नेभिगेशन

बीरगंजमा लामखुट्टे नियन्त्रणका लागि एयर स्प्रे तथा पम्प स्प्रेमार्फत विषादी छर्न शुरु

जनस्वास्थ्य सरोकार, बीरगंज । वीरगंज महानगरपालिकाले लामखुट्टे नियन्त्रणका लागि एयर स्प्रे तथा पम्प स्प्रेमार्फत विषादी छर्न सुरु गरेको छ । 

गर्मी सुरु भएसँगै वीरगञ्जमा लामखुट्टेको प्रकोप बढ्न थालेपछि नियन्त्रणका लागि ‘एयर स्प्रे तथा पम्प स्प्रे’ मार्फत विषादी छर्न सुरु गरेको वीरगञ्ज महानगरपालिकाले जनाएको छ । 

सरसफाइ व्यवस्थापन शाखाका अधिकृत सरफुदिन मियाले बुधबारदेखि ‘एयर स्प्रे र पम्प स्प्रे’ गर्न थालिएको जानकारी दिनुभयो । 

पहिलो दिन महानगरपालिकाको वडा नं. १, २ र ३ फगिङ गरिएको र वडा नम्बर ४ मा पम्प स्प्रे गरिएको उहाँले बताउनुभयो । 

एयर स्प्रेमा हावामा मट्टितेलमा विषादी मिसाएर छर्ने गरिएको छ भने खुल्ला नालामा पम्पले स्प्रे गरिन्छ । बिहान १०ः०० बजेदेखि नै पम्पमा विषादीसहितको घोल बनाएर नाला तथा पानी जमेका स्थानमा छर्कने गरिएको अधिकृत मियाले बताउनुभयो । उहाँका अनुसार एयर स्प्रे मेसिनबाट बेलुका ५ः०० बजेपछि विषादी छर्ने काम भइरहेको छ । 

चैत ६ गतेसम्म ३२ वटै वडामा लामखुट्टे मार्ने विषादी छर्कने गरि तालिका बनाइएको छ । लामखुट्टेको लार्भा मार्न बिहान र दिउँसोको समयमा ३ राउण्ड पम्प स्प्रे गर्ने र वयस्क लामखुट्टे मार्न बेलुका एयर स्प्रे गर्ने गरिएको महानगरपालिकाले जनाएको छ । 

वीरगञ्जमा चिसो र गर्मी मौसम सुरु हुँदै गर्दा लामखुट्टेको अत्यधिक प्रकोप देखिन्छ । लामखुट्टे हुर्कन नदिन र हुर्किसकेकोलाई नियन्त्रण गर्न वीरगञ्ज महानगरपालिकाले वर्षमा दुई पटक विषादी छर्ने गरेको छ । 

लामखुट्टेको टोकाइबाट फैलिन सक्ने डेंगु, मलेरियाजस्ता प्राणघातक रोगको संक्रमण फैलन नदिन विषादी छर्न सुरु गरिएको बीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले बताउनुभयो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट