नेभिगेशन

सातौँ अन्तर्राष्ट्रिय आयुर्वेद महासभा काठमाडौँमा सुरु

जनस्वास्थ्य सरोकार, काठमाडौँ । सातौँ अन्तर्राष्ट्रिय आयुर्वेद महासभा काठमाडौँमा हुने भएको छ । ‘सबैका लागि समग्र स्वास्थ्योपचार’ भन्ने मुल नाराका साथ फागुन १९ गते शुक्रबारदेखि आइतबारसम्म सञ्चालन हुने सो सम्मेलनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुहुने कार्यक्रम रहेको छ।

नेपाल महर्षि वैदिक फाउण्डेशन र नेपाल आयुर्वेद चिकित्सक सङ्घले संयुक्तरूपमा आयोजना गर्ने महासभामा युरोप, भारत र नेपालका तीन सय विज्ञको सहभागिता रहने जनाइएको छ। महासभाले आयुर्वेदलाई जनजागरणका रूपमा विकास गरी जीवन विज्ञानका रूपमा ग्रहण गर्न सहयोग मिल्ने विश्वास लिइएको छ।

बिहिबार राजधानीमा आयोजित पत्रकार सम्मेलन कार्यक्रममा फाउण्डेशनका अध्यक्षसमेत रहनुभएका पूर्वमन्त्री दीपकप्रकाश बाँस्कोटाले चार उपवेदमध्येको एक आयुर्वेद स्वास्थ्यका विषयमा पूर्ण ज्ञान भएकाले यसको प्रवर्द्धनका लागि नेपालमा कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो । महर्षि महेश योगीले वेदका ४० शाखाबाट मुख्य–मुख्य विषय समेटी १२ क्षेत्रमा गर्नुभएको काममध्ये एक आयुर्वेद भएकाले यसका बारेमा जागरण गर्न कार्यक्रम गर्न लागिएको उहाँको भनाई छ ।

फाउण्डेशनले वैदिक शिक्षा, कृषि, वास्तुलगायत विषयमा पनि काम गरिरहेको जनाइएको छ। सङ्घका अध्यक्ष डा श्यामबाबु यादवले भारतमा आयुर्वेद हेर्ने छुट्टै मन्त्रालय भएको उल्लेख गर्दै नेपालमा प्राथमिकतामा नपरेको जडीबुटीमा आधारित औषधि विज्ञानलाई प्रवर्द्धन गर्न महासभाले सहयोग गर्ने बताउनुभयो । सङ्घले सातै प्रदेशमा आयुर्वेद अस्पताल बनाउने मागलाई नीतिगतरूपमा व्यवस्था गर्न सफल भए पनि कार्यान्वयन हुन नसकेको उहाँले जानकारी दिनुभयो ।

यो सम्मेलन एसिया महादेशमै पहिलोपटक नेपालमा आयोजना गर्न लागिएको हो। सन् २०१५ मा नेदरल्याण्ड्सको रोयतमोल्ड, सन् २०१७ मा संयुक्त अधिराज्य बेलायतको लण्डन, सन् २०१८ मै तीनवटा महासभा नेदरल्याण्ड्सका विभिन्न सहरमा आयोजना गरिएको थियो। यसैगरी सन् २०१८ मै सोल्भानियामा महासभा आयोजना गरिएको थियो।

महासभाका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, भारतको आयुष मन्त्रालयले पनि सहयोग गरेको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो। कार्यक्रमको प्रमुख आयोजक नेदरल्याण्ड्सको अन्तर्राष्ट्रिय महर्षि आयुर्वेद फाउण्डेशन, अल इण्डिया आयुर्वेद कङ्ग्रेस दिल्ली र अन्तर्राष्ट्रिय एकेडेमी अफ आयुर्वेद पुने रहेका छन् । अन्तर्राष्ट्रिय आयुर्वेद महासभामार्फत एक्काइसौँ शताब्दीका जनतालाई परम्परागत आयुर्वेद सेवा प्रदान गर्न विश्वव्यापी जागरण गर्ने कार्यक्रम रहेको छ।

आयुर्वेदमा विश्वव्यापी पुनःउत्थान महाअभियान सञ्चालन गर्ने उद्देश्यले आयोजित महासभामा ९० वटा प्रस्तुति रहने जनाइएको छ। कार्यक्रमले नेपालमा आयुर्वेद पुनःस्थापित गर्न सहयोग गर्ने विश्वास लिएको आयोजक संस्थाको भनाइ छ। रासस

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट