
जनस्वास्थ्य सरोकार, नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) जिल्लास्थित कारागारमा क्षमताभन्दा झन्डै तीन गुना बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या भएको छ । कुल एक सय ७७ कैदीबन्दी राख्ने क्षमता भएको कारागारमा हाल चार सय ९८ कैदीबन्दी छन् ।
धेरै कैदीबन्दी हुँदा सुत्न, खाना खान र शौचालय प्रयोग गर्न समस्या भएको कारागार प्रशासनले जनाएको छ । पन्ध्र–सोह्र जनाले एउटै बाथरुम प्रयोग गर्नुपर्ने बाध्यता रहेको कैदीबन्दीले गुनासो गरेका उनीहरूका आफन्तजन बताउँछन् । कारागारमा अहिले महिला ७४, चार सय २१ पुरुष र तीन नाबालक छन् । साबिकको पश्चिमाञ्चल क्षेत्रमै नमूना कारागारका रूपमा रहेको भए पनि अहिले क्षमताभन्दा बढी कैदीबन्दी हुँदा समस्या बढ्दै गएको जेलर पुनराम पौडेलले बताउनुभयो ।
“मनोरञ्जनलगायत प्रयोजनका लागि बनाइएका कोठा कैदीबन्दी सुत्नका लागि प्रयोग गरेका छौँ”, उहाँले भन्नुभयो । सदरमुकाम परासीको मुख्य बजार क्षेत्रमा रहेको कारागार साँघुरो भएपछि केही वर्ष पहिले फराकिलो स्थानमा सारिएको थियो । कैदीबन्दी बढ्दै जाँदा समस्या भएको हो । सेवा–सुविधाका हिसाबले अन्य जिल्लाका कारागारभन्दा राम्रो भए पनि क्षमताभन्दा बढी कैदीबन्दी राख्दा अप्ठ्यारो भएको पौडेल बताउनुहुन्छ ।
“धेरै जना एकै ठाउँमा राख्दा सरुवा रोगको सङ्क्रमण छिटो फैलिने जोखिम बढेको छ”, उहाँले भन्नुभयो । बेला–बेलामा देशका कतिपय कारागारमा हैजा, झाडापखालालगायत सरुवा रोगका कारण एकै पटक सबै कैदीबन्दी बिरामी पर्ने समस्या देखिने गरेको छ ।
जिल्ला कारागारमा लागुऔषध कारोबारमा दोषी ठहरिएका कैदीबन्दी बढी छन् । खुला सिमानाका कारण भारतबाट लागुऔषध ओसारपसार गर्नेको सङ्ख्या बढी छ । बन्दी बढ्दै गए थेग्न गाह्रो हुने र अन्यत्र कारागारमा सार्नुपर्ने अवस्था आउन सक्ने कारागारका कर्मचारी बताउँछन् ।
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३
