
जनस्वास्थ्य सरोकार, मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौँडास्थित मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौँडा अस्पतालको नवनिर्मित भवन उद्घाटन गरिएको छ । सुविधा सम्पन्न तीन तले नवनिर्मित भवनको मङ्गलवार एक कार्यक्रमकाबीच राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुभएको हो ।
भवन उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौँडा अस्पतालले दिने सेवा सर्वसुलभ र गुणस्तरीय हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले स्वास्थ्य मानिसबाट मात्रै स्वस्थ समाज र सुदृढ राज्य निर्माण कार्यलाई यथार्थ कार्यरूप दिने भन्दै प्रतिष्ठानले यो अभियानमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनु भएको छ ।
नागरिकहरूलाई उत्कृष्ट स्वास्थ्य सेवा र स्वास्थ्यकर्मी, चिकित्सक तयार गर्नेमा विश्वस्त रहेको, स्वास्थ्य र शिक्षाको नाममा विदेश पलायन हुने जनशक्तिलाई स्वदेशमै उच्च शिक्षा र उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गर्न प्रतिष्ठानको महत्वपूर्ण भूमिका हुने उहाँको भनाई थियो ।
अहिलेको समयमा सर्ने तथा नसर्ने रोगहरू फैलँदै जानु चिन्ताको विषय भएको बताउनुहुँदै उहाँले जनस्वास्थ्य कार्यक्रमलाई जनताको घरदैलो सम्म पुर्याउन आग्रह गर्नुभयो । स्वस्थ व्यक्तिबाट मात्र उत्कृष्ट समाज निर्माण हुने भन्दै गुणस्तरीय सेवालाई आम नागरिकसम्म पुर्याउनु राज्यको दायित्व भएको बताउनुभयो ।
नेपालको संविधानमा नागरिकको लागि सुनिश्चित स्वास्थ्य सेवाको अधिकार लागू गराउनमा प्रतिष्ठानले टेवा पुर्याउने उहाँले बताउनुभयो । “नेपालको औद्योगिक क्षेत्रको रूपमा रहेको प्रदेशको राजधानीमा, स्थापित यो प्रतिष्ठानले जनतालाई माया गर्ने स्वास्थ्यकर्मी उत्पादन गर्न सक्दामात्रै र स्वास्थ्य अनुसन्धानको क्षेत्रमा काम गर्दा मात्रै जननेता मदन भण्डारीको नाममा स्थापित यस प्रतिष्ठानको उद्देश्य सार्थक हुनेछ” उहाँले भन्नुभयो ।
राष्ट्रपति भण्डारीले जनताको स्वास्थ्यका निमित्त स्वास्थ्य क्षेत्रमा विकास हुन जरुरी रहेको बताइन् । आम नागरिकलाई गुणस्तरीय सेवा प्रदान गर्न जननायक मदन भण्डारीको स्मृतिमा भवन निर्माण हुनुले आफूलाई खुसि लागेको उहाँले बताउनुभयो । केवल रोग नलाग्नु मात्र स्वस्थ हुनु होइन स्वस्थ हुन सकारात्मक रहनु नै वास्तवमा स्वस्थ रहनु हो, हाल व्याप्त जनसङ्ख्या वृद्धि, सङ्क्रामक रोगहरूको प्रकोपलाई न्युनिकरण गर्ने कुरामा मध्यनजर गर्दै सार्वजनिक स्वास्थ्य सेवालाई सुदृढ गर्न तिनै तहको सरकारको महत्वपूर्ण भूमिका रहने उहाँले बताउनुभयो ।
कार्यक्रममा मुख्यमन्त्री शालिकराम जमरकट्टेलले २०७४ सालको निर्वाचन पश्चात् स्थापना भएको बागमती प्रदेश सरकारले शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर काम गरेको बताउनुभयो । कार्यक्रममा प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले २०७६ असोज २ गते मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले बागमती प्रदेश सभाबाट विधिवत् रुपमा नामाकरण भई काम सुरु गरेको बताउनुभयो । उहाँले बागमती प्रदेशको दुरदराजका विकट गाउँहरूमा स्वास्थ्य जनशक्ति उपलब्ध गराउने काममा प्रतिष्ठानले महत्त्वपूर्ण भूमिका खेल्नु पर्ने बताउनुभयो । भवन सङ्घीय सरकारले बीएस कन्ट्रक्सन कम्पनीसँग करिब ३५ करोड रुपैयाँ लगानीमा सम्झौता गरि मिति २०७६ भाद्र ७ गतेदेखि निर्माण कार्य सुरु भएको थियो ।
उद्घाटनपछि राष्ट्रपति भण्डारीले अस्पतालको अवलोकन तथा निरीक्षण समेत गर्नु भएको थियो । अस्पतालको नवनिर्मित भवन उद्घाटन समारोह कार्यक्रम मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान उपकुलपति विश्वराज जोशीको सभाध्यक्षता भएको हो । कार्यक्रममा बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मा, बागमती प्रदेशका मुख्यमन्त्री तथा प्रतिष्ठानका कुलपति शालिक राम जम्मरकट्टेल, प्रदेश सरकारका प्रथम मुख्यमन्त्री डोरमणि पौडेल, प्रदेश सभामुख भुवन पाठक, प्रतिष्ठानका सहकुलपति तथा स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठ, प्रतिनिधि सभा सदस्य महेश बर्तौला, राष्ट्रिय सभा सदस्य रामचन्द्र राई लगायतको उपस्थिति थियो ।
नयाँ भवन निमार्णसँगै हेटाँैडा अस्पतालले आफ्नो सेवा र जनशक्ति थप गरी गुणस्तरीय उपचार दिने उहाँले बताउनुभयो । अस्पतालबाट हाल दैनिक सात सय ५० जनाले बहिरङ्ग सेवा प्राप्त गरिरहेका अस्पताल व्यवस्थापनले जनाएको छ । रासस
बेसिक स्यालरीको नाममा ठगी: नर्स आन्दोलनको ‘जित’ कि ‘जालझेल’?
आइतबार, चैत २२, २०८२
थाकेका हात, दबिएको आवाजः नर्सहरूमा ‘बर्नआउट’ बढ्दो चिन्ता
बुधबार, चैत १८, २०८२
मुस्कानसहित सेवा अनिवार्यः१४ बुँदे निर्णयले कर्मचारी अनुशासनमा ‘ब्रेकथ्रु’
बुधबार, चैत १८, २०८२
नर्सबाट स्वास्थ्य मन्त्रीः निशा मेहताको यात्राले खोलेको नयाँ अध्याय
शुक्रबार, चैत १३, २०८२
