
जनस्वास्थ्य सरोकार, काठमाडौं । उपेन्द्र देवकोटा मेमोरियल न्युरो अस्पतालकी अध्यक्ष प्रा.डा. मधु दीक्षित देवकोटा उत्कृष्ट व्यवस्थापन अवार्डबाट सम्मानित हुनुभएको छ ।
अनुकरणीय व्यवस्थापन शैलीमा अस्पताललाई निरन्तरता दिन सफल भएको मूल्याङ्कन गर्दै नेपाल व्यवस्थापक संघले अवार्ड प्रदान गरेको हो । राजधानीमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री विष्णु पौडेलले प्रा.डा. मधुलाई सो अवार्ड प्रदान गर्नुभएको थियो ।
उपेन्द्र देवकोटा मेमोरियल न्युरो हस्पिटलकी संस्थापक अध्यक्ष हुनुहुन्छ प्रा.डा. मधु । यस बाहेक उहाँले आफ्नो जीवनको ३४ वर्ष त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान, महाराजगञ्जमा अध्यापनमा बिताउनुभयो । सन् १९८४ मा शिक्षण अस्पताल महाराजगञ्जमा मेडिकल अफिसरको रुपमा सेवामा प्रवेश गर्नुभएकी डा. मधु पछिल्लो समय सहायक डिनसम्म हुनुभयो । त्यतिखेर शैक्षिक र योजना गरी उहाँलाई दुई वटा पोर्टफोलियोको जिम्मा दिइएको थियो । श्रीमान वरिष्ठ न्युरो सर्जन प्रा.डा. उपेन्द्र देवकोटा बिरामी परेपछि उहाँलाई उपचारार्थ बेलायत लानुपर्यो र प्रा.डा. मधुले सो कार्यलाई निरन्तरता दिन सक्नुभएन । कुर्सी खाली रहँदा व्यवस्थापनलाई गाह्रो होला भनेर उतैबाट राजिनामा पठाउनुभयो ।

प्रा.डा. देवकोटाको अवसान उपरान्त उहाँ पूर्णकालीन रुपमा अस्पतालको व्यवस्थापनमा आवद्ध रहिरहनुभएको छ । अहिले प्रा.डा उपेन्द्र देवकोटा नभएको अवस्थामा प्रा.डा. मधुले अस्पतालको व्यवस्थापनलाई राम्रोसँग कार्यान्वयमा ल्याउन सफल हुनुभएको छ ।
प्रा.डा.देवकोटाले मस्तिष्क तथा स्नायुरोगको संवेदनशीलतालाई ध्यानमा राखी पेसेन्ट फस्ट (पहिला बिरामी) भन्ने विशिष्ट सिद्धान्त प्रतिपादित गर्नुभएको थियो । त्यसैअनुरुप आज पनि बिरामीलाई केन्द्र बिन्दुमा राखी अति विशिष्ट चिकित्सक एवं प्राविधिक स्वास्थ्यकर्मीको टोली (मल्टी डिसिप्लिनरी टीम) बाट रोगको निदान एवं उपचारको समुचित व्यवस्थापन गरिएकोे छ ।
‘धेरै आलोचनात्मक अवस्था पार गरेर हामी यहाँसम्म आइपुगेका छौं । आउँदा दिनमा हामी सँगै अघि बढेर अझ दह्रो हुँदै जानेछौं ।’—प्रा.डा. मधुले बताउनुभयो ।
उपलब्ध सेवाहरुलाई अझै बढि गुणस्तरीय बनाउन यस अस्पतालमा लामो समय डा. देवकोटासँग काम गरेका अनुभवी स्वास्थ्यकर्मीहरु सहित स्नायु तथा स्नायुसम्बद्ध विशेषज्ञहरुको समुह २४ सै घण्टा सेवारत रहेका छन् । थप नयाँ प्रविधि एवं सोहि अनुरुप दक्ष विशेषज्ञहरुको आगमनले यस अस्पतालमा प्रदान गरिने स्नायुसम्बन्धि सेवाको दायरा अझै फराकिलो, विस्तृत एवं गुणस्तरीय बनेको छ ।

‘मैले भोगेको दुःख र संघर्षले मलाई खारेको हो कि जस्तो लाग्छ । वास्तवमा म आफ्नो व्यक्तित्व र आफ्नो भोगाइसँग मेल खाने साधारण मान्छे हुँ । मेरी आमा गान्धीवादी महिला हुनुहुन्थ्यो । उहाँले धेरै पढ्नुभएको पनि थिएन । तर मन सफा र सेवाभाव राख्ने , फाटेको लुगा भएपनि सिएर सफा बनाएर लगाउन लाज मान्न हुँदैन भन्नुहुन्थ्यो । मैले अवसर पाएँ, पढेँ, एउटा विशेष मान्छेसँग जीवन निर्वाह गरेँ ।’— प्रा.डा. मधु भन्नुहुन्छ—‘ त्यहि शिक्षा मैले हाम्रा ३ वटा छोरीहरु लाई दिएकी छु । ‘हिजोको तिमी भन्दा आजको तिमी अझैराम्रो मान्छे कसरी बन्ने’ भनेर छोरीहरुलाई भन्ने गर्छु ।’
योनिमा हुने ब्याक्टेरियाले कसरी स्वास्थ्यमा सुधार ल्याउँछ
आइतबार, फागुन १७, २०८२
ठूला स्तनका कारण महिलाहरूले कस्ता समस्याहरूको सामना गर्छन् ?
शुक्रबार, फागुन १५, २०८२
चुनावी घोषणापत्रमा स्वास्थ्यको होडः कागजमै सीमित नहोस् स्वास्थ्यका सपना
बिहीबार, फागुन ७, २०८२
विश्व क्यान्सर दिवसमा भक्तपुर क्यान्सर अस्पतालको जनचेतना र क्यान्सर जाँच अभियान
बुधबार, माघ २१, २०८२
