
जनस्वास्थ्य सरोकार, भक्तपुर। यहाँका निजी अस्पतालले बिरामीको उपचारदेखि औषधिमा समेत बढी मूल्य लिने गरेको पाइएको छ । अरनिको राजमार्गसँगै जोडिएका यहाँका ठुला निजी अस्पतालले औषधिमा समेत बिरामीलाई कानुन विपरीत एक सय १० प्रतिशतसम्म बढी मूल्य लिएर औषधि र उपचारका सामग्री बिक्री गर्ने गरेको पाइएको हो ।
जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा यहाँका अस्पतालका औषधि पसलमा गरिएको आकस्मिक अनुगमनमा औषधिमा समेत बिरामीलाई ठगी गर्ने गरेको पाइएको अनुगमन टोलीका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “अनुगमनका क्रममा यहाँका निजी अस्पतालले सञ्चालन गरेका फार्मेसीले नियम विपरीत चर्को मूल्यमा बिक्री गरेको र नार्कोटेकजस्ता आषधि पनि सँगै राखेर बिक्री गरेको पाइएको छ ।”
अनुगमन समितिले मध्यपुरथिमिमा सञ्चालित मध्यपुर अस्पताल, नागरिक कम्युनिटी टिचिङ अस्पताल गठ्ठाघर, भक्तपुर इन्टरनेसल अस्पताल कौशलटार र समिट अस्पताल लोकन्थलीमा अनुगमन गर्ने क्रममा अस्पतालका औषधि बिक्री कक्षले नियम विपरीत औषधि बिक्री गर्ने गरेको पाइएको हो ।
अनुगमनका क्रममा भक्तपुर इन्टरनेसल अस्पतालको फार्मेसीले नियमभित्र रहेर औषधि बिक्री गरेको तर मध्यपुर, नागरिक कम्युनिटी र समिट अस्पतालका फार्मेसीले भने चर्को मूल्य लिएर औषधि तथा औषधिजन्य पदार्थ बिक्री गरेको पाइएको उहाँले जानकारी दिनुभयो ।
यहाँका अस्पतालका फार्मेसी सञ्चालकले ३२ देखि एक सय १० प्रतिशतसम्म बढी मूल्य लिएको अनुगमनका क्रममा पाइएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख उमेशकुमार दाहालले जानकारी दिए । उनका अनुसार सर्जिकल सामग्रीमा अत्यधिक मूल्य वृद्धि गरेर बिक्री गरेको पाइएको छ ।
नागरिक अस्पताल फार्मेसीले लागूऔषधका रुपमा प्रयोग हुने नार्कोटेक लगायतका औषधि पनि एकै ठाउँमा राखेर बिक्री गरेको पाइएको बताइएको छ । नियमानुसार यस्ता औषधि छुट्टै राख्नुपर्ने र चिकित्सकको अनुमति बिना बिक्री गर्न नपाइने भए पनि एकै ठाउँमा राखेर जथाभाबी बिक्री गरेको पाइएको उहाँले बताउनुभयो ।
अनुगमनमा समिट अस्पतालले म्याद नाघेका औषधि पनि सँगै बिक्री गर्ने गरेको पाइएको छ । यस अस्पतालले औषधि राखेको फ्रिजमा तरकारीसमेत राखेको बताइएको छ । स्वास्थ्य कार्यालय भक्तपुरले औषधिमा तरकारी मिसाएर राख्नु गम्भीर लापरबाही भएको अनुगमनकै क्रममा बताएको छ ।
अनुगमन समितिका संयोजक एवं सहायक प्रजिअ शर्माले अरनिको राजमार्ग नजिक सञ्चालनमा रहेका अस्पतालका फार्मेसीमा बढी मूल्य लिएर बिरामीलाई औषधि बिक्री गरेको र प्राविधिक कमजोरी गरेको देखिएकाले तीन दिनभित्र जिल्ला प्रशासन कार्यालयमा हाजिर हुन निर्देशन दिइएको बताए । नियम विपरीत सञ्चालन भएका अस्पतालका फार्मेसीलाई प्रचलित कानुनअनुसार कारबाही गरिने उहाँले बताउनुभयो ।
फार्मेसी सञ्चालकले भने अहिलेसम्म अनुगमन नगरेको र फार्मेसीको नाफा अस्पतालका सञ्चालक समितिका सदस्यलाई समेत वितरण गर्नुपर्ने भएकाले महँगो लिनु परेको बताएका छन् ।
भक्तपुरमा अनुगमन हुन बाँकी रहेका निजी अस्पताल अभ्युदय अस्पताल, डा. इवामुरा मेमोरियल अस्पताल, सिद्धिस्मृति बाल अस्पतालका साथै यहाँका क्लिनिक तथा औषधि पसलले औषधि र सर्जिकल सामग्रीमा बिरामी ठगेर मनोमानी रुपमा रकम असुल्ने गरेको बिरामीका आफन्तहरूले लामो समयदेखि गुनासो गर्दै आएका छन् ।
बेसिक स्यालरीको नाममा ठगी: नर्स आन्दोलनको ‘जित’ कि ‘जालझेल’?
आइतबार, चैत २२, २०८२
थाकेका हात, दबिएको आवाजः नर्सहरूमा ‘बर्नआउट’ बढ्दो चिन्ता
बुधबार, चैत १८, २०८२
मुस्कानसहित सेवा अनिवार्यः१४ बुँदे निर्णयले कर्मचारी अनुशासनमा ‘ब्रेकथ्रु’
बुधबार, चैत १८, २०८२
नर्सबाट स्वास्थ्य मन्त्रीः निशा मेहताको यात्राले खोलेको नयाँ अध्याय
शुक्रबार, चैत १३, २०८२
