
जनस्वास्थ्य सरोकार, बनियानी । झापाको बिर्तामोड नगरपालिकामा साढे पाँच करोडको लागतमा नगर अस्पताल भवन निर्माण सम्पन्न भएको छ ।
संघीय सरकारको रू पाँच करोड ५० लाख सात हजार सात सय ६० लागतमा १५ शैय्याको नगर अस्पताल भवन निर्माण भएको हो । भवन निखिल निर्माण सेवा प्रालिले निर्माण गरेको बिर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौनोपाले जानकारी दिनुभयो ।
नगरपालिकाले स्वास्थ्यलाई विशेष प्राथमिकतामा राखेको नगरप्रमुख पवित्रा महतरा प्रसाईंले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हरेक नगरवासीमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्यका साथ लागेका छौँ ।”
नगर अस्पतालबाट २१ प्रकारका सेवा प्रवाह हुने छन् । नगर अस्पतालबाट स्वास्थ्य बिमासहित दैनिक बहिरंग, प्रयोगशाला, भिडियो एक्स–रे, ईसीजी, प्रसुती, एक्स–रे लगायतका सेवा प्रवाह हुने नगर अपस्तालका नवनियुक्त मेडिकल सुपरिटेन्डेन्ट डा सुनिल अधिकारीले बताउनुभयो । “विश्वसनीय र गुणस्तरीय सेवा प्रदान गर्छौं”, उहाँले भन्नुभयो, “विशेष परिस्थिति बाहेक रिफर दिइने छैन ।”
नगर अस्पतालका हाल ३६ जनशक्ति व्यवस्थापन भइसकेको छ । एक जना विशेषज्ञसहित तीन मेडिकल अधिकृत, प्यारामेडिक्स १२, नर्स सात, प्रयोगशालामा चार, रेडियोग्राफर एक, प्रशासन कर्मचारी एक, कार्यालय सहयोगी चार, सरसफाइ कर्मचारी दुई र सुरक्षा गार्ड एक गरी ३६ जनशक्ति व्यवस्थापन गरिएको नगरपालिकाका स्वास्थ्य शाखा अधिकृत राजिव विष्टले जानकारी दिनुभयो ।
अस्पताल परिसरमा थप रू १८ करोड ५० लाखको लागतमा भवन निर्माणको तयारी भइरहेको छ । भवनसँगै क्रमशः अस्पतालबाट प्रवाह हुने सेवा विस्तार गरिने जनाइएको छ । रासस
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३
