
जनस्वास्थ्य सरोकार, जाजरकोट । जिल्ला अस्पताल जाजरकोटमा ब्लड बैङ्क नहुँदा उपचारार्थ भर्ना भएका बिरामीलाई रगत चाहिएको अवस्थामा सेना र प्रहरीको भर पर्नुपर्ने भएको छ ।
जिल्ला अस्पतालमा ब्लड बैङ्कको व्यवस्था नहुँदा रगत आवश्यक परे सुरक्षाकर्मीलाई खबर गर्नुपर्ने अवस्था रहेको छ ।
स्वास्थ्य सेवा कार्यालयका निमित्त प्रमुख नवराज कँडेलका अनुसार बिरामीलाई रगत चाहिएको अवस्थामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्वास्थ्यकर्मीको रगतको भर पर्नुपर्ने बाध्यता छ ।
पछिल्लो साता मात्रै नलगाड नगरपालिका –२ डाँडा गाउँकी ३२ वर्षीया पशुपति गिरीलाई आकस्मिक रगत चढाउनुपर्ने भएपछि रक्त समूह मिल्ने अस्पताल वरिपरिका सबैलाई आग्रह गरियो । तर रक्तदानका लागि कोही पनि तयार नभएपछि अन्तिम अवस्थामा प्रहरी जवानबाट रगत पूर्ति गर्नुपरेको बिरामीका आफन्त बताउनुहुन्छ । उहाँहरूका अनुसार रगत आवश्यक पन बित्तिकै कोही तयार नभएपछि अस्पतालका स्वास्थ्यकर्मीहरुले नेपाल प्रहरीलाई खबर गर्दा बिरामीसँग रक्त समूह मिल्ने प्रहरी आएर रगत दिएका थिए ।
जाजरकोटमा यसपटक मात्रै हैन, वर्षेनी अस्पतालमा आवश्यक रगत जिल्लाकै सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरूले उपलब्ध गराउँदै आएका छन् ।
अस्पतालमा रगत आवश्यक परेका बिरामीलाई सबै जिल्लामा कार्यरत सुरक्षाकर्मीहरूबाटै उपलब्ध गराइएको कँडेलले बताउनुभयो । अस्पतालको रगत व्यवस्थापनको भरपर्दो माध्यम नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी भएको उहाँको भनाई छ ।
अस्पतालमा ब्लड बैङ्क नभएका कारण रगत सङ्कलन गर्न नसकिने भएकाले अस्पतालमा उपचारका लागि भर्ना भएका बिरामीलाई रगत आवश्यक परेमा तत्कालै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई खबर गरी आवश्यक रगत पूर्ति गर्नुपर्ने अवस्था रहेको कँडेल बताउनुहुन्छ ।
कँडेल भन्नुहुन्छ, “बिरामीलाई रगत अभाव हुँदा अस्पतालले सेना र प्रहरीलाई ब्लड बैङ्कको रुपमा लिनु हाम्रो बाध्यता छ । बिरामीलाई आवश्यक पर्ने रगत पूर्तिको एक मात्र उपाय जिल्लामा कार्यरत सुरक्षाकर्मी मात्रै बनेका छन् ।”
जिल्लाका सात वटै पालिकाले बजेटको व्यवस्था गर्ने र अस्पतालले ब्लड बैङ्क सञ्चालन गर्ने एक बर्ष पहिले जिल्ला प्रशासन कार्यालयमा निर्णय समेत भएको थियो । सो निर्णयलाई स्थानीय तहले चासोका रुपमा नहेर्दा ब्लडका लागि बिरामीहरूले निकै दुःख भोग्नुपरेको छ ।
बेसिक स्यालरीको नाममा ठगी: नर्स आन्दोलनको ‘जित’ कि ‘जालझेल’?
आइतबार, चैत २२, २०८२
थाकेका हात, दबिएको आवाजः नर्सहरूमा ‘बर्नआउट’ बढ्दो चिन्ता
बुधबार, चैत १८, २०८२
मुस्कानसहित सेवा अनिवार्यः१४ बुँदे निर्णयले कर्मचारी अनुशासनमा ‘ब्रेकथ्रु’
बुधबार, चैत १८, २०८२
नर्सबाट स्वास्थ्य मन्त्रीः निशा मेहताको यात्राले खोलेको नयाँ अध्याय
शुक्रबार, चैत १३, २०८२
