नेभिगेशन

टर्की र सिरिया भूकम्पः २० हजार बढीको मृत्यु, हिउँका कारण जनजीवन झनै कष्टकर

जनस्वास्थ्य सरोेकार, काठमाडौँ । टर्की र सिरियामा सोमवार गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २० हजार भन्दा बढी पुगेको छ। यद्यपि संयुक्त राष्ट्र सङ्घले प्रकोपको पूर्ण असरबारे अझै यकिन नभएको बताएको छ।

उद्धारकर्मीहरूले जीवित मानिसहरूको खोजी गरिरहेका छन्। तर भूकम्प गएको १ सय घण्टा पुग्न लाग्दा बाँचेका कोही भेटिनेबारे आशा हराउँदै गएको छ।

अत्यधिक चिसो मौसमका कारण हजारौँ भूकम्प पीडितको जीवन समेत जोखिममा छ। उनीहरू प्रकोपपछि आवास, पिउने पानी र खानाबाट वञ्चित छन्।

टर्कीका राष्ट्रपतिले उक्त भूकम्पलाई ‘शताब्दीकै प्रकोप’ भनेका छन्। प्रभावितहरूका लागि एक प्रमुख अन्तर्राष्ट्रिय राहत प्रयासले गति लिएको छ।

विहीवार विश्व ब्याङ्कले टर्कीलाई आधारभूत पूर्वाधारको पुनर्निर्माण र भूकम्पबाट प्रभावितहरूलाई सहयोग गर्न तत्काल वित्तीय सहायतासहित १.७८ अर्ब डलर सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

तर भूकम्पले क्षति गरेका ठाउँहरूमा खटेका १,००,००० भन्दा बढी उद्धारकर्मीहरूको प्रयासमा भने सवारीसाधनको अभाव र सडकहरू भत्किनुलगायत समस्याका कारण अवरोध निम्तिरहेको छ।

संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरसले विपत्तिको पूर्ण हद अझै हाम्रो आँखा अगाडि देखा परिरहेको चेतावनी दिनुभएको छ। विशेषगरी लामो समयदेखि जारी गृहयुद्धले ध्वस्त पारेको सिरियाको स्थितिमा उहाँले जोड दिनुभयो ।

विहीवार इडलिब प्रान्तको बाब अल हवा क्रशिङ हुँदै उत्तर पश्चिम सिरियामा पहिलो संयुक्त राष्ट्र सङ्घीय मानवीय सहायता पठाइएको छ।

सिरियाली सरकार पक्षधर सेना नियन्त्रित क्षेत्रहरूमा नपुगी संयुक्त राष्ट्र सङ्घको सहायता प्रभावित क्षेत्रमा पुग्ने एक मात्र बाटो उक्त क्रशिङ हो।

गुटेरसले थप सहयोगको पठाउने प्रतिबद्धता जनाए र उनले संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद्लाई एकभन्दा बढी सीमामार्फत सहायता पठाउने अनुमति दिन आग्रह गर्नुभयो।

यो एकता हुनुपर्ने परिस्थिति हो। यो राजनीति गर्ने वा विभाजित हुने क्षण होइन। अहिले हामीलाई ठूलो सहयोग आवश्यक छ भन्ने कुरा स्पष्ट छ।

भूकम्पपछि अलेपोबाट विस्थापित चार सन्तानकी आमा मुनिरा मोहम्मदले रोयटर्ससँग आफूहरूलाई तातो र थप सामग्रीको असाध्यै आवश्यकता रहेको सुनाउँदै भन्नुभयो ‘हिजो राति निकै जाडो भएकाले हामी सुत्न सकेनौँ। यो स्थिति साह्रै खराब छ।’

ह्वाइट हेल्मेट उद्धार समूहका अनुसार त्यस क्षेत्रमा पुगेको संयुक्त राष्ट्र सङ्घको एक मात्र समूहसँग भग्नावशेषमुनि पुरिएका मानिसहरूको उद्धार गर्न आवश्यक विशेष उपकरणहरू थिएनन्।

टर्कीमा हालसम्म १७,१३४ जनाको मृत्यु भएको र सिरियामा कम्तीमा ३,१६२ जनाको मृत्यु भएको अधिकारीहरूले विहीवार जानकारी दिएका छन्।

यससँगै सन् १९९९ मा उत्तरपश्चिम टर्कीमा गएको भूकम्पका कारण ज्यान गुमाएका १७,००० भन्दा बढी मानिसको मृत्यु पुष्टि भएको छ।

टर्की र सिरियाका दशौँ हजार मानिस भूकम्पका कारण घरविहीन भएपछि अत्यधिक चिसोमा अस्थायी आश्रयस्थलहरूमा चौथो रात बिताइरहेका छन्।

दक्षिण(पूर्वी टर्कीका रिजत गोज्लु अहिले आफ्नो परिवारसँग खेलकुद कम्प्लेक्सको भुईँमा आश्रित छन्। उनले भूकम्प गएको तीन दिनसम्म पनि उद्धारकर्मीहरू आफूकहाँ नपुगेको बताउनुभयो।

उहाँका अनुसार धेरै मानिस भग्नावशेषमुनि फसेका छन् र अन्य केही मानिसको हाइपोथर्मियाका कारण मृत्यु भएको छ।

‘यदि यो क्रम जारी रह्यो भने यहाँ गम्भीर स्वास्थ्य समस्याहरू देखिन सक्छन्। मानिसहरू बिरामी हुन सक्छन्,’ उहाँले बीबीसीलाई भन्नुभयो ।

विश्व स्वास्थ्य सङ्गठन ९डब्ल्यूएचओ०ले पनि यदि जीवितहरूले तत्काल आश्रय, खाना, पानी र औषधि नपाएको खण्डमा दोस्रो मानवीय प्रकोपले प्रहार गर्न सक्ने चेतावनी दिएको छ।

डब्ल्यूएचओको युरोपका लागि क्षेत्रीय निर्देशक डाक्टर हान्स क्लुगेले टर्कीको गाजियान्टेपमा “निरन्तर गइरहेको सयौँ परकम्पहरूका कारण” सङ्गठनका कर्मचारीहरूलाई कारमा सुत्नु परेको बीबीसीलाई बताउनुभयो ।

डा। क्लुगेलेका अनुसार सिरियाका पीडितहरू पनि पहिलो पटक पुर्‍याइएको पिउने पानीको भण्डारणमा निर्भर छन्।

त्यहाँ भूकम्प अघि देखिएको हैजाको जोखिम कम गर्न ती भण्डारणमा पानी प्रतिस्थापन गर्न आवश्यक रहेको उहाँले बताउनुभयो । बीबीसीबाट

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट