
जनस्वास्थ्य सरोकार, काठमाडौँ । बिना प्रेस्क्रिप्शन जथाभाबी एन्टिबायोटिक औषधिको प्रयोग गर्ने वा चिकित्सकले दिएको पूरा मात्रा नखाने गर्दा मानिसमा एन्टिबायोटिकले नछुने समस्या देखिन थालेको छ ।
परिणामस्वरूप सामान्यतया चाँडै निको हुनु पर्ने रोग पनि निको हुन लामो समय लाग्ने, उपचार सफल नहुने, औषधिले काम नगर्ने जस्ता समस्या देखिने चिकित्सकहरु बताउँछन ।
अहिले हरेक वर्ष ७ लाख मानिसको एन्टिबायोटिक रेजिस्टेन्सका कारण मृत्यु भइरहेको छ भने सन् २०५० सम्म प्रतिवर्ष १ करोड मानिसहरुको ज्यान जान सक्ने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ ।
के हो एन्टिबायोटिक रेजिस्टेन्स ?
एन्टिबायोटिक खाँदा मर्नुपर्ने वा बृद्धि रोकिनुपर्ने हो ती बाँच्ने र अझ बृद्धि भएर जुन औषधिले काम गर्नुपर्ने हो त्यसले काम नगर्नुलाई एन्टिमाइक्रोबिएल रेजिस्टन्स भनिन्छ ।
एन्टिमाइक्रोबिएल रेजिस्टन्सको कारण सामान्यतया निको हुनुपर्ने रोग पनि सन्चो नभइ लामो समयसम्म रोगीहरु निको नहुने, उपचार सफल नहुने र औषधि दिँदा पनि बिरामी निको नहुने समस्या देखिएको वीर अस्पतालका विशेषज्ञ चिकित्सक एवं माइक्रोबायोलोजिस्ट डा. सिर्जना पाण्डे बताउनुहुन्छ ।

फार्मेसीमा गएर आफै औषधि किन्ने, औषधि खाँदा खाँदै सन्चो भएजस्तो लागेर औषधिको पुरा डोज नखाने जस्ता कारणले एन्टिबायोटिक रेजिस्टेन्सको समस्या बढेको उहाँको भनाई छ ।
उहाँ भन्नुहुन्छ–‘एन्टिबायोटिक बन्नुभन्दा अगाडि प्री–एन्टिबायोटिक युग थियो, जहाँ औषधि नभएर साधारण तरिकाले हुने छालाको संक्रमणको औषधोपचार नपाएर मृत्यु नपाएर बिरामीको मृत्यु हुन्थ्यो भने अहिले हामी पोस्ट–एन्टिबायोटिक युगमा जाँदै छौँ । जसमा फेरी पनि साधारण संक्रमण भएपनि उपचार नभएको कारणले गर्दा मृत्यु हुने वा उपचार नहुने वा दीर्घकालीन रोगहरु हुने समस्या हुन सक्छ ।’
फलफूल र तरकारीबाट फैलिन सक्छन् एन्टिबायोटिक प्रतिरोध गर्ने जीवाणु
काठमाण्डूको विभिन्न ठाउँबाट सङ्कलित फलफूल र तरकारीका नमुनामा गरिएको तीन वर्ष लामो अनुसन्धानका क्रममा एन्टिबायोटिक प्रतिरोधी जीवाणुहरू फेला परेको अनुसन्धानकर्ताहरु बताउँछन ।
त्यस्ता जीवाणुले मानिसलाई सङ्क्रमण गर्दा उपचार नहुने वा दीर्घकालीन रोग हुने गरेको विज्ञहरूको भनाई छ ।
सन २०१९ को अक्टोबरदेखि सन २०२२ को अगस्टसम्म गरेको अनुसन्धानमा नेपालमा बिक्री हुने फलफूल तथा तरकारीहरुमा विभिन्न एन्टिबायोटटिक रेजिस्टेन्ट ब्याक्टेरिया भेटिएको बायोसाइन्स तथा बायोटेक्नोलोजी अनुसन्धान संस्थानका अनुसन्धानकर्ता मितेस श्रेष्ठ बताउनुहुन्छ ।
उहाँ भन्नुहुन्छ–‘हामीले देखाएको चाहिँ फलफूल र तरकारी एउटा माध्यम मात्र हुनसक्छ । पानी छ, हावा छ । त्यो हिसावले फलफूल र तरकारी एउटा माध्यम हो । जसले मानिसलाई बिरामी पार्न सक्छ ।
अनुसन्धानकर्ता श्रेष्ठका अनुसार फलफूल अथवा तरकारी खाँदा राम्रोसँग धोएर मात्र खानुपर्छ । साथै एन्टिबायोटिकको जथाभावी प्रयोगलाई नियन्त्रण गर्नुपर्छ ।
नेपाल औषधि ऐन २०३५ को दफा १७ को उपदफा २ का अनुसार एन्टिबायोटिक चिकित्सकको प्रेस्क्रिप्शनबिना बिक्रि वितरण गर्न नहुने औषधि हो । बीबीसी
बेसिक स्यालरीको नाममा ठगी: नर्स आन्दोलनको ‘जित’ कि ‘जालझेल’?
आइतबार, चैत २२, २०८२
थाकेका हात, दबिएको आवाजः नर्सहरूमा ‘बर्नआउट’ बढ्दो चिन्ता
बुधबार, चैत १८, २०८२
मुस्कानसहित सेवा अनिवार्यः१४ बुँदे निर्णयले कर्मचारी अनुशासनमा ‘ब्रेकथ्रु’
बुधबार, चैत १८, २०८२
नर्सबाट स्वास्थ्य मन्त्रीः निशा मेहताको यात्राले खोलेको नयाँ अध्याय
शुक्रबार, चैत १३, २०८२
