट्टै जनशक्ति व्यवस्थापन गरी एपेन्डिसाइटिसको सेवा सुरु गरिएको अस्पताल विकास समितिका अध्यक्ष रामप्रसाद ढकालले बताउनुभयो । छिट्टै विशेषज्ञसहितको सेवा दिने तयारी रहेको उहाँ बताउनुहुन्छ ।
अस्पतालले २०७७ चैतदेखि शल्यक्रियामार्फत प्रसूति सेवासमेत थालेको छ । एक हप्ताअघि हर्नियाको शल्यक्रिया सम्पन्न भएको छ । आर्थिक वर्ष २०७७/७८ मा १५, आव २०७८/७९ मा १६, आव २०७९/८० मा १२ जनाको सफलतापूर्वक प्रसूति शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ । आव २०७६/७७ मा दुई सय २२, आव २०७७/७८ मा दुई सय तीन, २०७८/७९ मा दुई सय ७६ र २०७९/८० को हालसम्म एक सय ७९ जनाले सामान्य प्रसूति सेवा लिएका छन् ।
अस्पतालबाट पूर्वी पाल्पासहित स्याङ्जा, तनहँु, नवलपुर (नवलपरासी सुस्तापूर्व)का स्थानीयले सेवा लिँदै आएका छन् । अस्पतालमा दैनिक दुई सयदेखि तीन सयसम्म बिरामी सेवा लिन आउने गर्दछन् ।
बेसिक स्यालरीको नाममा ठगी: नर्स आन्दोलनको ‘जित’ कि ‘जालझेल’?
आइतबार, चैत २२, २०८२
थाकेका हात, दबिएको आवाजः नर्सहरूमा ‘बर्नआउट’ बढ्दो चिन्ता
बुधबार, चैत १८, २०८२
मुस्कानसहित सेवा अनिवार्यः१४ बुँदे निर्णयले कर्मचारी अनुशासनमा ‘ब्रेकथ्रु’
बुधबार, चैत १८, २०८२
नर्सबाट स्वास्थ्य मन्त्रीः निशा मेहताको यात्राले खोलेको नयाँ अध्याय
शुक्रबार, चैत १३, २०८२
